बिएल संवाददाता
                                युद्व थरिथरीका हुन्छन्। युद्वले विनास निम्त्याउँछ। आर्थिक बृद्धि घटाउँछ। सामाजिक विकृति बढाउँछ। युद्वले निम्त्याएका घाउचोटहरु दशकौंसम्म रहिरहन्छन्।
नेपालमा पनि युद्व, विद्रोह र आन्दोलनहरु थुप्रै भए। ती मध्ये एक हो, १० वर्षे सशस्त्र विद्रोह। जुन आमुल परिवर्तन र समानता र समृद्धिका नाममा भएको थियो। जनयुद्व शुरु भएको पनि २५ वर्ष पुरा भइसकेको छ। त्यो विद्रोह अरुले थोपरेको विद्रोह थिएन। हाम्रो आन्तरिक ‘घरेलु विद्रोह’ थियो।
शोषण, विभेद, अन्याय, अत्याचार विभेदका विरुद्ध सुरु भएको थियो, सशस्त्र विद्रोह। जसलाई माओवादीले ‘जनयुद्व’ भन्ने नाम दिए। जनयुद्वमा होमिएका मान्छेहरुलाई ‘कमरेड’ भन्थे। हुन त सबै कम्युनिष्टहरु कमरेड नै भन्छन्। कमरेड मतलब विचार मिल्ने साथि।

सरकारी पक्षले ‘विद्रोही’ भन्थ्यो। त्यो विद्रोहमा १७ हजारले ज्यान गुमाए। जसको गहिरो चोट अझै बाँकी छ। आमाहरुले सन्तान गुमाएका थिए। महिला पुरुषले लोग्ने स्वास्नी।
भत्काइएका थिए, मन्दिर, पाठशालाहरु। कैयौं बेपत्ता भए। घाइते भए। अपांग भए। कोही खाडीमा पसिना बगाउँदैछन्। पल्लीदारी भारतमा गर्छन् कोही। साहारा विहीन भएका छन्। ती कैयौं जनयुद्वका योद्धाहरु। चोट बोकेर थला परेका छन्। देशको मुहार फेर्छु भन्दै पढ्दापढ्दै युद्वको मोर्चामा होमिएकी मध्येकी एक हुन्, कमरेड साकार उर्फ वृक्षा उखेरा।
दुई तले घर। इट्टा र सिमेन्टको संयोजनले बनेको छ। तल्लो तलामा तीन कोठा छन्। एक कोठामा भान्सा, अरु सुत्ने कोठा। न छ ढोका न झ्याल नै। घर खुल्लै छ। एकापट्टी टाँगिएको छ, च्यातिएको झुल। केही थान लुगा झुण्डिाइएको छ किलामा। भूईमा चारपाई (खाट) छ। एक कुनामा दुई चार बट्टा छन्। अर्का कुनातिर खाल, कटौरा र कराई। साँधुरो गल्लीमा राखिएको प्लाइगउटको खाटमा हाते पंखा हल्लाउँदै जिउँदो लास झै पल्टिरहेकी छन्, उनी।

जो अहिले पूर्ण बेसाहारा, असहाय र बेवारिसे जीवन दिइरहेकी छन्। घर न घाटको भएको उनको जीवन। बसौ बास छैन, खाउँ गाँस छैन। जाउ कतै, कुनै गन्तव्य पनि छैन। कारूणिक जीवन गुजारा गरिरहेकी उनै पूर्व जनमुक्ति सेनाकी एक कमाण्डर, घाइते लडाकु कमरेड उखेराको दर्ननाक, पीडादायी र मर्मस्पर्सी कथा व्यथा यहाँ प्रस्तुत छ।
मोटो शरीर। शरीरमा एकसरो लुगा। मुखमा कपडाको मास्क। दुई सेता बैशाखीको सहायताले शौचालयबाट निस्किइन्। अप्ठ्यारो गरि अघि बड्छिन्। देख्दै कहालीलाग्दो अवस्था छ, उनको। एक मिटरको अग्लो ठाउँमा उक्लिन पनि उनलाई मुस्किल पर्छ अहिले। दुबै खुट्टा बल गरि घिर्सादै हिँड्नुपर्छ। उत्तिकै सकस हुन्छ बस्न र उठ्न। हिडाई बिर्सिसकिन्। बिस्तारै बस्छिन् खाटमा। जिन्दगीका उकाली ओराली र सुख, दुःख बिएल नेपाली सेवालाई यसरी सुनाइन्।

जन्मस्थान पूर्वी रुकुम हो। हालको सिस्ने गाउँपालिका आठ स्यालापातको लम्पाकोट भन्ने स्थानमा भएको हो। २०४५ सालमा। निमावि लम्कोटमा प्रारम्भिक शिक्षा आर्जन गरे। छिङ माविमा एसएलसीसम्म पढेँ।
संकटकालको अवस्था थियो। २०५७ सालतिरको कुरा हो, राज्य पक्षबाट केही शिक्षक र विद्यार्थीहरुलाई दुःख दिने काम भयो। गिरफ्तार गर्ने र मार्ने काम भयो। टेक सर, जंग सर र केही विद्यार्थीसमेत मारिए। बाँच्नको लागि जनयुद्वमा जानुपर्ने बाध्यतात्मक अवस्था आयो। आफूलाई शिक्षा दिने गुरुलाई मार्नेसँग बदला लिनु पर्छ भन्ने उद्देश्यले ६० जनासँगै एकैपटक भूमिगत भएँ।’
हामी विद्यार्थी संगठनमा काम गथ्र्यौं। त्यतिबेला एरिया इन्चार्ज लुम्बिनी गौतम हुनुहुन्थ्यो। हाल खलंगा नगरपालिकाको मेयर। उहाँकै प्रेरणाले भूमिगत भएको हो। गाविसको इन्चार्ज उषा पुन हुनुहुन्थ्यो। हाल प्रदेश सदस्य प्रदेश पाँच। बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य अथककी श्रीमती।

