नेपालकै नमूना नगर प्रहरी बनाउने योजनामा छु- सिताराम हाछेथु (भिडियो)

शनि शाक्य

ललितपुर

प्रहरी सेवामा २९ वर्ष ट्राफिकमा बिताएका पूर्व ट्राफिक प्रहरी निरिक्षक सिताराम हाछेथु अहिले फरक भूमिकामा देखिएका छन्।

२ साता अघि ललितपुर महानगरपालिकाले नगर प्रहरी प्रमुखमा नियुक्त गरेसँगै उनी अहिले दैनिक सवारी जाम कसरी हटाउने भन्दा पनि सडक किनारमा पैदल यात्रुलाई कसरी सहज आवत जावत गराउने भन्ने ध्याउन्नमा छन्।

ललितपुर ट्राफिक प्रहरीमा ४ वर्षसम्म काम गरेका उनले ललितपुरका कुना काप्चाबारे राम्रोसँग थाहा छ।

‘म ४ वर्षसम्म ललितपुर ट्राफिक प्रहरी प्रमुख भएर बस्दा यहाँको धेरै अनुभव छ। फुटफाथ पसलदेखि यहाँको सडक किनारले पैदल यात्रुलाई पारेको असरबारे राम्रैसँग ज्ञान छ,’ उनले बिएल नेपाली सेवासँग कुरा गर्दै भने।

आफू आएको दुई सातामै उनले ललितपुरका केही नयाँ गर्न खोजेका छन्। नगर प्रहरीप्रति आम मानिसको सोचाई फरक रहेको भन्दै सर्वसाधारणसँग पुनः घुलमिल हुने उपाय सोचिरहेका छन्।

‘यहाँ नगरप्रहरीको इज्जत रहेनछ। मानिसको सोचाईमा नगर प्रहरी भनेको फुटफाथ हटाउने मात्र हो ठान्छन्। निजी संस्था तथा विभिन्न क्षेत्रमा राखिएका सुरक्षा गार्डलाई बरू मान्छेले इज्जत गर्छन्, मजाले कुराकानी गर्छन् तर नगर प्रहरीलाई कसैले वास्तै गर्दैन’, उनले यथार्थ सुनाए,‘मैले पुरै फिल्ड भिजिट गरेँ,  नगर प्रहरीले गरेको कामलाई नकसैले मन पराएको छ, नत राम्रो भनेको छ। त्यसको चुनौती मलाई छ।’

उनी ललितपुर नगर प्रहरीलाई नेपालकै नमुना नगर प्रहरी बनाउने योजनामा छन्। आम मानिसलाई नगरप्रहरीको उपस्थिति देखाउने विचारमा छन्।

‘मलाई यहाँ ल्याउने मेअर सा’पदेखि स्थानीयसम्मले म माथि धेरै भरोसा गर्नुभएको छ। सबैको धारणा भनेको ललितपुर महानगरलाई नमुना बनाउने हो, त्यसलाई लागि नै मलाई यो महत्वपूर्ण जिम्मेवारी दिएको छ, म कुनै पनि हालतमा मलाई दिएको जिम्मेवारी पूर्ण रूपमा पालन गर्दै ललितपुरलाई साच्चीकै नमूना नगर बनाएर, नगर प्रहरीलाई मुलुककै नमूना बनाउने प्रण गर्छु।’

ललिपुर महानगरभित्र धेरै काम गर्नुपर्ने भएकाले उनले कामलाई बर्गिकरण गर्दै प्राथमिकताका आधारमा क्रमशः गर्दै जाने योजना बनाएका छन्।

‘हामीले सुरूमा सडकलाई ब्यवस्थित बनाउनुछ, त्यसको पहिलो प्रयास मेरो मोटरसाईकल वर्कशप तिर छ। मोटरसाईकल वर्कशपले वर्षौदेखि सडक पेटीलाई प्रयोग गरेका कारण पैदलयात्री हिँड्ने बाटो ओगटीयो, जसका कारण मान्छेहरू सडकबाट हिड्नुपर्ने बाध्यता छ। यो अवस्था हटाउन असोज ३ गतेदेखि पुटपाथलाई वर्कसपरहित बनाउने अभियान सुरू गरेको छु’, उनले भने, ‘मैले अगाडि नै सम्बन्धित निकायलाई बोलाएर यसबारे जानकारी गराइसकेको छु। अबदेखि त्यसरी सडक पेटी प्रयोग गरेको पाइएमा कारबाही हुन्छ। त्यसरी ब्यावसाय गर्ने र हटाउँदा अटेर गर्नेलाई १० हजारसम्म जरिवाना गर्ने अधिकार छ, त्यसको प्रयोग हुन्छ।’

