खडा भयो भब्य र ऐतिहासिक दरबार हाई स्कुल (भिडियो)

नेपालकै सबैभन्दा जेठो दरबार हाई स्कुल स्थापना भएको १ सय ६७ वर्षपछि अत्याधुनिक भवनमा पठनपाठनका लागि तयार भएको छ।

२०७२ वैशाख १२ गते गोरखा भूकम्पबाट पुराना भवन ध्वस्त भएपछि चीन सरकारले हालै नयाँ संरचना बनाइदिएको हो ।

४२ सय वर्ग मिटर क्षेत्रफल, १७ मिटर उचाई रहेको ४ तल्ले भवन पुरानै मुखाकृतिमा तयार भएको हो।

१९१० सालमा स्थापना भएको यो स्कुल काठमाडौं महानगरपालिका वडा नं. २७ रानीपोखरीको दक्षिणतर्फ साढे ९ रोपनी क्षेत्रफलमा फैलिएको छ। विद्यालयको उक्त भवनको भुइँतलामा संस्कृत मावि र माथिल्लो तलामा भानु मावि सञ्चालनमा थिए। भूकम्पले ध्वस्त भएपछि त्यहाँ पढ्दै गरेका विद्यार्थीलाई प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको हातामा अस्थायी टहरामा सारेर पढाइँदै आएको छ ।

निर्धारित समयमै काम सकिएपछि शैक्षिक सत्र २०७७ बाट नयाँ भवनमा पठनपाठन सञ्चालन गर्ने तयारी भए पनि कोभिड–१९ का कारण भवन हस्तान्तरण हुन सकिरहेको छैन।

निर्माण रहेको भवनमा जम्मा ६० कोठाहरु छन्। जसमध्ये २६ जना विद्यार्थी क्षमताको ३० कोठा र ३६ जना विद्यार्थी अट्ने ३० कोठा छन्।

विद्यालय तहमा साधारण, संस्कृत र प्राविधिक गरी तीन धारको पठनपाठन हुँदै आएको छ। दरबार हाई स्कुलको एउटै भवनमा साधारण धारतर्फ भानु मावि र संस्कृत धारतर्फ संस्कृत मावि छन्। दुवै विद्यालय अलगअलग व्यवस्थापनमा सञ्चालित छ। यहाँ पढ्ने अधिकांश विद्यार्थी काठमाडौंबाहिरबाट आएर व्यापार, व्यवसाय, मजदुरी गर्ने अभिभावकका छोराछोरी हुन्।

दरबार हाई स्कुलको नयाँ भवन संरचना ‘चिनियाँ सहयोगमा विद्यालय निर्माण आयोजना’ अन्तर्गत सांघाई कन्स्ट्रक्सनले बनाएको हो। यो चार तले भव्य भवन ५२ कोठाको छ।

भानु मावि व्यवस्थापन समितिका अध्यक्ष गोपाल महर्जनका अनुसार विद्यालय निर्माण गर्दा बाहिरी आवरण यसअघिको जस्तै देखिए पनि भित्र अत्याधुनिक सामग्री प्रयोग गरेर बनाइएको छ।

४ तल्ला रहेको उक्त भवनमा प्रत्येक तल्लामा एउटा पुस्तकालय, कम्प्युटर कक्ष, ल्याब र सभा कक्ष छन्।

विसं २०७५ साउनबाट निर्माणको काम शुरु गरी गत चैतअघि नै निर्माण गरिसकेको सांघाई कन्स्ट्रक्सनले सम्झौताअनुसार ४ हजार २ सय स्क्वायर मिटर क्षेत्रफलमा ८५ करोड ५९ लाख ५० हजार रूपैयाँ लागत स्टिमेटमा नयाँ भवन बनेको हो।

धेरै चुनौतीको सामना गर्नु परे पनि सम्झौता अनुसार नै भवन निर्माण भएकाले पहिलेको तुलनामा उत्कृष्ट भवन निर्माण भएको अध्यक्ष महर्जनले बताए।

निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सके पनि कोरोनाकै कारण हस्तान्तरण हुन नसकेको उनले जानकारी दिए।

