रहरले सुरु गरेको भेडी गोठालाको आम्दानी वर्षमा ३ लाख

सिर्जनशील उद्यमी–३

‘असोजे भेडाको झोल र कात्तिके चामलको भात’असोजमा प्रायः दशै पर्ने। दशैमा अनिवार्य भेडाको मासु खान पाइने। भेडाको मासुमात्र खानुभन्दा झोल खानु स्वास्थ्यको लागि साह्रै लाभदायक। 

‘असोजे भेडाको झोल र कात्तिके चामलको भात’असोजमा प्रायः दशै पर्ने। दशैमा अनिवार्य भेडाको मासु खान पाइने। भेडाको मासुमात्र खानुभन्दा झोल खानु स्वास्थ्यको लागि साह्रै लाभदायक। 

घाम नलाग्ने ठाउँमा काम गर्नेको शरीरमा सित पसेको हुन्छ। परिणाम धेरै रोगको सिकार भइने। राजा, राणादेखि ओली प्रचण्ड समेतको जिउनार बनेको काली मार्सी कात्तिकमा पाक्ने। स्वभावैले त्यसको नाम कात्तिके चामल भयो।

असोजमा पाटनबाट बेसी झरेका, पाटनको बुकी र जडिबुटी खाएका, विष पचाएर ज्यान बनाएका भेडाको झोलसँग कात्तिके चामलको भात खायो भने सित लागिजान्छ कि भन्ने चिन्ता हरण भइजान्छ। मासु खानलाई भन्दा पनि परम्परागत यातायातका साधन हुन्, जुम्ली भेडा। 

कर्णालीमा अनादीकालदेखि हरेक घर परिवारले सबै प्रकारका अन्नबाली लगाउँदै र पशुपंछि पालन गर्दै आएको भेटिन्छ। यसको मुल कारण आत्मनिर्भरताको प्रयास हो। आफूलाई आवश्यक पर्ने चिजबिज नहुँदा वस्तु विनिमय गरेर पूर्ति गर्दै आर्दै आएको बुढापाकाहरुले बताउने गरेका छन्। 

जस्तो कि, जुम्लामा नुन हुँदैनथ्यो। अहिलेको जस्तो यातायातको विकास भइनसकेको अवस्थामा समुद्रसम्म पहुँच बन्ने कुरै भएन। तर भोटसँग सम्बन्ध गाँसिएको थियो। भोटमा अन्न नहुने, कर्णालीमा नुन नहुने। सम्बन्धका कारण आवश्यक वस्तु विनिमय गर्न सकिने। विनिमयको मध्यम थियो, भेडा।

भोटसँग सम्बन्ध हुन्जेल भोट र मधेससँग सम्बन्ध सुरू भएपछि मधेसबाट समेत नुन ल्याएर कर्णालीको जिब्रोलाई स्वादिलो बनाउने काम भेडाले गरेका हुन्। त्यसैले भेडा, भेडा मात्र नभएर जाक्ना पनि हुन्। जाक्ना अर्थात् जागेको नुन बोकेर हिड्ने भेडा।

त्यसबेला भेडा धेरै हुनेहरु सम्पन्नमा गनिन्थे। जसरी आज ठूलो घर घडेरी, जग्गा जमिन, बैंक ब्यालेन्स, बन्द व्यापार हुने सम्पन्न मानिन्छन्। उसो त अहिले पनि भेडा धेरै हुनेहरु सम्पन्नमै गनिन्छन्। त्यसैले पनि भेडा पाल्नु आम्दानीको मुख्य श्रोत बनाउनु हो।

हाल आएर परिस्थिति फेरिएको छ। भेडाको बहुउपायोगिता घटेको छ। आजभोलि भेडालाई भोट मधेस गर्नुपर्ने अनिवार्यता छैन। तर जुम्लीहरुको भान्साको स्वादिलो भोजनको लागि उपयोग हुने क्रम बढ्दो छ। यसकारण पनि भेडा पाल्ने र भेडा चराउनेको उस्तै मानसम्मान छ। त्यसैले जुम्लाको तातोपानी गाउँपालिका–७ सर्मीका प्रकाश कुँवरले भेडा पाल्नकै लागि पढाइ छाडे। 

