फेरियो शैली : लकडाउनपछि खुलेको बजारमा उधारो कारोबार बन्द

देखापढी

काठमाडौं

निकेश खत्री    

 झण्डै तीन महिने लकडाउनपछि खुलेको बजारमा व्यापारीहरूले उधारो कारोबार बन्द गरेका छन्। लकडाउनअघि व्यावसायिक साझेदारबीच हुने गरेको उधारो कारोबार अहिले पूर्णरूपपमा बन्द भएको हो। “सामान आयात हुन सकेको छैन। आफ्नो गोदाममा भएको सामान उधारोमा दिनुभन्दा नगद दिएरै बेचौं भन्ने मनसायले उधारो कारोबार बन्द गरेको हुँ,” काठमाडौंको असनमा जुत्ता र झोला  पसल सञ्चालन गरिरहेका शंकर बस्नेतले देखापढीसँग भने।

खासगरी, कोरोना संक्रमितको संख्या बढ्दै जाँदा र महामारी कहिलेसम्म लम्बिने भन्ने एकिन नहुँदा व्यवसायीहरूमा अन्योलता छाएको छ। “लकडाउनपछि खुलेको बजारमा धेरै कारोबार हुँदैन। सबैजसो व्यापारीसँग तीन महिने लकडाउनमा पैसा सकिएको छ। उधारो दिएर त कसरी चल्न सकिन्छ र,” बस्नेतले भने।

अहिले उधारो कारोबारलाई व्यापारीहरूले नै निरुत्साहित गरिरहेका छन्। न्यूरोडमा जुत्ता, चप्पलको व्यापार गर्दै आएका नवराज तिवारीले कोरोना महामारीसँगै कारोबारमा नयाँ संस्कार शुरू गरेको जनाए। महामारीको समयमा संक्रमण हुने सम्भावना बढी भएकोले उधारो कारोबार गर्न व्यापारीहरू नै हिच्किचाएको उनले बताए।

प्रकाशित मिति: : 2020-07-06 08:41:19

प्रतिकृया दिनुहोस्