जर्गिन्होले चार मिनेटको अन्तरमा पेनाल्टीमार्फत दुई गोल गरेपछि लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा शानदार जित निकालेको छ।
चेल्सीकाे घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएकाे खेलमा क्रिस्टल प्यालेसमाथि ४–० को जित निकालेको हो।
चेल्सीको जितमा जर्गिन्होले दुई गोल गरे यता बेन चिलवेल र कर्ट जोउमाले समान एक गोल गरे। सबै चार गोल दोस्रो हाफमा सम्भव भएको थियो।
५०औँ मिनेटमा बेन चिलवेलको गोलबाट चेल्सीले अग्रता लियो। ट्याम्मी अब्राहमबाट आएको पासलाई चिलवेलले पोस्टको दिशा दिएका थिए।
६६औँ मिनेटमा कोर्ट जोउमाले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे। चिलवेलको कर्नरमा जोउमाले हेडरमार्फत गोल गरेका थिए।
७८औँ मिनेटमा जर्गिन्होले पेनाल्टीमार्फत गोल गरे। ट्याम्मीलाई पेनाल्टी बक्समा टेरिक मिचेलले फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।
८२औँ मिनेटमा जर्गिन्होले पेनाल्टीमार्फत दोस्रो गोल गरे। काई हाभर्टजलाई मामाडो साखोले फल गरेपछि पेनाल्टी पाएका थिए।
त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सीले ४–० काे शानदार जित निकाल्याे।
जितसँगै चेल्सीले ४ खेलबाट ७ अंक जोडेको छ। समान खेलबाटै क्रिस्टल प्यालेसको ६ अंक रहेको छ।