के ट्रम्पलाई पराजित गर्न उत्तर कोरिया योजनावद्ध रूपमा लागेको हो?

संजोग आचार्य

न्यूयाेर्क

उत्तर कोरियाले वर्कर्स पार्टीको ७५ औं स्थापना दिवसमा एउटा ब्यालेस्टिक मिसाइलको प्रदर्शन गरेर विश्वको ध्यान आफूतर्फ तान्न सफल भयो। 

कोरियाबाटै अमेरिकासम्म मार हान्न सकिने अन्तरदेशीय क्षेप्यास्त्रको विषयमा यसअघि हल्ला मात्र भएको थियो। तर, अहिले आएर उत्तर कोरियाले यसको प्रदर्शन गरेको छ। 

आखिर त्यस्तो के भयो? जसका कारण उत्तर कोरियाली तानाशाह किम जोङ उनलाई पार्टीको स्थापना दिवसको मौका पारेर आफ्नो शक्तिशाली क्षेप्यास्त्रको प्रदर्शन गर्नुपर्‍यो? दुई महिनाअघि सेटलाइटबाट खिचिएको तस्वीरमा राजधानी प्योङयोङमा हजारौं सैनिक र तोपहरूको सक्रियता बढेको देखिन्थ्यो। 

यही फोटोका आधारमा व्हाइट हाउसले अनुमान गरिसकेको थियो, यसपालि उत्तर कोरियाली तानाशाहले विश्वको ध्यान आफूतर्फ मोड्न केही प्रयास गर्नेछन्। 

अमेरिकामा मार हान्न सक्ने अन्तरदेशीय ब्यालेस्टिक मिसाइल प्रदर्शनलाई अहिले विश्लेषकहरूले आसन्न राष्ट्रपतीय चुनावलाई प्रभावित पार्ने हत्कण्डाको रूपमा लिएका छन्। 

राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि मत माग्ने क्रममा आफूले उत्तर कोरियासँगको खराब सम्बन्ध सुधार गरेको दावी गरेका थिए। हुनपनि उनी सन् २०१८ मा उत्तर कोरिया पुगेर त्यहाँको शाषकसँग कुराकानी गर्ने पहिलो अमेरिकी राष्ट्रपति बन्न पुगेका थिए। 

निर्धक्क रूपमा खतरनाक हतियार निर्माण गरिरहेको उत्तर कोरियाविरूद्ध अमेरिका पहिलेदेखि आक्रामक छ। उसले धेरैपल्ट कोरियामा आर्थिक नाकाबन्दी लगाइसकेको छ। 

उत्तरमा निर्माण भएको हतियार इरानदेखि आतंकवादी संगठन आइएससम्म पुगेको भन्दै अमेरिकाले नराम्रो नतिजा बेहोर्नुपर्ने चेतावनी दिँदै आएको थियो। 

तर, यसका बाबजुद उत्तर कोरियाले केही नै नभएजस्तो आनन्दले क्षेप्यास्त्रको निर्माण गरिरहेको छ। उत्तरलाई अन्य देशले नाकाबन्दी लगाएपनि चीनले भने सहयोग गर्दै आइरहेको छ। 

यस्तो अवस्थामा उत्तरले अमेरिकालाई तहसनहस पार्न सक्ने हतियार प्रदर्शन गरेर राष्ट्रपति ट्रम्पलाई अफ्ठेरोमा पार्न खोजेको छ। 

अमेरिकी चुनाव ३ नोभेम्बरमा हुदैछ। राष्ट्रपति ट्रम्प दोस्रो कार्यकालका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेनसँग भिड्दै छन्। 

चुनाव आउन तीन साताको समय बाँकी नरहेको अवस्थामा उत्तरले आफ्नो सबैभन्दा बलियो हतियार प्रदर्शन गर्नुको अर्थ बुझ्न त्यति गाह्रो छैन। किनभने प्रायः शक्ति राष्ट्रले आफ्नो बलियो हतियार लुकाउने गर्छन। 

राष्ट्रपति चुनावको सन्दर्भमा केही समयअघि ट्रम्पले परमाणु निरस्त्रीकरणका लागि किमलाई आफूले सम्झाएको बताएका थिए। आफ्नो पहिलो कार्यकालमा ट्रम्पले परमाणु निरस्त्रीकरणका लागि तीन पल्ट किमसँग भेटेका थिए। तर, ट्रम्पको भनाईको उल्टो गत सोमबार अमेरिकालाई नै लक्षित गर्ने हतियारको प्रदर्शन वास्तवमै अचम्म लाग्ने कुरा थियो। यसले शान्ति भंग गर्ने चेतावनी अमेरिकाले दिइसकेको छ। 

दक्षिण कोरियाका पूर्व कुटनीतिज्ञ र उच्च ओहोदामा रहेका जासुस अधिकारी रो जोङ इलले हालै दिएको एउटा अन्तर्वार्तामा भनेका छन्–यो सबै अमेरिकाको चुनावलाई प्रभावित पार्ने अभियान अन्तर्गत भएको हो। 

उत्तर कोरियामा पार्टीको स्थापना दिवसमा आर्मीको बल र हतियार प्रदर्शन गर्नु सामान्य प्रक्रिया मानिन्छ। तर, अमेरिकी चुनाव नजिक देशकै शक्तिशाली हतियार प्रदर्शन गर्नु चानचुने कुरा पक्कै होइन। रो जो इलले भनेका छन्, ‘उत्तरलाई थाहा छ। अहिले उसलाई विश्वले हेरिरहेको छ। ऊ आफ्नो न्युक्लियर क्षमता विश्वलाई देखाउन चाहन्छ। 

अमेरिका र संयुक्त राष्ट्र संघको प्रतिबन्धलाई वेवास्था गर्दै आधुनिक हतियार निर्माण गरेको सन्देश उत्तर विश्व जगतलाई दिन चाहन्छ।’

उत्तरको यो हर्कतले चुनावमा ट्रम्पको मत १–२ प्रतिशत मात्र प्रभावित भएको खण्डमा पनि किमका लागि यो ठूलो विजय हुनेछ। 
 

प्रकाशित मिति: : 2020-10-14 09:35:00

प्रतिकृया दिनुहोस्