एक्सनमा उत्रियो काठमाडौं महानगर

इन्धन र भत्तामा व्यापक कटौती, सुशासनमा कमजोरी हुन नदिइने

आर्थिक विकृतिमा अग्रपंक्तिमा देखिएको काठमाडौं महानगरकालाई व्यवस्थित गर्न एक दर्जनभन्दा बढी सुधारका योजनासहित एक्सन प्लान अघि बढाइएको छ ।

विगतमा धमिलिएको छविलाई दुरुस्त बनाउन र अनियमिततालाई रोक्न महानगरले एक्सन प्लान अघि सारेको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले आफ्नो कार्यकालको पहिलो एक्सनका रुपमा भत्ता र अनावश्यक खर्चमा व्यापक कटौती गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

सो निर्णयसँगै महानगरको वार्षिक ८ करोड रुपियाँ बचत हुने भएको छ । विगतमा मनपरी रुपमा भत्ता लिने, तेलको कुपन दुरुपयोग गर्ने, नक्सा पासमा आर्थिक लेनदेन गर्नेलगायतका कार्यलाई रोक्न र अनावश्यक खर्चमा व्यापक कटौती गर्न नयाँ व्यवस्था गरिएको हो ।

अघिल्ला कार्यकारीले जनप्रनिनिधि र कर्मचारीको मेलोमतोमा उनीहरुकै निकट भएर काम गर्ने परम्परालाई अन्त्य गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत एवं सचिव अर्यालले महानगरलाई सुशासन र मितव्ययी गर्ने पहिलो नमुना स्थानीय तहका रुपमा विकास गर्न नयाँ नीति अपनाइएको दाबी गर्नुभयो ।

नक्सा पास गर्दा डिजिटल हस्ताक्षर भएको पहिलो प्रमाणपत्र जारी गरी कागजविहीन सेवामा सुधार गरेको छ । योसँगै नक्सा पास गर्दा गुनासो सुन्ने र अनुगमन गर्ने टोली निर्माण हुने भएको छ ।

प्रकाशित मिति: : 2020-08-09 08:11:02

प्रतिकृया दिनुहोस्