कयौंले सोध्ने गर्थे –‘ए बाबु ! त्यसरी किन दौडेको ?’

तालिम लिन जुम्ला पुगिरहेका छन् विदेशीहरु

‘आइस जमेको हुन्थ्यो। आइसमा दौडिनु पथ्र्यो। कहाँनेर टेक्ने भन्ने थाहा हुँदैन थियो। बडो जतनका साथ अनुभवका साथ दौडिनु पथ्र्यो। खुट्टा फस्यो भने त गयो। राती हाइ लाग्यो भने सुतेको मान्छे ठाडो नउठ्न पनि सक्छ। हिउँमा उकालो ओरालो दुबै दौडिनु पर्ने। फ्ल्याटमा दौडिएको मान्छे बिना तालिम सक्दैन हाइअल्टिच्युडमा दौडिन। त्यो शाहसी गेम हो।’ 

यो भनाइ हो विश्व रेकर्ड कायम गर्न सफल जुम्लाका धावक हरि रोकायाको। जसका लागि जुम्लाका डाँडाकाँडा वरदान बने। तिनै डाँडाकाँडामा हिउँ परेको बेला समेत निरन्तर दौडिरहे उनी। यसरी हिउँमा दौडिने क्रममा कैयौपल्ट कतिपय ठाउँमा हिउँमा फसेको अनुभव छ उनीसँग। 

पछिल्लो समय जुम्लालाई चिनाउने मध्ये अग्रपंक्तिमा आउछ उनको नाम। उसो त जुम्ला आफैमा एक सुन्दर अनि पवित्र भूमि हो। नामाकरणका क्रममा कैयौ मीथहरु बोकेको छ जुम्लाले। खलङ्गाबाट नजिकै देखिने दुईवटा डाँडालाई यमला भनियो। यमलाको अर्थ हो जुम्ल्याहा। 

संस्कृत भाषामा य लाई ज का रुपमा उच्चारण गरिन्छ। वेदका ऋचाहरु पढ्दा पनि सुनिन्छ येज्ञेन यज्ञेमय......। लिखितमा ज नभएर य हो। मात्र उच्चारण गर्दा ज भनेर पढिन्छ। त्यस्तै यमला पनि जमला हुँदै जुम्ला हुन गएको कुरा सुनाउछन् विद्वान्  रमानन्द आचार्य।

जुम्लाको नामाकरणको कथासँग जोडिएका ती जुम्ल्याहा डाँडाहरु निकै नै सुन्दर देखिन्छन्। जुनेलीसँग वात मार्दै दौडिरहेकी हुन्छिन् तीला नदी। तिला नदीको छेउछाउको वस्ती, ती फाँटहरु र पहेला धानका गराहरु देख्दा लाग्छ सुन्दरता र भावनाको पोखरीमा डुब्नेहरु बिर्सिन्छन् होला परेली झिमिक्क पार्न पनि। तिनै डाँडाकाँडातिर कहिले गाई बाख्रा चराउन त कहिले खेल खेल्न जानु अघि तयारीका लागि घुमे उनी। तिनै डाँडा साथी बने सुरुसुरुमा। त्यतैतिर थकाइ मारे। त्यतैको प्राकृतिक सुन्दरताले मोहनी लगायो उनलाई। अहिले उनलाई खोज्न त्यतै आइपुग्छन् केही स्वदेशी तथा विदेशी खेलाडीहरु। 

अरु मान्छे दौडिनु र हरि रोकाया हिँड्नु एउटै जस्तो लाग्छ। जब देखिन्छन् उनी बाटोमा हिँडिरहेका। 

क्षणभरको परिचय पश्चात प्रश्न तेस्र्याउछु उनीतिर–‘दाइ जुम्लाबाट रारा जान कति समय लाग्छ ?’ 

