ललितपुर महानगरपालिकाले कुपण्डोल, पुल्चोक, जावलाखेलदेखि कुमारीपाटीको महायान पेट्रोल पम्पसम्मको फुटपाथमा व्यापार – व्यवसाय गर्न र सवारी साधन पार्क गर्न रोक लगाएको छ।
आइतबारदेखि फुटपाथमा तरकारी व्यवसाय गर्न, निर्माण सामग्री थुपार्न, सवारीसाधन पार्क गर्न, वर्कसपको काम गर्न पाइने छैन।
सहरलाई सुन्दर र व्यवस्थित बनाउन फुटपाथ अतिक्रमण रोकेको ललितपुर महानगरपालिकाका नगरप्रहरी प्रमुख सिताराम हाँछेथुले बताए। ‘पहिलो चरण अन्तर्गत यो क्षेत्र तोकेका छौं, चरणबद्ध रुपमा फुटपाथ व्यवस्थित बनाउने छौं,’ उनले भने।
फुटपाथ पैदल यात्रुको लागि छुट्याएको ठाउँ भएकाले पैदलयात्रुको सहजतालाई ध्यान दिएर उक्त निर्णय गरेको उनले बताए।
महानगरको निर्देशनलाई अवज्ञा गरी फुटपाथ अतिक्रमण गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्नेसमेत उनले बताए।