उनले पहिलो चरणमा लगनखेलदेखि मंगलबजारसम्मको फुटपाथ पसल बटाउन सुरू गरेका छन्।

भित्र सानो सटर लिएर बाहिर मान्छे हिड्नका लागि बनाइएको फुटपाथ प्रयोग गर्ने प्रचलन बढ्दै गएकाले उनले ललितपुर महानगर भित्र अब यस्तो काम गर्न नपाइने गरी अभायन सुरू गरेका छन्।

‘फुटपाथमै मर्मतको काम चलिहरेको छ, अस्तब्यस्त तरिकाले फुटपाथमा वर्कसप चलाउँदा नगरको सौन्दर्यता पनि बिग्रिएको छ,’ उनले भने । नगर प्रहरीले नियम उल्लंघन गरे वर्कसप सञ्चालकलाई नियन्त्रणमा लिएर १० हजार जरिवाना गर्ने बताएको छ ।

हाछेथुका अनुसार दोस्रो चरणमा फुटपाथबाट निर्माण समाग्री हटाउने अभियान सुरु गरिनेछ । 

त्यस्तै सडकमै निमार्ण सामाग्री राखेर विभिन्न घर, भवन तथा अन्य काम गर्नेलाई रोक्ने उनले बताए।

‘बाटोमा राखिएका निमार्ण सामाग्री धनीलाई हटाउन हामीले खबर गरिसकेका छौं २४ घण्टाभित्र नहटाए हामी ती सामाग्रीहरु जफत गर्छौ’, उनले भने,‘सडक छेकेर कुनै पनि निर्माण सामाग्री राख्न पाइन्न,’ उनले भने।

उनी ललितपुरलाई स्मार्ट सिटी बनाउने अभियानमा रहेको बताए। ‘हामीसँग भएका सिमित स्रोत र साधनको उच्चतम् प्रयोग गरी ललितपुरलाई स्मार्ट सीटी बनाउने अभियानमा छौं, त्यो पुरा गरेरै छोड्छौं,’ उनले भने।

उनले अहिले नगरप्रहरीप्रति जनताको नकारात्मक सोचाइरहेको भन्दै क्रमशः सुधार गर्दै लैजाने योजना रहेको सुनाए। ‘अहिले नगर प्रहरीले नमस्कार गर्‍यो भने फर्काउने चलन छैन, हामी बिस्तारै त्यो सम्वन्धलाई सुमधुर बनाएर नगर प्रहरीसँग हातोमालो गर्ने अवस्था बनाउनेछौ,’ उनले भने,‘हामीले जनतालाई चित्त बुझाउन सकेको छैनौं त्यसैले नगर प्रहरी देख्नासाथ नागरिक मुन्टो बटार्ने गरेका छन्, अब हामी सुधार गर्दै नगरप्रहरीप्रतिको आस्थालाई जोगाउने छौं।’

हाछेथुले विगतका गतिविधिले नगर प्रहरीप्रति नकारात्मक धारणा रहेको भन्दै अब ललितपुरबाट नगर प्रहरीको छवी सुधार्ने गरी काम गर्ने दृढता व्यक्त गरे । 

उनले आफू मातहतका नगर प्रहरीलाई सभ्य भाषामा आम सर्वसाधारणसँग कुरा गर्न सिकाएका छन्। उनले आफ्ना कोही पनि कर्मचारीले अरूलाई तँ भनेर सम्बोधन नगर्नेगरि आचरण सुधारको काम आएकै दिनबाट सुरू गरेका छन्।

‘हामी मापसे चेक गर्दा नमस्कार गर्छौं, अनि फुटपाथ हटाउँदा ‘तँ’ किन भन्ने?, ठुलालाई हामीले मानसम्मान गर्ने तर सडकमा सानोतिनो ब्यापार गर्नेलाई किन हेला गर्ने? त्यसैले अब नगरप्रहरीलाई ‘त’/ ‘तिमी’ भन्न छुट छैन, त्यसो गरेको भेटिए कारवाही हुन्छ’, उनले भने।

अहिले उनले नगर प्रहरीले गर्ने १२ वटा प्रमुख कामको सूची बनाएका छन्। जसमा पार्किङ ब्यवस्थापनदेखि नक्सापास बिनाका घर भत्काउने तथा दमकल ब्यवस्थापन गर्नेसम्मका काम छन्। 

उनले जनताको घर दैलोमै गएर सेवा दिनेगरि व्यवस्था मिलाएका छन्। 

‘अब नगरभित्रका सहरी व्यवस्था सम्बद्ध साना-साना समस्यामा नगर प्रहरी आफैं खटिन्छ,’ उनले भने,’सडकमा खाल्डो परे सडक विभागसँग हामी नै समन्वय गर्छौं, पोल ढल्न लागे प्राधिरकणलाई हामी नै जानकारी दिएर बनाउँछौं, नगरिकले नगरप्रहरीसँग सहकार्य गर्न सक्ने वातावरण बनाउँछौं।’