निर्माण सम्पन्न भए पनि के कसरी निर्माण सम्पन्न भएको छ भनेर चिनियाँ टोलीको अवलोकनपछि मात्र हस्तान्तरण गर्नुपर्ने र अहिलेको अवस्थामा विदेशबाट आवतजावत गर्न समस्या भएकाले विद्यालय निर्माण सम्पन्न भए पनि नेपाल सरकारलाई हस्तान्तरण हुन नसकेको अध्यक्ष महर्जनले जानकारी दिए।

कोरोना भाइरसका कारण गत चैतको पहिलो सातादेखि बन्द रहेको आन्तरिक र बाह्य उडान आगामी भदौ १ गतेदेखि पुनः सञ्चालन गर्ने तयारी गरेकाले त्यसपछि हस्तान्तरण प्रक्रियामा जाने बताइएको छ।

कोभिडका कारण स्कुल पनि खोल्न मिल्दैन्। सरकारले अनुमति दिए पछि र चिनीयाँ कम्पनीले सरकारलाई विद्यालय हस्तान्तरण गरेपछि नयाँ भवनमा विद्यार्थीलाई पढाउन थालिने उनले जानकारी दिए।

उनले अब यो स्कुलमा अंग्रेजी माध्यमबाटसमेत पढाइ हुने बताए। 'सरकारी स्कूलमा मात्र नेपाली विषय पढाई हुन्छ। अंग्रेजी पढ्नको लागि बोर्डिंग स्कूल नै पढ्नुपर्छ। तर अब यस सरकारी स्कूललाई नै बोर्डिङ स्कूल जस्तै बनाएर अंग्रेजी माध्यामबाट पढाउने छौ,' उनले भने, ‘अहिलेको अवस्थामा अंग्रेजी जान्नु शिक्षाको महत्वपूर्ण अंश रहेका कारण उक्त योजना संचालनमा ल्याउने तयारी भएको हो।’

यति राम्ररी बनाएको भवनमा अब हामीले भवन छैन भनेर कुनै पनि बाहाना बनाएर पढाईमा कमजोरी नगर्ने भन्दै उनले त्यहिँ अनुसार अगाडि बढ्ने र तीन–चार वर्षमा राम्रो काम गर्ने योजना र अठोट रहेको सुनाए।

स्कूलमा विधार्थी राम्रोसँग पढ्नका लागि स्कूलले नै समुदायसँग राम्रो सम्बन्ध राख्नुपर्ने उनी बताउँछन्। विगतमा समुदाय र विद्यालयको राम्रो सम्बन्ध नभएको कारण विद्यार्थीहरुको पढाइ बिग्रेको बताउदैं उनले भने, 'समुदायकै मान्छेलाई शिक्षक बनाउनुपर्छ। समुदायसँग स्कूलले सम्बन्ध कायम राख्नुपर्छ त्यसैले वडामै गएर समुदायका मान्छेलाई मनाएर स्कूलमा पढाउनका लागि अनुरोध गर्ने योजनामा छ।’

स्कूल सञ्चालन भएसँगै ४ कक्षा देखि ८ कक्षासम्म रोबोटी कक्षा सुरू गर्ने योजना रहेको उनले बताए।

‘हामी कक्षा ४ देखि ८ कक्षासम्म रोबोटिक शिक्षा सिकाउने योजनामा छौं,’ महर्जनले भने, ‘त्यसका निम्ति रोबोटिक एसोसियसन नेपालसँग सहकार्यका निम्ति सम्झौता गरेका छौं । त्यसैगरी शिशु कक्षादेखि मन्टेसरी विधिमा व्यावहारिक शिक्षा दिने हाम्रो जोड रहन्छ।’

यस्तै उनले ‘स्टुडेन्ट वेष्ट मेथड़’ अनुसार पढाई गर्ने  योजना रहेको उनले सुनाए। पहिले शिक्षकले विद्यार्थीलाई पढाउँदा विषयमा केन्द्रित रहेर पढाउने गरेको भन्दै उनले अब 'के डब्लु एच एल ए क्यू' (के- विषयको बारेमा जनाउँछ, डब्लु- के सिक्न खोजेको भन्ने विषयलाई निर्धारण गर्छ, एच- कसरी सिक्ने जनाउँछ, एल-के सिक्यो भन्ने विषयलाई जनाउँछ, ए- अप्लाई गर्नु हो। क्यू- प्रश्न जनाउँछ)

