छाउगोठमा हुर्केको पुस्ता

बिएल नेपाली सेवा
बिएल नेपाली सेवा

मेरी मुमालाई जब सुत्केरी व्यथाले च्याप्यो, हतारहतार छाउपडी गोठ (महिनावारी हुँदा र सुत्केरी हुँदा बस्नका लागि बनाइएको सानो र होचो गोठ) मा लगिएछ। हाम्रो घरको पछाडिपट्टि त्यस्तो गोठ थियो। लामो प्रसव व्यथापछि त्यहीँ म जन्मिएँ। मेरो पुस्ता छाउगोठमै जन्मिने सम्भवतः अन्तिम पुस्ता होला। एउटा कुरामा अहिले सन्तोष लाग्छ, कम्तीमा मेरा सन्तानले त्यो कालरात्रि देख्नु र भोग्नु परेन। 

मध्य तथा सुदूरपश्चिमका पहाडी बस्ती छाउपडीजस्तो सामाजिक अन्धविश्वासले अझै पनि बदनाम छन्। महिनावारी भएका महिला र सुत्केरीलाई घरभित्र बस्न दिइँदैनथ्यो। हरेकले घरछेउ सानो छाउगोठ बनाउँथे। सुत्केरी हुँदा होस् वा महिनावारी हुँदा, त्यही गोठमा महिलाले कष्टसँग बस्नुपथ्र्यो। 

अझै पनि हामी छाउगोठमा हरेक वर्षजसो किशोरीको ज्यान गएका समाचार सुन्न बाध्य छौँ। कहिले गोठमा निसासिएर त कहिले बलात्कृत भएर, कहिले सर्पले डसेर मृत्यु हुनेको खबर सुन्दा मलाई साह्रै दुःख लाग्छ। सामाजिक कुरीतिको भुङ्ग्रोमा पिल्सिएर मेरी मुमा र हजुरमुमाहरूको पुस्ताले भोग्नुपरेको उत्पीडन कल्पना गर्दा पनि आङ सिरिङ्ग भएर आउँछ। 

मैले सहरका सुविधासम्पन्न अस्पतालमा पनि गर्भवती र सुत्केरीले भोगेका पीडा र व्यथा देखेको छु, सुनेको छु। आफ्नै सन्तान जन्मिदा प्रत्यक्ष देखेँ। आफ्नै जीवन सङ्गीनीले भोगेको कष्ट नजिकबाट महसुस गरेको छु। नियमित गर्भ जाँच गराएर विशेषज्ञबाट प्रसूति गराउँदा त जोखिम हुन्छ। त्यस बेला गाउँको हाल के हुँदो हो ? म कल्पना पनि गर्न सक्दिनँ।

गाउँमा सुँडेनी हुन्थे। उनीहरूले अनुभवका आधारमा सुत्केरी गराउँथे। न कुनै अध्ययन, न तालिम। परम्परागत ढङ्गले सुत्केरी गराउँदा थुपै्र गलत अभ्यास पनि हुन्थे। गर्भवतीको स्वास्थ्यमा थोरै मात्र जटिलता आयो कि अकालमा ज्यान गुमाउनु पथ्र्यो।
न्वारन नगरेसम्म सुत्केरी र शिशुलाई अरुले छुँदैनथे। सुत्केरी स्वयंले स्याहार्नु पथ्र्यो। सुत्केरी राम्ररी नतङ्गिँदै घाँसपात, स्याउला र दाउरामा लाग्नु पथ्र्यो। सुत्केरीले पोषिलो खानेकुरा र स्याहार पाउनु पर्ने बेलामा अभाव र गरिबीले आधा पेट खाएर सुत्नुपर्ने अवस्था थियो। अलिकति गरिबी, अलि धेरै अन्धविश्वासले सुत्केरी हुनु ठूलो कष्ट व्यहोर्न तयार हुनुझैँ थियो। 

