लकडाउनयता उकालो लागेको मोबाइल व्यापार दसैँ नजिकिएसँगै झन् बढ्यो, बजारमा सकियो मौज्दात

देखापढी

काठमाडौं
मोबाइल व्यापार
लकडाउनयता उकालो लागेको मोबाइल व्यापार दसैँ नजिकिएसँगै झन् बढ्यो, बजारमा सकियो मौज्दात

निकेश खत्री    

काठमाडौं। लकडाउनदेखि बढ्न थालेको मोबाइलको बिक्री दसैँ नजिकिएसँगै झनै बढ्न थालेको छ।

व्यापारीहरूका अनुसार यसअघि ‘अनलाइन क्लास’ ले उचालिरहेको मोबाइलको चाडबाडले ह्वात्तै बढाएको हो। लकडाउनको समयमा स्कूल तथा कलेजहरुले ‘भर्चुअल कक्षा’ शुरू गरेपछि बीचमा मोबाइलको बजार उकालो लागेको थियो। 

न्यूरोडका मोबाइल व्यापारी राकेश श्रेष्ठका अनुसार दसैँको समय अघिल्ला वर्षहरूमा पनि मोबाइल फोनहरुको बिक्री बढी हुन्थ्यो। 

“यो वर्ष त अनलाइन कक्षाले पनि माग बढाएको छ”, उनले भने, “लकडाउनदेखि बढेको मोबाइल बजारलाई दसैँले गोडमेल गरेको छ।”

यस्तै, ताम्राकार हाउका मोबाइल व्यापारीहरू पनि यो वर्ष मोबाइलको व्यापारले रेकर्ड राखेको बताउँछन्। माग बढ्दो रहेकाले ताम्राकार हाउसका अधिकांश पसलमा ग्राहकका रोजाइ अनुसारको मोबाइल नै पाइँदैन।

व्यापारी विनोद तामाङका अनुसार साओमी, सामसुङ, ओप्पो, भिभो, रियल्मी लगायत कम्पनीका मोबाइल फोनको स्टक सकिएको छ। 

उनले नेपालका वितरकहरुको गोदाम नै खाली भइसकेको जानकारी दिँदै भने, “अहिले यी फोनहरुको स्टक छैन। तर, बजारको माग अझै रोकिएको छैन।”

मोबाइल वितरक संघ नेपालका अध्यक्ष जगत साउदले लकडाउनको समयदेखि अचानक मोबाइलको माग बढेको बताए। उनले भने, “लकडाउनले सबै आर्थिक स्रोत गुमेका कारण अन्य क्षेत्रमा जस्तै मोबाइलको बजारमा पनि व्यापार मन्दी आउने सोचेका थियौं।”

तर, आफूहरूको सोच विपरित मोबाइलको व्यापारले पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड कायम गर्न थालेको उनको भनाइ छ। मोबाइलको माग र बिक्री बढेका कारण बजारमा मौज्दात सकिएको साउदले जानकारी दिए। 

 

अन्तर्राष्ट्रिय उडान बन्द भएपछि व्यापारीहरूले पर्याप्त मात्रामा मोबाइल भित्र्याउन सकेका छैनन्। साउदले भने, “बल्ल अन्तर्राष्ट्रिय उडान शुरू भएको छ। अब विस्तारै सबै व्यापारीहरुले हवाईजहाजमार्फत मोबाइल ल्याउन शुरू गर्छन।”

प्रकाशित मिति: : 2020-10-13 09:38:00

प्रतिकृया दिनुहोस्