मेथड अन्सार पढाइ हुने दाबी गरे।

अर्थात व्यवहारिकताका आधारमा अब विद्यार्थीले पढ्न पाउने भएकाले विद्यार्थीलाई पनि पढ्नमा थप सहयोग हुने उनको दाबी छ।

भानु मावि व्यवस्थापन समितिका अध्यक्ष महर्जनले ऐतिहासिक विद्यालयलाई गुणस्तरीय शिक्षाको थलो बनाउने दाबी गर्छन् । 'कक्षा १२ सम्म निःशुल्क शिक्षा दिनुपर्ने भएकाले केही कठिनाइ आएको छ,' उनले भने, ‘सरकारी स्कुलप्रति स्थानीयको आकर्षण बढाउने प्रयास जारी राखेका छौं । त्यसनिम्ति स्थानीय बुद्धिजीवि, विज्ञ, अभिभावकहरूसँग सम्पर्क विस्तार गर्दै र्छौं।’

दरबार हाई स्कुलको पुनःनिर्माणले त्यस आसपासलाई पनि सुन्दर बनाएको छ । सुन्दर यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्यामा भने कमी छ । पुरानो विद्यालय भए पनि पछिल्लो समय पहिले जतिको महत्व अहिले नभएको विद्यालयले स्वीकारेको छ। पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र विद्यालयमा अध्ययन गर्न आउने गरेका छन्।

हाल दुवै विद्यालयमा गरी ३०० विद्यार्थी अध्ययनरत छन् भने ३५ शिक्षक कार्यरत छन् ।

गत शैक्षिक सत्रमा संस्कृततर्फ कक्षा ६ देखि १० मा १ सय ५५ जना र कक्षा ११ र १२ मा १ सय १२ जना विद्यार्थी थिए। यो विद्यालय शिक्षा मन्त्रालय र संस्कृत विश्वविद्यालयको सहयोग रहेको छ।

विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा नेपालमा पहिलो औपचारिक विद्यालय ‘दरबार हाई स्कूल’ स्थापना गरेका थिए। वि.सं १९३३ मा रणोद्दीप सिंह श्री ३ भएपछि राणाहरूका सेवामा खटिएका जागिरदारका छोराछोरीले पनि यो स्कुलमा पढ्न पाउने व्यवस्था भयो।

वि.सं १९५७ सालमा देवशमशेर श्री ३ भएपछि दरबार स्कूलमा सर्वसाधारण जनताले पढ्न पाउने व्यवस्था भएको थियो।

विसं १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा विसं २०४८ देखि अन्य विषय पनि पाउने भएका थिए ।

विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ ।

सुरुमा यो स्कूल थापाथली दरबारको आँगनमा थियो । त्यसपछि कान्तिपथको चारबुर्जा दरबार, जमलको सेतो दरबार अनि नारायणहिटी दरबारभित्र हुँदै रानीपोखरी अगाडि श्री ३ वीरशमशेरले १९४८ सालमा भवन बनाएका थिए।

२००७ सालको परिवर्तनपछि मन्त्री जस्ता पदमा मात्र होइन अन्य उच्च पदहरुमा पनि यसै स्कूलका भूतपूर्व विद्यार्थीहरु थुप्रै देखिएकै छन्।

यस बाहेक प्रजातन्त्रको संस्थापनार्थ पहलकदमी गर्नामा ज्यानको आहुति दिने कतिपय देशभक्तहरुले यसै स्कूलमा पढेका थिए। शुक्रराज, गंगालाल, बलबहादुर पाण्डे, चिनियालाल सिंह, थीरबम मल्ल जस्ता शहीद एवं टंकप्रसाद जस्ता अग्रगण्य क्रान्तिकारी यसै विद्यालयका उत्पादन हुन्। छोटो समयको लागि भएपनि गणेशमानसिंहले पनि यहाँ पढेका थिए।

प्रकाशित मिति: : 2020-08-09 13:52:59

प्रतिकृया दिनुहोस्