नेपालमा कहिले आउला कोरोना भ्याक्सिन ?

देखापढी

काठमाडौँ

कोरोना भ्याक्सिन बनेपछि त्यसमा सबैको समान अधिकार हुनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले बताउँदै आएको छ। तर अवस्था ठीक उल्टो छ। केही दिनअघि बेलायतले भ्याक्सिनमाथिको आफ्नो पहिलो अधिकार दाबी गरेको छ। उसले भ्याक्सिन बनाउने विभिन्न फर्मास्युटिकल्स कम्पनीसँग अहिले नै अर्बौं रुपैयाँको सम्झौता गरिसकेको छ। बेलायतले अक्सफोर्ड, बायोएनटेक तथा फाइजरजस्ता कम्पनीसँग करिब १० करोड डोज भ्याक्सिन किन्ने सम्झौता गरिसकेको छ। अमेरिकाले यसअघि नै रेमडिसिभिर नामक औषधिको अधिक परिमाण खरिद गरेको थियो।

कोरोना सङ्क्रमणको खतरा कायमै छ। विभिन्न फर्मास्युटिकल्स र अनुसन्धान संस्थाहरु भ्याक्सिनको खोजमा लागिरहेका छन्। बेलायत, अमेरिका, जापान, रुस, चीनका साथै दक्षिणी छिमेकी भारत पनि भ्याक्सिन निर्माणमा लागिपरेको छ। संसारभर कोरोनाको २३ भ्याक्सिनको क्लिनिकल ट्रायल भइरहेको छ। केही संस्थाले यसको परीक्षणमा तेस्रो चरणको सफलता पाइसकेका छन्। 

अहिलेसम्म भ्याक्सिनको अन्तिम परीक्षण भएर मानवमा प्रयोगका लागि तयार भइसकेको छैन। सफल परीक्षणपछि त्यसको नतिजाको आधारमा सामूहिक प्रयोगका लागि भ्याक्सिन तयार हुने छ र त्यसलाई सामूहिक वितरण गरिने छ। अहिले नै भ्याक्सिन तयार भए पनि सङ्क्रमण जारी रहने विज्ञहरु बताउँछन्। विज्ञहरुका अनुसार ‘हर्ड इम्युनिटी’का लागि सम्बद्ध वस्तीका ६०–७० प्रतिशत मानिसमा खोप लगाउनु जरुरी हुन्छ। यसका निम्ति कम्ती पनि दुई वर्ष समय लाग्ने छ।                                          

प्रकाशित मिति: : 2020-07-22 17:38:39

प्रतिकृया दिनुहोस्