नन्दकलीको जीवनः मान्छे एक, दुःख अनेक (भिडियो)

भूइँ मान्छे–५ 

झुम्म परेको कपाल, निन्याउँरो मुहार, जति पीडा लुकाउन खोजे पनि प्रष्ट झल्किन्छ, अनुहारमा। 

बाहिरी रूपमा जति पीडा लुकाउन खोज्यो, त्यति नै मनभित्रको पीडाले सिधा उनको मुहारमा स्पर्श गरेरै छाड्छ।

खरले छाएको माटोको घर, साँधुरो आँगनको मुल ढोका नजिकै राखिएको चारपाई छ। नजिकैको  चार खुट्टे फलामको कुर्सीमा बसेकी उनी दुःखका अनेक दर्दनाक कथा सुनाउँछिन्। 

दुई दिनअघि मात्रै अस्पतालबाट डिस्चार्ज भएर घर आएकी उनलाई भेट्न आएका आफन्तहरू मुखामुख गर्छन्। उनको दुःखको कथा सुनेर, लाग्छ, आखिर चरम गरिबी र अभावमा कति दिन बाँच्न सकिन्छ होला? 

रोग, भोक, अभाव र गरिबीजस्ता अनेक जीवन भोगेकी छिन्, नन्दकली विकले।

भदौ ५ गते तीजको कुरा हो, कोरोना कहर भए पनि नन्दकली साथीसँग घरमै तीज मनाउने सोचमा थिइन्। सबैले अघिल्लो दिनदेखि नै पूर्वतयारी गरिरहेका थिए। 

नन्दकलीले पनि सरसापट गरेर पाँच सय रूपैयाँमा सारी किनेकी थिइन्। नयाँ सारी लगाउँला, साथीसँग रमाउला र नाचगान गरौंला भन्ने उनको सोच थियो। वर्षौ दिनको भोक, अभाव र गरिबी एक दिनको लागि भए पनि भूलेर रमाइलो गरौंला भन्ने सोच पुरा भएन। 

उनी एक्कासी बिरामी परिन्। असाध्यै टाउको दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने लक्षण देखियो। बिमारका कारण उठ्नै नसक्ने भइन्। श्रीमानले औषधिमुलो गरे । एक त कोरोनाका कारण तीजको चहलपहल खास्सै थिएन। वर्षमा एकपटक आउने तीज खल्लो भयो नन्दकलीलाई।

आज सन्चो होला, भोलि होला हुँदैन। उपचार गरौँ, मेडिकल गएर सिटामोल समेत किन्ने पैसा छैन। गम्भीर खालको बिमार नभए पनि पूर्णरूपमा सन्चो समेत थिएन । त्यसरी नै महिना बित्यो।

‘लकडाउनपछि कामविहीन भइयो। साँझ बिहान खान लाउन समस्या थियो। पैसा नभएकोले उपचार गर्न अस्पतालसम्म पनि जान सकिनँ,’ मलिन स्वरमा उनले भनिन्। उनी निकै अप्ठ्यारो गरी बोलिरहेकी थिइन्।

तर भदौ ३० गतेतिर उनी घर मै काम गरिरहेको अवस्था मै बेहोस भइन्। आफन्तले अस्पताल पुर्‍याए। नेपालगञ्ज मेडिकल शिक्षण अस्पतालमा कोहलपुरमा ५ दिनसम्म भर्ना गरियो। चिकित्सकले डेंगु भएको बताए। केही समय अस्पताल मै उपचार गराए निको हुने सुझाव दिए।

१२ वर्षदेखि कोहलपुर–११ स्थित सुकुम्बासी बस्दै आएकी विकलाई कोरोनाभन्दा पनि ठूलो विपत्ति आइलाग्यो। श्रीमान–श्रीमती ज्याला मजदुरी गरेर घर चल्थ्यो। कोरोना कहरका कारण ६ महिनायता दुवै जना कामविहीन थिए। श्रीमान–श्रीमतीको उपचारको लागि पैसा खोज्न भौतारिए। तर कसैले पनि पैसा पत्याएनन्। यता नन्दकली अस्पतालको बेडमा रोगसँग संघर्ष गरिरहेकी थिइन्। ‘घरमा छोराछोरी भोकै छन्, श्रीमान पैसा खोज्न भौतारिरहेका छन्, अस्पतालको बेडका औषधिका अर्डर मात्रै आउँछन्। न डाक्टरको केयर छ। न कोही आफ्नो मान्छेछन्। हरेक दिन रुदै कटाए भोकभोकै,’ बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले अस्पतालका दुःख सुनाइन्। 

