प्रदेश २ काे सीमामा खटिएका एपीएफका ३६ खेलाडीमा काेराेना, संक्रमितलाई राख्ने ठाउँकाे टुङ्गो लागेन !

दीप सुवेदी

काठमाडाैं

सशस्त्र प्रहरी बल (एपीएफ)का ३६ खेलाडीलाई कारोना भाइरस संक्रमण भएको छ ।

भक्तपुरको दुवाकोस्थित गुहेश्वरी गणका २० र कीर्तिपुरको निलबाराही गणकाे क्वारेन्टाइमा रहेका १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको एपीएफका प्रवक्ता राजु अर्यालले बिएल नेपाली सेवालाई जानकारी दिए।

‘कोरोनाको उच्च जोखिम रहेका जिल्लाबाट ८२ जना विभिन्न खेलका खेलाडी फर्किएका थिए। उनीहरु मध्ये ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ,’ प्रवक्ता अर्यालले भने। 

उनका अनुसार एक महिनाका लागि भन्दै जेठ १९ गते आफ्ना ८६ खेलाडीलाई भारतसँगको सीमा नाकामा पठाएको थियो । उनीहरु प्रदेश २ को सर्लाही, धनुषा, जनकपुर, पर्सा, बारा र सिराहा लगायतका स्थानका सीमा रक्षाको लागि खटिएका थिए।

तर, साढे दुई महिनापछि मात्र खेलाडीहरुलाई कार्य क्षेत्रबाट फर्काइएको उनले बताए। उनका अनुसार ८२ खेलाडी शुक्रबार काठमाडौं फर्केका थिए।

‘सबै खेल स्थगित थिए र सरकारकै निर्णयलाई पालन गर्दै हामीले खेलाडीलाई एक महिनाको लागि पठाएका थियौं,’ प्रवक्ता अर्यालले बिएल नेपालीसँगको संक्षिप्त कुराकानीमा भने,‘ विभिन्न कारण देखाउदै राेकिएका खेलाडीलाई हिजाे फिर्ता ल्याएका थियौं।’

लगत्तै उनीहरुलाई क्वारेन्टाइनमा राखिएकाे थियाे। उनीहरुकाे स्वाब परीक्षण आजै एपीएफको कोभिड–१९ यूनिफाइड अस्पतालमा गरिएको थियो।

अहिले संक्रमितहरुलाई सोही ठाउँमा नै राखिएको उनले बताए। ‘अरुलाई पनि कोरोना संक्रमण हुन् डर छ। त्यसैले हामीले राख्न अन्य बैकल्पिक ठाउँ खोजिरहेका छौं। तर कहाँ राख्ने भन्ने कुराको टुङ्गोमा पुगिसकेका छैनौं,’ प्रवक्ता अर्यालले भने। 

प्रकाशित मिति: : 2020-08-21 18:11:55

प्रतिकृया दिनुहोस्