वार्यन म्युनिख जर्मन कपको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति सम्पन्न भएको खेलमा बुन्डेस लिगा प्रतिद्धन्द्धी आइनट्राख्ट फ्रान्कफर्टलाई २–१ गोल अन्तरले हराउँदै वार्यन फाइनलमा पुगेको हो।
वार्यनको जितमा रोवर्ट लेवान्डोस्की र इभान पेरिसिसले एक एक गोल गरे। यता फ्रान्कफर्टका लागि एक मात्रै गोल ड्यानी डि कोस्टाले फर्काए।
प्रतिस्पर्धात्मक बनेको खेलको १४औं मिनेटमै पेरिसिसको गोलबाट वायर्नले अग्रता बनाएको थियो। उनले थोमस मुलरको पासमा गोल गरेका थिए।
उनकै गोलबाटै पहिलो हाफमा वार्यनले १–० को अग्रता लियो। दोस्रो हाफमा दुबै टिमबाट समान एक एक गोल भयो।
६९औं मिनेटमा फ्रान्कफर्टका कोस्टाले बराबरी गोल फर्काए। तर ७४औं मिनेटमा लेवान्डोस्कीले जोसुवा किम्मिचको पासमा गोल गर्दै वायर्नलाई खेलमा पुनः २–१ को अग्रता दिलाए।
त्यसपछि थप गोल निस्कन नसक्दा वायर्न २–१ ले विजयी हुँदै फाइनलमा पुग्न सफल भयो। अब बायर्नले उपाधिका लागि ४ जुलाईमा बुन्डेस लिगा प्रतिद्धन्द्धी बायर लिभरकुसनको सामना गर्नेछ।
लिभरकुसनले मंगलबार राति साब्रुकेनमाथि ३–० को जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो।
बुन्डेस लिगाको पनि उपाधि नजिक रहेको वायर्न टोली हो। वायर्नले १९ पटक उपाधि जितिसकेकाे छ। लिभरकुसन भने १९९३ पछि पहिलो उपाधि जित्ने दाउँमा हुनेछ। लिभरकुसन २००२ मा फाइनलमा प्रवेश गरेयता पहिलोपटक फाइनलमा पुग्न सफल भएको हो।