उहाँकै आग्रहमा जनमुक्ति सेनामा भर्ना हुन पुगेँ २०५८ सालमा। जनमुक्ति सेनामा पहिलो पटक भर्ती हुँदा जनमिलिसिया कमाण्डर र विद्यार्थी एरिया समिति सदस्य थिएँ। पछि ३८ नम्बर पलाटुनमा गइयो। लमही, सत्गरिया कारबाही, रातामाटा टावर, लिस्ने गाम, अर्घाखाँची, भालुवाङ, खारामा दुई पटक, सुदूरपश्चिमको मंगलसेन, जुम्लालगायतका मोर्चामा सहभागि भइयो।
पहिलाका कारबाहीमा सामान्य घाइते भएकी थिएँ। सिकिस्त घाइते भएको भनेको गण्डक व्युरो अन्तर्गत तानसेन पाल्पामा हो। २०६१ साममा ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ विशेष अभियान-मिसनको बेलामा गम्भीर घाइते भएँ। लगत्तै २०६२-०६३ को आन्दोलन पश्चात बृहत शान्ति सम्झौता भयो। त्यति बेला म भारतको सामरा अस्पतालको बेडमा थिएँ। जनयुद्व सम्झौतामा सकियो।
मेरो मेरूदण्ड कामै नलाग्ने गरि भाँचियो। गोली समेत लाग्यो। बटालियन सहायक कमाण्डरको भूमिका थिएँ, त्यति बेला। त्यसअघि मिलिसिया, स्क्वाट, कम्पनी, सेन्सन, पलाटुन, निभाएँ। पछि उपचारको क्रममा पाल्पा हुँदै भारतको सामरा अस्पताल पुगेँ। हाससम्म उपचारको क्रममा २५ लाख खर्च भइसकेको छ। त्यसमा केही पार्टीले पनि खर्च गरेको छ।
यति सुनाउँदा उनी गहिरो निद्राबाट बिउझिएझैं लागेकी थिइन्।
मेरूदण्ड भाँचिएको मात्रै १३ वर्ष भइसकेको छ। पछिल्लो केही वर्षयता कृत्रिम मेरूदण्ड भएपछि काम गर्न छोडेपछि बेसाहारा भएको उनले बताइन्। अझै २५ लाख रूपैयाँ खर्च लाग्छ। यति धेरै पैसा उनको सम्पूर्ण श्री सम्पत्ति बेचेपछि आउँदैन। यो बीचमा उनले देशका उपराष्ट्रपतिदेखि प्रचण्डसम्म गुहारिन्।
‘विद्रोहका बेला ठूला ठूला सपना देखाए। हामी जीवन दिन तयार भयौं। तर अहिले सत्तामा पुगेपछि दुई मिनेटसम्म भेट्ने समय दिँदैनन्। धेरैपटक आफू उनीहरूबाट अपमानित हुनुपरेको छ,’ उनले भनिन्, ‘समायोजनको बेला भारतमा उपचारको क्रममा भएकोले छुटे। केही पनि पाइनँ। पूर्व लडाकुलाई दिने सुविधाको परको कुरा, अपांगताका भएका व्यक्तिले प्राप्त गर्ने एक प्रमाणपत्र समेत छैन्।’ एकातिर अर्धमृत शरीर, रोगी बुढी आमा र अबोध बालबच्चासँग उनी नारकीय जीवन विताउँदै बसेकी छिन्।
मेरूदण्डको उपचारपछि उनको जीवनमा जोडिएका थिए, माओवादीका कार्यकर्ता आशिराम रसाइली। २०६४ सालमा। उनी हालको रूकुम पश्चिमकी हुन्। उनी पनि सामान्य अवस्थामा थिइन्, उपचारपछि। घरबार ठिकै चलिरहेको थियो। दुःख र शसक्त शरीरको साहारा बनेका थिए। सबै कुरा ठिकठाक चलिरहेकी थियो।
सात वर्षअघि बसाइँसराइँ गरेर कोहलपुर आए। घरको आर्थिक अवस्था नाजुक भएपछि धन कमाउन भारत गएका श्रीमान मरे कि जिउँदै छन्, अत्तोपत्तो छैन। केही वर्ष पहिले भारतको केदारनाथमा गएको बाढीमा परेको हल्ला सुनेकी छन्। खास कुरा अहिलेसम्म पनि थाहा छैन। तीन बच्चाकी आमासमेत हुन्।

जेठो छोरा पनि सुस्त मनस्थितिका छन्। एक छोरो र एक छोरी वृक्षासँगै बस्छन्। बुढी आमा पनि साथै छन्। उनीहरू सबैको हेरचाह भने दिदीकी छोरीले गर्दै आएकी छन्। उनका अनुसार अहिले मागेरै जिन्दगी चलाउनुपर्ने बाध्यता रहेको छ।
‘आफूले सँगै युद्व लडेका मानिसहरू सत्तामा छन्। धेरै आशा थियो। तर कसैले सहयोग गरेनन्। फोन समेत उठाउँदैनन्। के गर्ने यस्तै छ,’ उनी भन्छिन्, ‘साँझ बिहान के खाने टुंगो छैन।’
जिन्दगीदेखि हारिसकेकी उनका केही आशा भने राख्न छोडेकी छैनन्। उनलाई लागेको छ, आफूले बलिदान गरेको पार्टी, राज्य, नेता कमरेडहरुले गाँस, बाँस र कपासको पूर्ण व्यवस्था गरिदिएको भए राम्रो हुने उनको आशा थियो। तर सरकारले दुरविन लगाए पो।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया