क्याटलान क्लब बार्सिलोनाका उरुग्वेली फरवार्ड लुइस सुआरेज स्पेनिस प्रतिद्वन्द्वी क्लब एथ्लेटिको म्याड्रिडमा आवद्ध भएका छन्।
सुआरेजले एथ्लेटिकोसँग दुई वर्षको सम्झौता गरेका छन्। शुक्रबार मेडिकलमा पास भएपछि सुआरेजले सम्झौता गरेका हुन्।
एथ्लेटिकोले सुआरेजका लागि बार्सिलोनालाई ६ मिलियन युरो मात्रै तिर्ने जनाइएको छ। यस्तै उनले बार्सिलोनामा वार्षिक ३० मिलियन युरो पारिश्रमिक पाउने गरेकोमा एथ्लेटिकोमा त्यसको आधा पाउने छन्।
३३ वर्षका सुआरेज सन् २०१४ मा लिभरपुलबाट बार्सिलोना गएका थिए। बार्सिलोनाले उनलाई ल्याउने बेला लिभरपुललाई ७४ मिलियन पाउण्ड तिरेको थियो।
उनले बार्सिलोनाबाट एक पटक च्याम्पियन्स लिग तथा चार पटक लिगको उपाधि जितेका छन्।
यसअघि सुआरेजले इटालीको नागरिकता पाउन समय लाग्ने भएपछि युभेन्ट्सले हात झिकेको थियो। सोही कारण उनी अर्को स्पेनिस क्लबसँग जोडिएका हुन्।
३३ वर्षीय सुआरेज बार्सिलोनामा बस्न चाहेका थिएनन् र कल्ब पनि उनलाई बिदा गर्न तयार भएको हो। बार्सिलोनाले उनलाई स्वतन्त्र मूल्यमा जानू भन्ने आदेश दिएको छ।
पासपोर्ट सम्बन्धी समस्याका कारण इटालियन सिरी ‘ए’ क्लब युभेन्टससँगको सम्झौता प्रयास असफल भएपछि सुआरेज पारिश्रमिक घटाएर एथ्लेटिकोमा जान तयार भएका थिए।
त्यसअघि बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले सुआरेजको सम्झौतामा रोक लगाएका थिए। उनलाई कुनै पनि स्पेनिस शीर्ष क्लब जान आदेश दिइएको थिइएन।
तर, सुआरेजले आफूलाई जान नदिएमा मिडियामा जाने चेतावनी दिएपछि बार्सिलोना अध्यक्ष आफ्नो निर्णयबाट एक कदन पछि हटेका थिए। बार्सिलोनाले उनलाई स्वतन्त्र मूल्यमा जान दिएको हो। त्यसपछि सुआरेजले एथ्लेटिकोका प्रतिनीधिहरुसँग भेट गरेका थिए।
६ वर्ष बार्सिलोनामा रहेका उनले २८३ खेलमा १९८ गोल गरेका छन्।