सुरुमा उनी रहरै रहरमा प्रत्येक शनिबार छिमेकीको भेडा चराउँथे गइदिन्थे। पाँच कक्षामा पढ्दै गरेका उनलाई भेडा पाल्न औधी मन लाग्यो। बिस्तारै उनलाई विद्यालयभन्दा भेडीगोठ प्यारो लाग्न थाल्यो। १३ वर्षदेखि भेडा पालन सुरु गरेका उनी अहिले १९ वर्षका भए। कुँवरले ६ वटा भेडाबाट व्यवसाय सुरु गरेका थिए। हाल आएर उनको गोठमा ७० वटा भेडा छन्।

उनी जस्तै कति बालबालिका रहरले त कति बाध्यताले पढाइ छाडेर गोठाला बन्छन्। तर पनि खुसी छन्, उनीहरु। हाल उनीहरुले श्रम सहकार्यको अनुपम नमुना चलाइरहेका छन्। पाँच जनाको समूह छ। आलो पालो गरेर भेडाको रेखदेख गरिरहेका छन्। 

‘हाम्रो बगालमा १ हजार भेडा छन्। मिलेर पालो गरि रेखदेख गरिरहेका छौं,’ उनले भने, ‘रहरले रोजिएको पेसा अहिले आम्दानीको राम्रो स्रोत बनेको छ। पढेर लोक सेवा बाहेक हामी जस्ता पहुँच नहुने किसानका छोराछोरीले जागिर पाउन मुस्किल छ। लोकसेवाको पछि लागेर जुनि काट्नुभन्दा भेडा हाकेर लेकबेसी गर्नु बेस।’
यस्तै, तातोपानी–७ ताम्तीगाउँका हरिदत्त रावतले पनि ९ कक्षामा पढ्दै गर्दा भेडा हेर्नुपर्ने भयो। भेडा पालन उनको पुर्ख्यौली पेसा हो। बुबा एक्लैले भेडा पालन गर्न नसक्ने भएपछि उनले पढाइ छाड्नुपर्‍यो। 

भेडा पालक किसानमा रहरले प्रकाश बनेका र बाध्यताले हरिदत्त बनेका उम्तै भेटिन्छन्। वास्तवमा भेडीगोठमा परापूर्वकालदेखि नै प्रकाश र हरिदत्तहरुको बाहुल्यता छ।

पाटनमै भेडाबाख्रा चराउने गोठालाहरु हिउँदमा बेँसीका फाँट र गर्मीमा हिमालको काखनेरका बुकीका पाटनमा पुग्छन्। चाडपर्व, झरी, बादल, हिमपातमा पनि उनीहरु भेडीगोठमा दिन काटिरहेका हुन्छन्। 

गाड, खर्क, भुइसी, भुरिचुला, ठाडिपाटन, लामा डाँडा, सिमलाग्न, शुकदह, छिनालाग्न जस्ता पाटनका बुकी हुँदै जाजरकोटको सिमानामा पर्ने डुइसिले लेकसम्म भेडा चराउन पुग्छन्। 

उनीहरुको जीवनशैली अरु भन्दा भिन्न छ। घुमन्ते जीवन बिताउने भेडीगोठालाहरु चरन क्षेत्रमा घाँस सकिएपछि गोठ सार्छन्। राउटेका बस्ती सरेजस्तै भेडीगोठ सरिरहन्छन्। गोठ छिटो छिटो सार्नुपर्ने भएकाले उति व्यवस्थित हुँदैनन्।

भोजपत्र, त्रिपाल र ढुंगाले छाएको गोठमा बसोबास हुन्छ। घरकाले एक–दुई महिना पुग्ने खाद्यान्न पुर्‍याइदिन्छन्। भेडाको दूध, मकैको आटो, ढिँडो र जंगलमा पाइने च्याउ, निगालाका टुसा, निउरोको लगायत तरकारी उनीहरुको दैनिक भोजन हुन्। 

