लकडाउनको बेला परिवार नियोजन सेवाको माग झन् बढ्यो

राजु लामिछाने

रुकुम पश्चिम

कोरोना भाईरसको संक्रमणको कारण भएको बन्दाबन्दीको बेला परिवार नियोजन सेवाको माग बढेको छ। लकडाउनको बेला घरबाहिर रहेका व्यक्तिहरु घरमा आएको र अनिच्छित गर्भ रहने खतरा बढेपछि स्वास्थ्य सस्थाहरुमा सेवाको माग बढेको हो। 

स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका परिवार नियोजन सुपरभाईजर अधिकृत बिष्णुबहादुर बुढाथोकीका अनुसार, लकडाउनको अवधिमा परिवार नियोजन सेवा लिनेहरुको संख्या पनि बढेको छ। फिल्ड स्तरमा स्थानीय तह र स्वास्थ्य संस्थाहरुले परिवार नियोजन सेवा प्रदान गरिरहेको र मेरी स्टोपले दक्ष स्वास्थ्यकर्मीद्धारा बिशेष र प्रभावकारी सेवा दिएको अधिकृत बुढाथोकिले बताए। स्वास्थ्यकर्मी र महिला स्वयम् सेविकाहरुको क्षमता विकास, आमा समुहहरुमा तालिम प्रदान गर्ने काममा मेरी स्टोपले सरकारलाई सघाउ पुर्‍याएको बुढाथोकिको भनाई छ। 

लकडाउनमा थप सक्रिय मेरी स्टोप

रुकुम पश्चिम र रुकुम पूर्वमा कार्यरत मेरी स्टोप इन्टरनेशनल नेपाल सम्पर्क कार्यालय रुकुमले पनि लकडाउनका बेला परिवार नियोजन सेवाको माग र महत्व झन् बढेको जनाएको छ। यस्तो अवस्थामा सन्तानको रहर पुगेका व्यक्तिहरुलाई तालिम प्राप्त जनशक्तिद्धारा नियमित अस्थायी परिवार नियोजन सेवा प्रदान गरिरहेको मेरी स्टोप सम्पर्क कार्यालय रुकुमले जनाएको छ।

‘हामीले परिवार नियोजन तथा प्रजनन स्वास्थ्य सेवालाई नियमित गरिरहेका छौ’ मेरी स्टोप रुकुमकी कार्यक्रम अधिकृत शुस्मा घर्ती मगरले भनिन्, ‘माग बढेपछि लकडाउनको अवधिमा पनि कार्यालय र फिल्ड स्तरमा हामीले यो सेवालाई थप सक्रिय बनायौ।’ कार्यक्रम अधिकृत घर्तीका अनुसार, दक्ष स्वास्थ्यकर्मीद्धारा परिवार नियोजन सेवा लिन चाहनेहरुको माग बढेको छ, सरकारको गुणस्तरिय परिवार नियोजन सेवालाई मेरी स्टोपले सघाउ पुर्‍याएको छ। सरकारले अगाडि सारेका कोरोना नियन्त्रण सम्बन्धि रणनीतिहरु पालना गर्दै परिवार नियोजन सेवा उपलब्ध गराएको जनाइएको छ। 

परिवार नियोजन सेवा अन्तर्गत ईम्प्लान्ट, आईयुसिडी, डिपो, पिल्स, कन्डम, ई पिल्स र परामर्श सेवा फिल्ड र कार्यालयबाट प्रदान भरहेको छ। लकडाउनको यस अवधिसम्म एक सय ३८ जनालाई ईम्प्लान्ट र ३ जनालाई आईयुसिडि सेवा दिईएको बताईएको छ। यस अवधिमै कार्यालयले एक सय ५९ जनालाई परामर्श सेवा समेत प्रदान गरेको छ। अन्य सेवाहरु पनि प्रभावकारी रुपमा दिईरहको कार्यालयले जनाएको छ। 

महिलाहरुको प्रजनन तथा मानसिक स्वास्थ्यलाई सुरक्षित बनाउने लक्ष्य अनुरुप कार्यक्रमले दुर दराजमा पुगेर तालिम प्राप्त स्वास्थ्यकर्मीद्धारा सेवा दिईरहेको छ। युएनएफपिएको सहयोगमा मेरी स्टोपले रुकुम पुर्व र रुकुम पश्चिमका बिभिन्न स्वास्थ्य संस्थाहरुको समन्वयमा घरदैलोमै पुगेर परिवार नियोजन र परामर्श सेवा प्रदान गर्दै आइरहेकोले सन्तानको रहर पुगेका व्यक्तिहरुले सहजै सेवा उपलब्ध पाएको स्वास्थ्य कार्यालयले जनाएको छ। चेतनाको अभावमा बढेको अनिच्छित गर्भधारणदर र जनशक्तिको अभावमा रहेको परिवार नियोजन सेवालाई मेरी स्टोपले सम्बोधन गरेको बताईएको छ। 

परिवार नियोजन प्रयोगकर्ताका दर बढ्दै

जिल्लामा परिवार नियोजन प्रयोगकर्ताका दर समेत बढेको छ। स्वास्थ्य सेवा कार्यालय रुकुमका अनुसार, आर्थिक बर्ष ०७२/०७३ मा १५.९ प्रतिशतमा रहेको परिवार नियोजन प्रयोगकर्ताको दर आ.ब.०७३/०७४ मा १६.३ प्रतिशतमा पुगेको छ भने आ.ब.०७४/०७५ मा १८.४ प्रतिशत रहेको छ। त्यसैगरी आ.ब.०७५/०७६ मा २३ प्रतिशतमा उक्लेको परिवार नियोजन प्रयोगकर्ताको दर यस आ.ब.मा थप बढ्ने अनुमान रहेको छ। चेतनास्तरको विकास र बिस्तार हुदै गएको सेवाको कारण परिवार नियोजन प्रयोगकर्तादर बढेको जनाइएको छ। 

प्रकाशित मिति: : 2020-07-06 22:09:26

प्रतिकृया दिनुहोस्