भर्खरै जन्मेको बच्चालाई गोठमा सुताएर वा डोकोले छोपेर सुत्केरी घरबाहिरको काममा लाग्नु पथ्र्यो। जन्मेको केही दिनपछि मुमाले मलाई पनि डोकोले छोपेर घाँसपात गर्न थाल्नुभयो रे ! एक दिन नजिकैको खेतबारीतिर घाँस काट्न जानुभएको रहेछ। साँझ फर्केर दुध खुवाउन मलाई छोपेको डोको हटाउँदा त सँगै सर्पसमेत रहेछ। मुमा अत्तालिनु भयो। चिच्याउनु भयो। सर्प केही नगरी भागेछ। एउटा ठूलो भाग्यले मेरो ज्यान जोगियो। 

यो कुरा हाम्रो घरपरिवार र सिङ्गो गाउँले थाहा पायो। सबैले अनौठो मानेर घटना सुने। तर, सुत्केरीलाई गोठमा राख्दा यस्तो जोखिम मोल्नु प¥यो भन्ने कोही निस्केनछ। बरु बुढापाकाहरूले भनेछन्, ‘ती नाग देवता हुन्। त्यसैले बच्चालाई केही गरेनन्। नागले रक्षा गरेकाले तिम्रो छोराको आयु लामो हुन्छ, ठूलो मान्छे हुनेछ।’ 

मुमाले सुनाएको यो घटनाको काल्पनिक दृश्य बारम्बार मेरो आँखामा आइरहन्छ। संयोग भनौँ वा भाग्य, मलाई सर्पले डसेन। तर, आज पनि म सर्प देख्दा तर्सिन्छु। सबैभन्दा धेरै केहीबाट डर लाग्छ भने त्यो सर्प नै हो। 

छाउगोठमा सर्पले टोकेर सुत्केरी वा शिशुको मृत्यु भएका समाचार पढ्दा त्यो मेरै कथा हो भनेझैँ लाग्छ। आफू त्यस्तै कालबाट बाँचेर आएकामा एक अर्थमा खुसी पनि लाग्छ। कथंकथाचित मुमाले केही ढिलो गरेको भए के हुन्थ्यो ? डोको झिक्दा सर्पले डसेर भागेको भए के हुन्थ्यो ? यस्ता कुरा मेरो मनमा खेलिरहन्छन्। 
० ० ० ० ०

हामी र हामीअघिको पुस्ता छाउपडी गोठमै जन्मियो। आमाको दुध खाउन्जेल छाउपडी हुँदा सँगै गोठमै हुर्कियो। त्यसैले मैले हाम्रो पुस्तालाई छाउगोठमा हुर्केको पुस्ता भन्ने गरेको छु। 

हाम्रो गाउँमा छोराछोरीबीच असाध्यै भेदभाव थियो। छोरालाई अंश र वंशको एक्लो उत्तराधिकारी मानिन्थ्यो। छोरा जन्मिदा खुसी मनाइन्थ्यो, छोरी जन्मिदा खासै कुनै उत्साह हुँदैनथ्यो। छोरालाई पढाइन्थ्यो, छोरीलाई पराइको घरमा जाने जात भनेर पढ्नु पर्दैन भनिन्थ्यो। छोराले गल्ती गर्दा सहजै माफी पाउँथ्यो। छोरीलाई त्यो सुविधा थिएन। 

भान्सामा पाक्ने मीठोमसिनो खानेकुरामा पनि विभेद गरिन्थ्यो। बाबुआमाको पहिलो प्राथमिकतामा छोरा पथ्र्यो। घाँसपात, दाउरादेखि चुलाचौकाको सबै काम छोरीकै जिम्मा हुन्थ्यो। छोरीलाई कुनै प्रकारको अंश तथा सम्पत्ति दिँदैनथ्यो। विवाहपछि छोरी वा बहिनीको अवस्थाका बारेमा सोधखोज नै गरिँदैनथ्यो 
। 
महिलाहरूले महिनावारी (रजस्वला) हुँदा असाध्यै नराम्रो व्यवहार सहनु पथ्र्यो। उनीहरूलाई दोस्रो दर्जाको नागरिकसरह व्यवहार गरिन्थ्यो। घरमा बस्न पाउँदैनथे। 

महिनावारी भएका महिला घरमै बसे देउता रिसाउँछन्, अनिष्ट हुन्छ, सर्पले लखेट्छ भन्थे बूढापाकाहरू। त्यही देउताको डरले वर्षौंवर्ष महिलाहरू नारकीय जीवन जिउन बाध्य छन्। नेपालका अरु ठाउँमा पनि महिनावारी भएका महिलालाई छोइछिटो गरिन्छ। सधैँ सुत्ने कोठा र ओछ्यानमा सुत्न दिइँदैन।