भेडाको ऊनले बुनेको लिउ, फेरूवा, राडीपाखी उनीहरुका बिस्तारा हुन्। जुन स्वास्थ्यका लागि फाइदाजनक छन्। रागन र नसासम्बन्धी रोग लाग्नबाट बचाउने उही हो। भेडी गोठालाको जीउ राडीपाखी जस्तै दरिलो हुनुको कारण पनि उहीँ हो। जसले जमिनको सित जिउमा पस्न दिँदैन। पसिहाले असौंजे भेडाको झोल छँदैछ।
भेडीगोठको सबैभन्दा ठूलो जोखिम चट्याङ हो। भेडीगोठाला बारम्बार यसको शिकार भइरहन्छन्। जसले उनीहरुको उठीबास गराइदिन्छ। करोडका भेडी गोठालालाई रोडमा पुगाइदिन्छ। उस्तै परे भेडाको साथसाथै गुवालाका जीउ समेत नरहने जोखिम रहन्छ।

चट्याङ विशेषगरी बर्खा याममा पर्छ। चट्याङकै कारण प्रकाशले भेडीगोठका एक कुसल अभिभावक गुमाए। गएको ३० असारमा भेडा चराउन हिँडेका तिला गाउँपालिका (५ चुलाकोटका कलिमुन बढाको चट्याङ लागेर मृत्यु भयो।

सात जना गोठालाको नेतृत्व गर्ने, सबैलाई सिकाइ अह्राई गर्ने अविभावक गुमाएपछि अहिले गोठमा सबैले टुहुरो भएको महसुस गरेका छन्।
तातोपानी गाउँपालिका (७ सर्मीका भैर कुँवर चट्याङकै कारण भेडापालनबाट विस्थापित भएको बताउँछन्। चट्याङले दुई दशकअघि उनको भेडाको बथानलाई स्याउली सोतार पारेको थियो। अहिले उनी भेडा पालन त्यागेर कृषिकर्ममा लागेका छन्। 

हरेक वर्ष चट्याङका कारण  जीवनमा ठूलो उतारचढाव आएका थुप्रै भेडीगोठालाहरु गाउँघरमा भेट्न सकिन्छ।जति धेरै जोखिम, त्यति धेरै नाफा भनेजस्तै जोखिम मोलेरै नाफा कमाउने भेडीगोठालाहरु उम्तै छन्। तातोपानी (७ ताम्तीका लालसिंह रावत भेडा पालेर जीवन बदल्ने अर्का गोठाला हुन्।

वर्षमा कम्तीमा पनि ३ लाखसम्म आम्दानी हुने गरेको उनले बताए। भेडीगोठमै सिंगो जीवन कटाएका उनीसँग अहिले २ सय वटा भेडा छन्। उनले वर्षमा ३० वटासम्म भेडा बेच्ने गरेका छन्। 

चट्याङ बाहेक भेडीगोठालालाई अरु ठूलो विपत्ति आइलाग्दैन। कोरोना महामारीले पनि भेडीगोठको कारोबारलाई प्रभाव पारेको छैन।बस्तीभन्दा टाढा जंगलको बसेरो, भिडभाडको कुनै असर नभएको अवस्थामा कोरोना भाइरसले असर गर्ने कुरा भएन। त्यसमाथि मासुको खपत घटेको छैन।

‘रेडियोबाट कहिले व्यापार भएन। कहिले काम गर्न पाएनौं, कहिने सबै चौपट भयो भन्ने खालका समाचार सुन्छौं,’ लालसिंहले भने,  ‘हामीलाई त आनन्द छ। गोठालाबाहेक कसैसँग भेटघाट हुँदैन। समयसमयमा भेडा बिक्री भइहाल्छन्।’ 

हजारौं भेडाको बथानमा केही जोखिम भने रहिरहन्छन्। पाटन र जंगलको बास, चिसो छल्न बेसी झर्दा होस् या गर्मी छल्न लेक ओसार्दा भेडाहरु चोरी हुने, हराउने र जंगली जनावरको आक्रमणमा पर्ने डर रहन्छ। तर यस्ता जोखिम न्युनिकरणका आफ्नै परम्परागत उपाय छन्। उनीहरुले गोठैपिच्छे भोटे कुकुर पालेका हुन्छन्। कुकुर नै भेडा संरक्षण गर्ने इमानदार सिपाही हुन्छन्।

यस बाहेक भेडीगोठालाको जिन्दगी आफ्नै रफ्तारमा चलिरहेको छ। लामो दूरीको यातायात जस्तै।

प्रकाशित मिति: : 2020-10-14 13:11:00

प्रतिकृया दिनुहोस्