रिमालका १० मुक्तक

सागर पुगेर प्यासै फर्केँ नुनिलो भएर पानी
मधुवन गएर प्यासै फर्केँ गुलियो भएर पानी
सरोवर सम्झेर पुग्दा शीशमहलमा उनका
(ठूलो आश बोकेर पुग्दा शीशमहलमा उनका)
सँघार टेकेर प्यासै फर्केँ धमिलो भएर पानी। ॥१॥

आज जून र जुनेलीको पुनर्मिलन भयो
शरद-ऋतुकी उषाजस्तै चोखो मन भयो
आज भयो जून, जुनेलीका नजरमा देवता
दीपावलीको रातजस्तै धर्ती-गगन भयो। ॥२॥

कहिलेकहीँ बोल्न मन लागे जति कुरा बोल्दा बिग्रिन्छ
कहिलेकहीँ खोल्न मन लागे जति भेद खोल्दा बिग्रिन्छ
ठिक्क लागेको होस् खर्खुर्सानी,मर्मसला र नुन बेसार
कहिलेकहीँ घोल्न मन लागे जति रस घोल्दा बिग्रिन्छ। ॥३॥

मन हाली पकाएको कफीको स्वाद बेग्लै हुन्छ
सुमन हाली पठाएको चिट्ठीको याद बेग्लै हुन्छ
‘मेरो गोरूको बाह्रै टक्का’ भनेको त हैन तर
उखान हाली बनाएको मुक्तकको राग बेग्लै हुन्छ। ॥४॥

सुसेली हालेर
संसार चालेर
विरही मुटु खोजेँ
जिन्दगी बालेर। ॥५॥

रङ्ग रोदीमा
स्वप्न ज्योतिमा
मुटु अल्मलिएछ
हीरा मोतीमा। ॥६॥

दुईदिने चोलामा
आगोको गोलामा
डढेछ जिन्दगी नै
खराने खोलामा। ॥७॥

देखेका सपना
बन्छन् रे विपना
सत्य सङ्कल्पमा
साकार कल्पना। ॥८॥

मैले गजल गाएर हेरेँ
टिपेर कमल लाएर हेरेँ
पिरती किनेर पाइन्न रै’छ
हजार पसल धाएर हेरेँ। ॥९॥

सृष्टिको कण कणमा प्यार छ
मायाले बाँधेको यो संसार छ
ताज पहिरेर त हेर पिरतीको!
घट घटमा शान्तिको दरबार छ। ॥१०॥

प्रकाशित मिति: : 2020-08-01 12:20:00

प्रतिकृया दिनुहोस्