 भान्सामा पस्न र खाना पकाउन पनि बन्देज छ। पूजाआजा त झन् गर्ने कुरै भएन। मध्य र सुदूरपश्चिमी पहाडमा उनीहरूलाई छुट्टै गोठ बनाएर बसाल्ने गरिएकाले धेरै चर्चा र बदनामी कमाएको छ। 

सबै घरमा छाउपडी गोठ पनि थिएनन्। हाम्रो गाउँमा दुई÷तीन घरमा मात्र छाउगोठ थिए। तिनै घरमा महिलाहरू कोचिएर बस्नुपथ्र्यो। घरदेखि अलि पर छाउपडी गोठ हुन्थे। त्यस्ता छाउगोठमा कुनै झ्याल राखिएका हुँदैनथे। बत्ती पनि नबोल्दा ती अन्धकार कोठरी थिए। वर्षातमा पानी चुहिने र सर्प तथा किरा सहजै भित्र पस्न सक्थे। 

खानपिनको कुनै निश्चितता हुँदैन्थ्यो। महिनावारी भएकी महिला (छाउपडी)लाई टाढैबाट रोटी र चटनी दिइन्थ्यो। छाउपडीले घरबाहिरका सबै काम गर्न मिल्थ्यो। घाँस दाउरा र खेतबारीका सबै काम गर्न मिले पनि दुध, दही, घिउजस्ता पोषिला खानेकुरा खान पाउँदैनथे। 

सुत्केरी भएका महिलालाई छाउपडी गोठमा राखिन्थ्यो। उनीहरूलाई पनि छाउपडीसरह नै व्यवहार गरिन्थ्यो। छाउपडी गोठमा सर्पले टोकेर, चिसो र राम्रो स्याहार नपाएर शिशुहरूको ज्यान जान्थ्यो। 

म सोच्छु, गाउँमा भएको भए मेरी श्रीमती कन्चनले पनि दुई छोरीहरू छाउगोठमै जन्माउनु पथ्र्यो। हाम्रा दुवै छोरी सुविधासम्पन्न अस्पतालमा अप्रेसनबाट जन्मिएका हुन्। छाउगोठमा भएको भए के हालत हुन्थ्यो होला ? छोरी जन्मिएको केही दिनसम्म निरन्तर रक्तस्रावले कन्चनको स्थिति नाजुक भएको थियो। छाउगोठमा राखेर घाँसपात पनि गर्नुपरेको भए के हुन्थ्यो होला ? म कल्पना पनि गर्न सक्दिनँ। 

पछिल्ला केही वर्षमा छाउपडी प्रथाविरुद्ध जनता जागेका छन्। छाउपडी गोठ भत्काउने अभियान नै चलाइयो। छाउगोठ राख्नु र त्यहाँ बस्न बाध्य पार्नु गैरकानुनी हुन्छ। प्रहरी र प्रशासनको सक्रियतामा मध्य तथा सुदूरपहाडका हजारौँ छाउपडी गोठ भत्काइए। देशमा राजनीतिक, सामाजिक र विकृतिविरुद्ध वर्षौंदेखि आन्दोलन जारी छ। राजनीतिक आन्दोलन टुङ्गोमा पुगे पनि सामाजिक आन्दोलन रोकिएको छैन। 

सरकारले गाउँगाउँमा रहेका छाउगोठहरू त भत्कायो। तर, अन्धविश्वासी समाजमा जरो गाडेको यो सामाजिक समस्या उखेलिएको छैन। छाउपडी प्रथा स्वीकारेका मानिसका मनबाट छाउगोठ नभत्काएसम्म यो समस्याको स्थायी समाधान सम्भव देखिँदैन। 

(अधिवक्ता लोकबहादुर शाहद्वारा लिखित ‘चौकीदारदेखि वकिलसम्म’ पुस्तकको एउटा अंश । यो पुस्तक  क्रियटिभ बुक्सले असोज २९ गते विमोचन गर्दैछ ।) 

प्रकाशित मिति: : 2020-10-14 14:06:00

प्रतिकृया दिनुहोस्