‘म त बिहान गएर बेलुकी फर्केको’ – सहज ढंगले बताउछन् उनी। 
अरुलाई नि ?– पुनः प्रश्न गर्छु म। 

‘दुई दिन जान दुई दिन आउन गरी चार दिन’ – मन्द मुस्कानका साथ सुनाउछन्।
जुम्ला सदरमुकामबाट रारासम्मको पैदल यात्रा गर्ने क्रममा एकै दिनमा १०२ किलोमिटर पार गरे उनले। जादा लामो बाटो रोजे जसको दूरी ५३ कि.मी. छ। फर्किदा छोटो बाटो रोजे जसको दूरी छ ४९ कि.मि.। दिनभरि एकोहोरो हिँडिरहेँ उनी। बीचमा आराम गर्नु भनेको पानी पिउनलाई रोकिनु थियो। त्यसका अलावा साथमा बोकेर लगेको खाना खान जे जति समय लाग्यो त्यति नै हो। त्यो समय भने याद गरेनन् उनले।

उद्देश्य बिनाको यात्रा के यात्रा। कहाँ सकिन्छ र लक्ष्य नै नराखिकन चुचुरामा पुग्न। हरेक क्षेत्रमा उद्देश्य र योजना चाहिन्छ नै। उनको यो १०२ कि.मी. को दौड पहिलो पटक एभरेष्ट म्याराथुनमा जानु अघिको तयारी थियो।  एभरेष्ट म्याराथुनमा ४२ कि.मी. दौडिनु पर्ने थियो। तर, उनले तयारी गर्ने क्रममा १०२ कि.मी. दूरी पार गरे। ‘यस्तो किन त ?’– मैले आफ्नो जिज्ञाशा राख्दा सजिलै सुनाएका थिए – ‘१०२ कि.मि दौडेँ भने ४२ कि.मि त मेरो आँखै नदेख्ने सामान्य भैहाल्छ सोचेर निस्केको हुँ जुम्लाबाट राराको यात्रामा।’ 

यही अभ्यासले गर्दा सन २००० मा एभरेष्ट म्याराथुनमा ह्याट्रिक गरी विश्व रेकर्ड कायम गर्दै गिनिज बुकमा नाम लेखाउन सफल भए उनी। जसले दुई वर्षको अन्तरमा तीन पटक जिते। एक पाइला सार्दा लामो सास फेर्नु पर्ने ठाउँमा ४२.१९५ किलोमिटर दूरी  पहिलो पल्ट ३ घन्टा ५६ मिनेट १० सेकेन्डमा पार गरे भने दोश्रोपल्ट उक्त दूरी पार गर्न ३ घन्टा ५० मिनेट २३ सेकेन्ड समय लगाए। 

हुने विरुवाको चिल्लो पात भनेझैं हरिबहादुर रोकायाले बाल्यकालमै देखाइसकेका थिए लक्षण।  बच्चादेखि नै चञ्चले स्वभावका उनी जहाँ जानु पर्दा पनि दौडिन्थे। जान्दैन थिए बिस्तारै हिँड्न। साथीहरु जम्मा भएर बाल्यकालमा ओडोदोडो भन्ने खेल खेल्ने गर्थे। त्यो खेल्दा एउटाले छुने हुन्थ्यो। 

एउटाले अर्कोलाई छुदै जादा अन्तमा बाँकी रहनेलाई सबै मिलेर छुनु पर्ने हुन्थ्यो। अन्तिमसम्म रहने उनी नै हुन्थे र कसैले उनलाई छुन नै सक्दैन थिए। अन्तमा दौडिदै घर पुग्थेँ उनी। जेठो दाइ (कृष्णबहादुर रोकाया) सय/दुई सय मिटरको दौडमा भाग लिन्थे। तिनै दाइ बने पहिलोपल्ट प्रेरणका श्रोत। पछि बैकुण्ठ मानन्धरको नाम सुने। त्यो नाम पनि उनका लागि प्रेरणा नै बन्यो।

सात कक्षामा पढ्ने ताका स्कुलमा गरिने प्रतियोगितामा प्रथम बनेका रोकायाले बीरेन्द्र शिल्डमा खेल्ने अवसर पाएँ। प्रथम भएँ। त्यसपछि क्षेत्रीय हुँदै राष्ट्रिय गेम खेल्ने अवसर पाएँ। दाङमा राष्ट्रिय गेम खेल्ने अवसर त पाए तर थाहा थिएन उनलाई दौडिने ट्याक्टिस। त्यो समय सम्झिदै सुनाउछन् उनी –‘दौड भन्ने नै थाहा थिएन। बल (शक्ति)को हिसाबले हावामा दौडिने त हो, यही नै थियो दिमागमा। प्रतिस्पर्धीमा थिए वैकुण्ठमानन्धर, पुष्पराज ओझा, अमिर यादवलगायतका हस्तीहरु। उनीहरु आफ्नो ट्याक्टिसमा दौडिरहेका रहेछन्। मैले सुरुमै उनीहरुलाई जितेर अगाडी जान खोजेँ लाष्ट फिनिसिङमा मेरो त शक्ति नै गैसकेको थियो। उनीहरुले संचित गरेको शक्ति लगाए। यति हुँदा पनि तेस्रो भएँ। अनि बैकुण्ठ दाइले भन्नु भयो –‘यसले तालिम लिएको भए त हामीलाई जित्ने रैछ।’

