प्रतिक्षालयमा दुइटा बेन्च

प्रतिक्षालयमा काठका दुइटा बेन्च राखिएका छन्

जसमध्ये एउटामा मानिस बसेको छ

जसका आँखा निरन्तर कालोपत्रे सडकको

कुनै एक भागलाई मात्र हेरिरहेका छन्

 

जुन भागसँग उसको जीवनको महत्त्वपूर्ण भाग जोडिएको छ

कि उसले कति विलाप गरेथ्यो आफ्नी प्रेमिकासँग आफूलाई घृणा नगर्न

आफूलाई छोडेर नजान

आफ्नो आँखामा भविष्य खोज्न

आफ्नो ओठमा जोरले चुम्बन गर्न

आफ्नो शरीरमा लिप्टिन

आफू सँगै यो झुपडिमा बस्न

आफू सँगै यो जिन्दगी व्यतित गर्न

 

नसम्झिन खोज्दा पनि आइरहेछ झलझली

उसका आँखामा त्यो दृश्य

उसकी प्रेमिका गएको दृश्य

उसको प्राण गएको दृश्य

 

तर सम्झिन खोज्दा पनि आइरहेको छैन

उसको स्मृतिमा

कि कसले बनायो झुपडी माथि कालो पत्रे सडक?

कि कसले बनायो आफू माथि निलो पत्रे आकाश?

 

ऊ खालि हेरिरहेछ कालो पत्रे सडकको त्यो भाग

जुन भागबाट पहिलो पल्ट ऊ गुमेको थियो

जुन भागबाट अन्तिम पल्ट ऊ गुमेको थियो

 

त्यसपछि देखि ऊ उदास र निरस भएर

बसिरहेछ प्रतिक्षालयको एक बेन्चमा प्रतीक्षा गर्दै

कि कोही आउने छ र खोज्ने छ उसलाई !

तर कोही आइरहेको छैन

काेही आउने छैन कहिल्यै

 

किनकि ऊ पृथ्वीमा बचेको अन्तिम मानिस हो।

किनकि ऊ पृथ्वीमा फसेको अन्तिम मानिस हो।

 

त्यसमध्य अर्को बेन्चमा चरो बसेको छ

जसका आँखा आकाश हेरिरहेका छन्

आकाशको छातिमा

उडिरहेका बादलका बचेराहरु हेरिरहेका छन्

ऊ खोजिरहेछ त्यो अन्तिम बादलको बचेरा

जसलाई उसले अन्तिम पल्ट उड्न सिकाएथ्यो

 

र उसका आँखा आकाशको सम्पूर्ण फैलावटको अन्तिम क्षितिजसम्म हेरिरहेका छन्

जहाँ सूर्य अवस्थित छ

जुन छ, ताराहरू छन्, जताततै निलोपन छ

 

उसलाई टडकारो सम्झना छ -

कि यी तिनै हुन जसलाई उसले धर्तितिर हेर्न सिकाएको थियो।

धर्ति सँग मौन संवाद गर्न सिकाएको थियो।

 

उसले नै हो समुन्द्र र निलोपनको

उसले नै हो जुन र जुनकिरिको

उसले नै हो बादल र स्वतन्त्रता बीचमा जीवन चक्र मिलाएको।

तर एकदिन आकाशमा उसको उडाई अकस्मात निषेध गरियो

पखेटा फटफटाउदा फटफटाउदै बीच आकाशमा उसले थाहा पायो कि ऊ सँग पखेटा छैन, उफ!

 

ऊ खस्यो

तर संयोगबस् प्रतीक्षालय नजिक खस्यो।

त्यसपछि ऊ छ्टपटाउदै  छटपटाउँदै बसिरहेछ

प्रतीक्षालयको एक बेन्चमा प्रतीक्षा गर्दै

कि कोही आउने छ र पखेटा दिने छ!

तर कोही आइरहेको छैन

कोही आउने छैन कहिल्यै

किनकि ऊ पृथ्वीमा बचेको अन्तिम चरो हो ।

किनकी ऊ पृथ्वीमा फसेको अन्तिम चरो हो ।

Karkibigyanraj@gmail.com

प्रकाशित मिति: : 2020-07-04 10:22:59

प्रतिकृया दिनुहोस्