दु:खीका आमा हुँदा रहेनछन् भनी भक्कानिन्थेँ

तीन कक्षामा पुगेपछि पाएको हुँ चप्पल लगाउन

 


श्रीमानले गरेको माया र ती दिन सम्झेर सुनाउँछिन् सर्मिला, ‘२०६१ सालमा बिहे गर्दा उहाँको तलब चार हजार थियो। एउटा कोठामा गुजरा चलाइरहेका थिए कतिपय साथीहरू। उहाँले तीन कोठाको फ्ल्याट नै लिएर राख्नुभयो। मलाई स्नातक पढ्न हौसला दिनुभयो पछि स्नातकोत्तर गर्न लगाउनुभयो। अर्काको घरमा बसेर शून्यबाट सुरू गरेको यात्रा यहाँसम्म पुर्‍याउनुभयो। उहाँले धेरै दुःख भोग्नुभयो। तर मलाई केही दुःख देखाउनुभएन। हरेक कुरा सिक्न खोज्ने, आफ्नो काम आफै गर्ने बानी छ। मैले विदेश जान सल्लाह दिएकी पनि हुँ एकपल्ट तर मान्नु भएन। स्वदेशमै केही गर्ने सोच बोक्नु भयो सधैभरि। आज कमाउने खाने व्यवस्था भएकै छ। दुबै सन्तुष्ट छौ।’ 


दुःखको बादलले घेर्‍यो। पीडा खन्याउन आकाश गड्गडायो। लतालहरा वनपाखा पंक्षी सबै मौन बने। आफन्तका आँखाका परेली भत्के। तर, उनले केही थाहा पाएनन्। सुदूरपश्चिममा एउटा भनाइ छ, ‘बुवा नहुँदाको आधा टुहुरो आमा नहुँदाको पुरै टुहुरो।’ अर्थात् बुवा गुमाएर आमाको साथमा बसेको बच्चा आधा मात्र टुहुरो मानिन्छ। तर आमा गुमाउदा बुवा हुँदा पनि पूर्णरूपेण टुहुरो नै मानिन्छ।

यसबाट सजिलै अनुमान गर्न सकिन्छ सन्तानप्रति आमाको माया ममता, स्याहारसुसार र बढी जिम्मेवारी भएको कुरा। उसो त जन्म अघि पनि नौ महिनासम्म पेटमा बोक्ने काम आमाकै हुन्छ। तर, आमाले छोडेर जादासम्म चालै नपाउने र पछि होस खुलेपछि सम्झिनुपर्दाको अवस्था कति पीडादायी होला कल्पना गर्न समेत गाह्रो हुन्छ संवेदनशील मनका लागि।

रोशन दाहालको स्मृतिपटलमा बेलाबखत देखापर्छ त्यति बेलाको धुमिल छाँया। बल गरेर सम्झिँन खोज्छन् उनी। अह! आउँदैन कसै गरी आमाको अनुहार स्मृतिमा। लाग्छ सम्झिन नसके सपनामै होस् मात्र एक झल्को देख्न पाएँ नि  हुन्थ्यो। याद छैन उनलाई कस्ती थिइन् आमा। स्मृतिपटलमा धुमिल छायाँ आइदिन्छ केवल आमाको प्राणविहीन शरीरलाई तुलसीको मठ नजिक राखिएको दृश्यको। त्यो समयमा जम्मा ३ वर्षका थिए उनी। त्यो दृश्यलाई दिमागमा कैद गर्दै सुनाए,‘जेठो दाइ ग्वाँ ग्वाँ गरेर रोइरहेको थियो। माइलो बुरूकबुरूक उफ्रिराथ्यो। कान्छो वुवाको काखमा। आमालाई केही भाको होला कतै लाने होलान्। फेरि फर्केर आइहाल्नु हुन्छ नि भन्ने लागेको थियो। तर, फर्केर आउनुभएन आमा। धेरै पछि थाहा भयो आमा बितेको कुरा।’

आमा खस्दा आँसुसम्म झार्न पाएनन्। आमा भनेर अन्तिम अवस्थामा सम्बोधन समेत गर्न सकेनन्। अहिले सम्झिँदा लाग्दो हो आखिर जिन्दगी यस्तै त रहेछ। समयको चक्र चलिरहन्छ। हुन त आउने आउँदै गर्छन् जाने जादै गर्छन्। सृष्टिको नियम यस्तै नै छ। भने जस्तो सजिलो कहाँ छ र मन बुझाउनलाई। जिन्दगीको बेमौसममा बाटो लाग्नेहरूले सधै जसो रूवाइरहन्छन्। त्यहिँ अतीतलाई सम्झाइरहन्छन्।

एकातिर महिला बिहीन घरको लथालिङ्ग हाल हुन्थ्यो। अर्कोतिर आमाको मुहार कल्पेर घाँटीसम्म पुग्ने छातिको भक्कानो रोक्न कम्ता मुस्किल पर्दैनथ्यो। तब एकान्त खोजेर मन हलुका पर्नुको थिएन उनीसँग कुनै विकल्प। मात्र आमा हराइन धर्तीबाट। हराएन समस्या खडा गरिरहने समय। मात्र मौन बनिदियो समय। अग्लिदै गयो नियतिको भर्‍याङ। 

‘त्यस्तै १/२ कक्षामा पढ्ने ताका अरूका आमा देख्दा आमा नहुनु भनेको दुःखी मान्छे जस्तो लाग्थ्यो। दुःखीका आमा हुँदा रहेनछन् भनी भक्कानिन्थेँ कहिलेकाहीँ। दिदीबहिनी नभएको घर चाड पर्वमा बहुत नरमाइलो लाग्थ्यो। कल्पिन्थे दिदीबैनी। सम्झिन खोज्थेँ आमालाई। तिहारको बेला गाउँलेले दिन्थे सेलरोटी,’ विगतका ती दिनहरू सम्झिँदै उनले सुनाए।

नारी नभएको घर निरस निस्सारपूर्ण निकै नै उदेकलाग्दो छँदै थियो। त्यसैमा एकदिन तरकारी पकाइराख्नु भन्दै कतै काममा निस्किनु भएछ बा। बाले तरकारी पकाउदा झ्वाइ पारेको  देखेका थिए उनले। तर घ्यू, तेलमा मात्रै झ्वाइ पार्नु पर्छ भन्ने थाहा रहेनछ। किचनमा हेरेछन् कतै तेल नभेटाएपछि कराइमा थोरै (तेलकै अनुपातमा) पानी हालेर तताएछन् अनि तरकारी राखेर झ्वाइ पारेछन्। त्यति बेला नौ वर्षका थिए उनी। त्यही दिनदेखि सुरू भएछ खाना बनाउने काम।

गाउँ नजिकको विद्यालय भनेको सर्लाहीको नारायणी मावि थियो। जहाँ जान र आउन गरेर हिँड्नुपर्ने हुन्थ्यो दैनिक ५ किमी। जति नै दुःखदायी किन नहोस् प्रिय बनिदिन्छ विगत प्रायः सबैको। बेलाबखत ती दिनको यादमा चुर्लुम्म डुबिदिन्छन् उनी पनि। ‘भुटेका चना बदाम खाँदै गइन्थ्यो स्कुल। कक्षा तीनमा पढ्दा ताका पाएको हुँ चप्पल लगाउन। निकै नै संघर्षपूर्ण थिए ती दिन। शायद त्यो समय संघर्षपूर्ण नहुँदो हो त अहिले यत्तिको हुने थिएन कि? सुखमा हुर्केको भएँ केही गर्नु पर्छ भन्ने आँट हुँदैनथ्यो कि? अभावले नै संवेदनशील बनाएको हो मलाई,’ भावुक मुद्रामा सुनाए उनले।

बुवाले सधै जसो पढ्न सल्लाह दिइनै रहे। बुवाको सल्लाह र सुझाव मुताविक पढाइमा ध्यान दिइरहे उनले पनि। २०४९ सालमा सर्लाहीको त्यहीँ नारायणी माविबाट एस.एल.सी. उत्तीर्ण गरे। एस.एल.सी. पछि दुई वर्ष वीरगञ्जको ठाकुरराम क्याम्समा अध्ययन गरे। पहिलो वर्षको परीक्षा राम्रै अंक ल्याएर उत्तीर्ण भएका उनी दोस्रो वर्ष एउटा विषयमा गुल्टिए। त्यसपछि ब्याक परीक्षा दिन मात्र गए वीरगञ्ज। त्यही वर्ष एक जना काका नाता पर्नेले उनलाई काम लगाइदिन्छु भनी पोखरा लगे। जहाँ उनले सुरू गरे होटलमा काम गर्न। काम गर्ने सोचले पोखरा पुगेका रोशन अहिले पोखराकै बासिन्दा बन्न पुगे।

यो बीचमा उनको जीवनमा आरोह अवरोहहरू आइ नै रहे। एकातिर बिबीएसको पढाइ अर्कोतिर अर्काको काम गरेर गुजरा चलाउनुपर्ने बाध्यता। जीवनको गोरेटामा कतै पसिना चुहाए। कतै आँसु खसाले। कतै सुय्यऽ सुस्केरा हाल्दै लामो सास ताने। भनेनन् कसैसँग केही कुरा। गरेनन् जिन्दगीप्रति कुनै गुनासो। प्राविधिक क्षेत्रमा रूचि थियो। रत, होटलमा काम गर्दै समय मिलाएर ६ महिना रेडियो टिभी बनाउने तालिम लिए। फर्केर गाउँ गई एक वर्ष टिभी रेडियो बनाउने काम गरे। सोचेजस्तो  भएन गाउँमा।

सुरूमा पोखरा देखाउने अंकलमार्फत सम्पर्क भएको एक जना भारतीय गेष्ट (जो नेबिको बिस्कुट फ्याक्ट्रीमा प्लान्ट जडान गर्थे) सँग सम्पर्क थियो। तिनैसँग पुगे उनी भारतको कलकत्ता। ६ महिना बसे कलकत्ता। कलकत्ता निवासी तिनै भारतीयको कम्प्युटर हार्डवयरको पसल थियो जहाँ दुःखै गरेर नि सिक्छु भन्ने थियो। तर उनको घरमा भात पकाइदिनेदेखि घरको थुप्रै काम गर्नुपर्ने भयो। दुःख गरे अनुसार सिकाइ हुन नसकेपछि जीवन डामाडोल हुनसक्छ भन्ने सोचेर पुनः फर्किए पोखरा। कलकत्ता गएको कुरा घरमा बुवालाई पनि थाहा थिएन। एक वर्षसम्म कसैलाई थाहा नदिलाउने सोचले हिँडेका थिए उनी। 

पोखरा फर्किएपछि सुरूमा उनले फेवा फ्रेस हाउस नामक डिपार्टमेन्ट स्टोरमा सामान बेच्ने काम गरे। त्यसपछि सुरूमा सँगै काम गरेका साथी कृष्ण केसीसँगै हङकङ होटलमा काम गर्न थाले। जहाँ रिसेप्सनबाट काम सुरू गरेका उनी एकाउन्टेन्टको जिम्मेवारी वहन गर्न पुगे। ज्ञानु कर्कीले लिजमा चलाएको उक्त होटलको हुन सकेन सम्झौता नविकरण। घरबेटी आफैंले चलाउने भए होटल। पछि अरू साथी ज्ञानुसँगै गए। उनले ५ वर्ष पुनः त्यहीँ होटलमा काम गरे।

जागिर खाएर हुँदैन आफैं केही गर्नुपर्छ भन्ने सोचले मनलाई घचघच्याउन नछोडेपछि जागिर छोड्ने निर्णय गरे। काम छोड्न खोजे पनि होटल मालिकले भाडामा होटल चलाउन प्रस्ताव ल्याए। अनि तीन जना साथी मिलेर चलाए होटल।

बिबिएसमा मार्केटिङ पढेको र व्यापारको मार्गमा लागेका कारण उनले त्यो होटल चलाउँदा हेटौडा वीरगञ्ज, काठमाडौंका कैयौं कलेज र भारतका अधिकांश ठाउँसम्म पुगेर मार्केटिङ गरे। डोर टु डोर मार्केटिङ गरे। सुरूमा गाह्रो भए पनि दुई वर्षमा सोचेभन्दा राम्रो भयो।

त्यति बेलै गाउँको बैनीको बिहेमा घर गएको बेला भाउजुमार्फत कुरा चल्यो बिहेको। अहिले नै बिहे गर्दिनँ भन्ने उनको थियो। जब भेट भयो सर्मिला न्यौपानेसँग त्यतिखेरै ठम्याए, ‘यत्तिको केटी भए पछि मलाई पुग्छ।’ हेर्दाहेर्दै माया बस्यो। भित्रि मनले सर्मिलालाई अपनाइसके पछि कति नै बेर लाग्थ्यो र बिहे गर्न।

होटल राम्रो चलेको देखेपछि पुनः घरबेटीले आफैं चलाउँछु भनिदिए। अनि निस्किनुपर्‍यो त्यहाँबाट। त्यहीँ टिम मिलेर सुरू गरे होटल योकोहामा। जहाँ सुरूमा घाटा व्यहोर्नु परे पनि पछिल्ला वर्षमा राम्रै आम्दानी भइरहेको थियो। तर २०७२ सालको भूकम्पले तहसनहस पारिदियो व्यापार।

आफू जस्तोसुकै समस्याबाट गुज्रिनुपरे पनि कहिल्यै दुःख महसुश गर्न दिएनन् श्रीमतीलाई। आजका दिनसम्म दुई जनाका बीचमा सुमधुर सम्बन्ध कायमै छ। चखेवाचखेवी जस्तै भएर बसेका छन्।


श्रीमानले गरेको माया र ती दिन सम्झेर सुनाउँछिन् सर्मिला, ‘२०६१ सालमा बिहे गर्दा उहाँको तलब चार हजार थियो। एउटा कोठामा गुजरा चलाइरहेका थिए कतिपय साथीहरू। उहाँले तीन कोठाको फ्ल्याट नै लिएर राख्नुभयो। मलाई स्नातक पढ्न हौसला दिनुभयो पछि स्नातकोत्तर गर्न लगाउनुभयो। अर्काको घरमा बसेर शून्यबाट सुरू गरेको यात्रा यहाँसम्म पुर्‍याउनुभयो। उहाँले धेरै दुःख भोग्नुभयो। तर मलाई केही दुःख देखाउनुभएन। हरेक कुरा सिक्न खोज्ने, आफ्नो काम आफै गर्ने बानी छ। मैले विदेश जान सल्लाह दिएकी पनि हुँ एकपल्ट तर मान्नु भएन। स्वदेशमै केही गर्ने सोच बोक्नु भयो सधैभरि। आज कमाउने खाने व्यवस्था भएकै छ। दुबै सन्तुष्ट छौ।’ 


‘बिहे भएको वर्ष दिनमै २०६२ सालमा आफ्ना गरगहना सबै बेच्न दिइन् सर्मिलाले। अब गाउँ गएर बस्न सकिँदैन ठानेर बसोबासका लागि लेकसाइडमा किनेका हौं पाँच आना जमिन। पछि भाडा तिर्ने पैसाले ब्याज तिर्न सकिन्छ भन्ने ठानेर बैंकबाट ऋण लिएर घर बनायौं अनि सुरू गर्‍यौं होटल भिजिटर्स इन।’

होटल भिजिटर्स इनको बारेमा सोद्घा उनी बताउँछन्, ‘यसको जग होटल याकोहामा नै हो। त्यो होटलबाट पैसा कमाउन नसके पनि हिम्मत कमाएँ। अनि यहाँसम्म आइपुग्न सर्मिलाको पनि ठूलो देन छ।’

रोशन र सर्मिलाका दुई सन्तान छन्। हाम्रो पितृ सत्तात्मक समाजमा छोरालाई बढी नै महत्त्व दिने चलन छँदैछ। उनका दुइटी छोरी भएका कारण छोरो पाउनुपर्छ भन्ने सल्लाह दिने आफन्तहरूका स्वर सुनिन्छन् बेलाबखत। सर्मिलालाई खासै छुँदैन त्यो कुराले।


उनी भन्ने गर्थिन्, ‘मलाई वंश धान्ने सम्पत्ति खाने यानत्यान कुराको कुनै पीर छैन। त्यस्ता कुराले छुँदैन पनि।’ तथापि बुझ्न सकेकि थिइनन् श्रीमानको सोचाई। एकदिन घरमा आएकी आफन्तसँग भनिरहेकी थिइन् उनी, ‘नारी हृदय हो कहिलेकाहीँ बढी भावुक बनिदिन्छु। छोरीलाई हेर्दा तँ पनि नारी होस् तँ पनि रोलिस्। भोलि अर्काको घरमा कतिको दुःख पाउछेस् ठान्छु।’ त्यति नै बेला खुलेछन् रोशनका ओठ, ‘तिमीले छोरा पाउँदा पनि अर्काकी छोरी नै ल्याउनुपर्छ। त्यसले दुःख भोग्दिनँ भन्ने के ग्यारेन्टी छ?’


त्यो वाक्यले श्रीमानको मनको भित्रि पाटो बुझ्न गाह्रो परेन उनलाई। तब ढुक्क भइन् उनी। अहिले कसैले छोरा चाहिन्छ भन्दा फिस्स हाँसिदिन्छिन्। त्यो हाँसो ती दयनीय सोच भएकाहरूप्रति देखाइएको दया हो।

रोशन दाहाल होटल व्यवसायी मात्र नभएर पर्यटन क्षेत्रमा पनि उत्तिकै चिनिएका छन्। सर्मिलाको छुट्टै पहिचान छ साहित्यिक क्षेत्रमा। प्रेमपूर्वक गरिरहेकै छन् जिन्दगीको यात्रा। कुनै समयमा त्यहीँ पोखरामा साइकलमा सुपारी र चुरोट बेच्ने रोशन अहिले करोडौंका मालिक बनेका छन्। बैंकको ऋण छ केही मात्रामा। यतिखेर कोरोनाले व्यवसाय धारासायी बनेको छ तथापि आउने दिनको आशमा धैर्यधारण गरेर परिवारसँग रमाइरहेका छन् उनी।

बुवाको बारेमा जान्न खोज्दा परेली भित्रै आँसुका थोपा लुकाएर बिस्तारै भने,‘बुवा हुनुहुन्न।’ माओवादी द्वन्द्वका बेला बेलुकी बुवाको आत्माले धर्ती छोडेछ। रात्री बस नचल्ने। उनी दोस्रो दिन बिहान गाडी चढेर घर पुगुन्जेल राति भइसकेको थियो। बुवाको पार्थिव शरीरको अन्तिम संस्कार भैसकेको थियो। दागबत्ती दिन नपाउँदा नदुखेको हैन मन। समयलाई दोष दिनु शिवाय उपाय नै के थियो र। त्यसैले हिजोआज भन्ने गर्छन् उनी, ‘हुँदा महत्त्व बुझिदैन। नहुँदा पछुताउनुको कुनै अर्थ छैन।’

कामलाई कहिल्यै सानो नठान्ने सहयोगी अनि स्वाभिमानी स्वभावका रोशन आइपर्दा कुक, टेक्निसियन, र पलम्बरको काम आफैं गर्छन्। आफ्नै मेहनेतको कमाइले ठड्याए २२ कोठाको सात तले बिल्डिङ अनि सञ्चालन गरे होटल भिजिटर्स इन। उनी आफ्ना जिन्दगीका पत्रहरु अरूसामू पल्टाउन हिच्किचाउँदैनन्। इमानदारीपूर्वक सुनाउँछन् विगतका कथा व्यथाहरू। छैन उनलाई ठूलो पल्टिनु अर्थात कुनै कुरा लुकाउनु। उनको जीवन पनि एक खुल्ला पुस्तक जस्तै छ। जसका मात्र दुई पाना पल्टाउन खोजेको हुँ मैले। एक स्वाभिमानी कर्मठको मेहनेत, धैर्यता र हिम्मतको कुरा आफैंमा प्रेरणादायक छ। आगामी दिनमा प्रगतिको उचाई चुलिँदै जाओस्। अझ बढी प्रेरणाका पात्र बन्दै जाउन्। शुभकामना भोलिका लागि। बधाई अहिलेसम्मको संघर्ष, इमानदारिता, हिम्मत र धैर्यताका लागि।

प्रकाशित मिति: : 2020-09-11 12:20:00

प्रतिकृया दिनुहोस्