कर्णबहादुर रोकाया र उमादेवी रोकायाका तीन छोरा दुई छोरी मध्ये उनी माइलो सन्तानका रुपमा देखापरे। छोराले राम्रो गरोस् नाम कमाओस् भन्ने थियो बुवालाई पनि। देख्न पाएनन् बुवाले छोराले जितेका मेडलहरु। छोराले किर्तीमानी कायम नगर्दै निस्किए कतै अज्ञात लोकको यात्रामा। आमाले देख्न पाइन छोराले जितेर ल्याएका पुरस्कार। तिनै आमाले बुहारी खोजेर गरिदिएकी हुन् उनको बिहे पनि। घरमा जेठो दाइका साथै कान्छो भाइ पनि खेल क्षेत्रमै थिए। दाइ दौडिन छोडेर शिक्षक बने। सेनामा भर्ना भएको भाइले जागिर छोडे। हरिबहादुरका कान्छा छोरा पनि टेगुन्टो खेल्थे। खेल राम्रै थियो। तर दिएनन् उनले पनि निरन्तरता। 

पाँच दस हजार मिटरका सबै खाले दौडमा अरुको रेकर्ड ब्रेकगरिसकेका रोकायाका लागि नेपालमा मात्र ४२ कि.मि. को दौडमा वैकुण्ठ मानन्धरको रेकर्ड ब्रेक गर्न बाँकी थियो। उसै पनि राजनीति बढी हावी हुने मुलुकमा जुम्लाको सामान्य परिवारको मान्छे, कसले गथ्र्यो र निशाफ। श्रीलंका जानु पर्ने रोकायालाई किनारा लगाइयो। 

क्रसकन्ट्रि जान पाउनेमा टप फममा थिएँ उनी। जापान खेल्न पनि टपफममा भएकोलाई नपठाएर अरु दुई जनालाई पठाइयो। व्यवस्थापनले उनलाई लखेटिरह्यो। अनि मोडियो उनको यात्रा एभरेष्ट म्याराथुनतिर। जसले उनलाई फाइदा नै ग¥यो। उनी वल्ड रेकर्ड राख्न सफल भए।

सम्झिन्छन् उनी कहिलेकाही विगतका ती दिनहरु। नेपालमा गरिएका प्रतियोगितामा प्रथम हुँदा समेत बाहिर गएर खेल्न पाएनन्। दुई तीन ठाउँ बिदेश जानबाट बञ्चित पारिए। झेल्नसम्म झेले समस्याहरु। तथापि हिम्मत हारेनन्। एकदिन गरेरै छोड्छु भन्ने थियो। आखिर देखाएरै छोडे। 

एभरेष्ट म्याराथुनमा माथिबाट दौडिंदै तल आउनु पर्ने थियो। दौडिने बेला (वल्र्ड रेकर्ड कायमगर्ने बेला) नाम्चे पुग्नै लाग्दा बुङलुंग लडे। त्यहाँ लडेपछि हात खुट्टा भाँचिन्छ। 

त्यो निकै नै खतरानाक ठाउँ हो। उनी जुरुक्क उठेर पुनः दौडिएको हेरिरहे सेनाका जवानले। उनले रेकर्ड कायम गर्नु थियो र त थाहा भएन चोट लागेको पनि। ब्याङ्ककमा गोल्ड मेडल जितेर पनि पाएनन् स्टेजमा गएर मेडल थाप्न। सीमारेखा पार गरेर बिजय घोषणा भइसकेपछि बेहोस भए गर्मीले। पछि आफ्नै खेलाडी साथीले प्रतिनिधि बनेर मेडल थापिदिए। 

