सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसको अवसरमा आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका हुन् ।
 लकडाउनले थला परेको सौराहाका व्यवसायीले सन् २०२० मा सरसफाई र सम्पूर्ण तयारी गर्ने र सन् २०२१ मा व्यापक प्रचारप्रसार गरी सन् २०२२ मा पर्यटन व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउने गृहकार्य थालेका छन् ।

 क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटनसँग सम्बन्धित सबै व्यवसायमा छुट गरिने बताए । उनले भने, “व्यवसायको प्रकृतिअनुसार २० देखि ३० प्रतिशतसम्म छुट समावेश गरेर एक साताभित्र प्याकेज सार्वजनिक गर्छाैं ।”
 
आउँदो दुई वर्षसम्म आन्तरिक पर्यटकको भरमा व्यवसाय टिकाइराख्ने व्यवसायीको योजना छ । “कमाउनुभन्दा पनि व्यवसाय टिकाउन हामी लागिपरेका छौँ”, भट्टराईले भने, “दुई वर्षपछि हामी पूर्ववत् अवस्थामा फर्किन्छौँ ।” 

रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) का अध्यक्ष दिपेन्द्र खतिवडाले हप्ताको दुई दिन बिदाको निर्णय भएमा पर्यटन व्यवसायमा केही सहयोग पुग्ने बताए । सन् २०२२ सम्म विदेशी पर्यटक आउने सम्भावना कम भएकाले देशदर्शन अभियान गर्नुपर्नेमा उनले जोड दिए।
 
सौराहामा १२० होटल र एक सय हाराहारी रेष्टुरेण्ट छन् । सौराहाका होटलमा पाँच हजार ५०० जनाको क्षमता रहेको छ । गएको चैत ११ गतेबाट बन्द रहेका होटल असोज १ गते यता क्रमशः सरसफाइ र खुल्ने क्रम शुरु भएको छ । सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार आधा हाराहारी होटल खुलेका छन् ।
 
पुनः निषेधाज्ञा हुने हो कि भन्ने चिन्ताले सम्पूर्ण व्यवसायी पर्ख र हेरको अवस्थामा रहेको उनले बताए । लकडाउनको अवधिमा १५ दिन होटल खुल्दा ठूलो नोक्सान भएकाले पुनः सञ्चालन गर्न व्यवसायी हच्किएका छन् । 

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वन घुम्न आउने पर्यटक बस्ने मुख्य ठाउँ सौराहा हो । निकुञ्जले जीप सफारीबाहेक अन्य पर्यटकीय गतिविधि खुल्ला गरेको छ ।

प्रकाशित मिति: : 2020-09-27 18:30:01

प्रतिकृया दिनुहोस्