‘तपाईँको छिमेकमा ढल फुट्यो, सडकमा खाल्डो पर्‍यो भने हामीलाई भन्नुस्, १५ मिनेट भित्र हामी त्यहाँ पुग्छौं’, उनले भने, ‘समस्या लिएर आउनुस् हामी समाधान गरेर पठाउँछौं।’

उनले सडक पेटीमा कुनै पनि व्यापार व्यवसाय गर्न नहुनेमा आफू अडिक रहेको बताउँछन्। जो कोहीले पनि सडक छेकिनेगरी व्यपार व्यवसाय गर्न नपाउने उनी बताउँछन्।

अहिले ललितपुरमा निर्माण सामग्रीहरु फुटपाथमा राखेर बेच्ने प्रचलन झांगिएको  छ । त्यसलाई पनि हटाउने नगर प्रहरी बल ललतपुरले जनाएको छ ।

‘फुटपाथमा साना -साना व्यापार गरेर गुजारा गरिरहेकाहरुलाई यो महामारीका बेलामा थप दुःख नदिउँ भन्ने लागेको छ,’ उनले भने,’परिस्थिति सहज बन्दै गएपछि फुटपाथमा बसेर ब्यापार गर्नेलाई पनि हटाउँदै जाने हो ।’

उनले फुटपाथमा नागरिकलाई हिँड्न मुस्किल नपर्ने वातावरण अभियानमा नगर प्रहरी बल लाग्ने बताए । यसका लागि स्थानीय समुदायलाई पनि साथमै लिएर अभियान चलाइने हाछेथुले बताए ।

‘अब हाम्रो ध्यान सडकमा राखिएका मःमः पसल तिर हुन्छ। हेर्नुस् हामीले देख्न सक्छौ, भित्र मःमः खाने ठाँउ हुन्छ, बाहिर सडकमा मःमः पकाईन्छ। अब ती सबै बन्द हुन्छ’, उनले भने, ‘सडक पेटीमा ग्यासदेखि अन्य ब्यवसाय राख्न पाईदैन। हामी फुटफाटमा ब्यापार गर्नेको सामान तानातान गर्दैनौं, तर सभ्य भाषाले एक दुई पटक सम्जाउँछौ। नमाने कानुन अनुसार कारवाही गछौं।’

उनी ललितपुरलाई हराभरा सडक बनाउन आफ्नो सबै ध्यान केन्द्रीत राखेको बताउँछन्।

मान्छे हिड्ने र सवारी गुड्ने ठाँउमा भाडा नतिरेर पसल खोल्न पाएपछि धनीहरूले पनि फुटपाथ राखेको देखिएकाले कुनै पनि हालतमा यस्तो हुन नदिनेमा ललितपुर महानगर दृढ छ।

ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न सक्षम र सफल मानिएका हाछेथुलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित नियुक्त गरेको हो। 

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नगर प्रहरीको क्षमतालाई अझैं चुस्त बनाउन उनलाई ल्याएको बताए। ‘उहाँको कार्य क्षमता, काम गर्ने शैलीबाट जनता प्रभावित छन’, नगर प्रमुख महर्जनले भने, ‘त्यसैले ल्याएका हौं।’ 

प्रमुख महर्जनले ट्राफिक प्रहरीमा उहाँको लामो अनुभवले ललितपुर महानगरका नगर प्रहरी अझैं दक्ष हुने र नमूना नगर प्रहरी बनाउन हाछेथुको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

ट्राफिक व्यवस्थापन गर्दै महानगरले तयार पारेको महानगरस्तरीय ट्राफिक व्यवस्थापन सम्बन्धित योजना कार्यन्वयन गर्न विज्ञका रुपमा हाछेथुलाई नियुक्त गरिएको नगर प्रमुख महर्जनले स्पष्ट पारे।  

हाछेथु २०७५ साल मंसिर महिनामा ट्राफिक प्रहरीको सेवाबाट निवृत्त भएका हुन्।  २९ वर्ष यसै क्षेत्रका बिताएका हाछेथुले नयाँ जिम्मेवारीले थप केही गर्ने ऊर्जा मिलेको बताए। 

 ‘नयाँ जिम्मेवारी प्राप्त भएको छ’, उनले भने, ‘यो जिम्मेवारी र विश्वासले अब फेरि केही नयाँ काम गर्ने ऊर्जा मिलेको छ।’

हेर्नुहोस् भिडियो

प्रकाशित मिति: : 2020-09-22 12:14:00

प्रतिकृया दिनुहोस्