सुसभ्य होस देश यो

छन्द कविता

प्रवीण नेपाल

कालापहाड,मणिपुर

म शूर वीर राष्ट्रको, म देशद्रोह नाश्दछु
म बुद्धको धरा महा, समानता फिंजाउँछु
अवैध तत्वको यहाँ, प्रवेश सख्त बन्द होस्
सुसभ्य होस देश यो, समुन्नतै भई रहोस ।।१

म निन्दनीय कार्यको, विरोध गर्छु सर्वदा 
विद्रोहको विचार त्यो, समूल नाश होस् सदा 
म बाँच्न सक्छु विश्वमा, नयाँ उमङ्ग ल्याउन
अज्ञान अन्धकारमा, प्रकाश् नयाँ फिंजाउन ।।२

अन्यायपूर्ण ढंगमा, म बाँच्न दिन्न राष्ट्र यो
म देशका दलालबाट, मुक्त गर्छु देश यो
म ऐशको प्रलोभमा, म मातृभूमि त्याग्दिन 
विदेशको गुलाममा, म दिन्न प्राण आहुती।।३

म मातृभूमि यो अझै, म उर्वरा बनाउँछु
म पौरखी भई सँधै, अनाज खुब् फलाउँछु
हराभरा भई रहोस्, समृद्धपूर्ण यो धरा 
म उद्यमी कृषक् भई, म खेतमै रमाउँछु ।।४

म राष्ट्रको भलाइमा, म नित्य कार्य गर्दछु 
म देशको विकासमा, नयाँ बिहानी थप्दछु 
विकासको दियो जली,प्रफुल्ल हुन्छ देश यो
महारथी भएर नै , सदैव हाँक्छु विश्व यो।।५
(छन्द:-पञ्चचामर)

प्रकाशित मिति: : 2020-10-03 22:27:21

प्रतिकृया दिनुहोस्