केही दिनमा १५ हजारको बिल आयो। त्यो कुरा सुन्दा उनको मनमा ७ रेक्टर स्केलको भूकम्प आयो। 

अगाडिको पैसा नआएसम्म थप उपचार नहुने अवस्था भयो। पहिले कै पैसा तिर्न सकेको छैन, कहाँबाट ल्याउने अरू पैसा। मरे पनि घरमै मर्छु भनेर अस्पतालबाट खोज्दा पैसा नतिरेसम्म जान नमिल्ले बताएको उनले जानकारी दिइन्। निजी अस्तपतालसँग मानवीयता भेटाइनन् उनले। हुन पनि हो त्यो व्यपारै हो। व्यापारमा ‘उदारो प्रेमको कैची हो।’  

पछि गाउँलेहरुले चन्दा उठाए, एक जना आफन्तले सुनको औठी धरौटी राखे। त्यहीँबाट आएको पैसा तिरेर पूर्ण रुपमा सन्चो नहुँदै आफू घर आएको उनको भनाइ छ।

बिहीबार सुकुम्बासी बस्तीमा भेट्दा उनले दुई दिनदेखि पुरा पेट खान नपाएको बताइन्। त्यहीँ बेला याद आयो, सरकारको नारा, ‘कोही भोकै मर्दैन, कोही भोकै बस्दैन’  उनी भोको बसेको यो पहिलो पटक भने होइन। आधा जिन्दगी उनले आधा पेटमा गुजारेकी छन्। आफूसँग सुक्को पैसा छैन। अस्पतालबाट घर आउँदा छिमेकीले दिएको दुई माना चामलले केही दिन चल्यो। कुराकानीको क्रममा उनले बारम्बार दोहोर्‍याइन्, ‘बेलाबेलामा फलफूल खान मन लाग्छ । तर के गर्ने आफूसँग पैसा छैन।’ 

भूमिहीन र सुकुम्बासी उनको परिवार अहिले वास्तव मै आम्दानी विहीन छ। उनका श्रीमान भने दुई दिनदेखि साहुको काम गर्न गएका थिए। घरमा उनको स्याहार १० वर्षे छोरीले गर्दै आएका छन्। दिनभर आफन्तहरू आउँछन्, सान्त्वना दिन्छन्। उनलाई रोग र भोकको थोरै औषधि भनेका आफन्तहरू लाग्छन्। भेट्न आएका आफन्त रित्तो हात आउँदैनन्। रोग लागेको बेला आफ्नो हातको औंठीसमेत बेच्न तयार भए। दुःख परेको बेला आफन्तले लगाएको गुनको ऋण उनलाई सधै लागिरहनेछ। छिटो सन्चो भएमा काममा फर्किने र  ऋण चुक्ता गर्ने सोचमा छिन्। 

विकको परिवार १२ वर्ष पहिले दाङबाट बाँकेमा आएको थियो। त्यो बेलादेखि नै उनीहरु सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका छन्। उक्त बस्ती प्रायः पहाडबाट तराई झरेका भूमिहीनहरुको बाहुल्य भएको ठाउँ हो। यहाँ सारंगी प्रेमी जाति गन्धर्वहरु समेत बसोबास गर्छन्। ‘गन्धर्वहरुलाई सरकारले घर बनाइदियो। सबै जना पक्की घरमा बस्न थालेका छन्। हामीलाई सरकार न रोजगारी दिन्छ, बाँच्ने कुनै आधार ।काम गरेर खाँऔ, कोरोनाको बेला छ। साह्रै दुःख छ हजुर हामीलाई,’ उनले सरकारप्रति गुनासो पोखिन्। 

हुन पनि वर्षौ देखि बेवारिसे रुपमा बस्दै आएका उनी जस्तै सयौं नागरिकको लागि राज्यले केही पनि गरेको देखिदैन। उनी जस्ता भूई मान्छेहरुका अनेकन दुःख दृष्टान्त छन्। ऐलानी जग्गामा बस्दै आएका उनीहरुलाई रोग र भोकको मात्रै होइन। वर्षेनी घाम पानीले समेत सताउने गरेको छ। यस्ता अनेकन दुःख र अभावसँग रोगयुद्व र भोकयुद्व लडिरहेकी छिन्, नन्दकली।

प्रकाशित मिति: : 2020-09-27 15:34:28

प्रतिकृया दिनुहोस्