दुई वर्ष अघि मात्र सिकित्स बिमारी भए। २० लाख रुपैया खर्च भयो। देशलाई चिनाउने अन्तरास्ट्रियस्तरको एक दक्ष खेलाडी, प्रशिक्षक बिमारी हुँदा सबै खर्चको जिम्मा लिनु पथ्र्यो राज्यले, तर देखिएन कुनै वास्ता गरेको। 

एभरेष्ट म्याराथुनको तयारीका लागि लामो दौड दौडिनु पथ्र्यो। त्यो बेला माओबादी द्वन्द्व चर्किरहेको थियो। ठाउँठाउँमा कतै बम पड्केको हुन्थ्यो त कतै आर्मीले घेरेको हुन्थ्यो। दुबै पक्षले सुझाव दिन्थे –‘तपाई यसरी बिना ड्रेस न दौडिनू। टाढा नजानू।’ दुबै पक्षले चिनेको त थियो तर पनि डर थियो नयाँ आउनेहरु सबैले सुरुमै चिनेका हुन्नथे। 

जीवनमा कतै तिता त कतै भावुक तुल्याउने खालका अनुभव बटुले उनले। जुम्ला रारा म्याराथुनका लागि प्रदेश सरकारसँग सहयोग माग्न जादा सचिवले भनिदिएछन् –‘स्पोटर्समा पनि लगानी गर्ने हो। मान्छेलाई खानलाउन पुगेको छैन। स्पोटर्समा लगानी गरेर के काम।’ कुनै राजनीतिक दलको सदस्यता नलिएका, विशुद्ध खेलाडी, प्रशिक्षक बनेर हिँडेका रोकायालाई सचिवको उक्त भनाइले खिन्न नतुल्याएको हैन तथापि थिएन उनले राज्यको मात्रै मुख ताक्नु। थाहा थियो यो देश कसरी चलेको छ भन्ने पनि। उनी तल्लिन नै छन् आफ्नो कर्तव्य पथमा। उक्त म्याथुनमा भाग लिन बेलायत, नेदरलैण्ड, इटली र अमेरिकाबाट एक एक जना र भारतबाट दुई जना खेलाडी आए। 

ब्यक्तिगत जिन्दगी नै बिताउनलाई त चारैबाटा खुला थिए उनका। विभिन्न देशबाट बोलाएकै थिए। मन परेको देशमा गएर प्रशिक्षण दिने थिए। कमाइ पनि राम्रै हुने थियो। तर, सकेनन् जुम्लाका डाँडालाई चटक्क छोडेर जान। कर्णालीका खेलाडीलाई टुहुरा जस्ता भएको हेर्न। यो देशको मायाले भित्रैबाट खिचेर ल्यायो उनलाई। र त सकेनन् देश छोडेर जान। 

उनका शिष्यहरुले सरोज शाहीको अध्यक्षतामा २०६४ सालमा कर्णाली स्पोटर्स क्लब दर्ता गराए र खेलकुद सम्बन्धी गतिविधि अगाडी बढाए। जहाँ सुरुदेखि नै निशुल्क प्रशिक्षण दिइरहेका मात्रै छैनन् उनी। यताउताबाट पैसा खोजेर क्लबलाई आर्थिक सहयोग समेत गरिरहेका छन्। 

ग्रीड इन्टरनेसनल नामक आइएनजिओले क्लबलाई सोलार मिल उपलब्ध गराएको छ। जहाँ हाल कुटानी पिसानीको काम चलिरहेछ। त्यसको कमाइ खेलाडीमा लगानी गरिदै छ। पूर्व खेलाडीहरु जो जागिरे जीवन बिताइरहेका छन् तिनले पनि दश बीस हजार सहयोग गरेका छन्। भविष्यमा खेलकुद एकेडेमी खोल्ने सोच बनाएका रोकायाले एकेडेमीका लागि आफूले जमिन उपलब्ध गराउने घोषणा समेत गरिसकेका छन्। 

 बाटोमा दौडिराखेको देखेर कतिले सोध्ने गर्थे – ‘ए बाबु ! त्यसरी किन दौडेको ? के भयो कतै झगडा त परेन ?’ उनी कहिले ‘केही हैन’ भन्दै त कहिले बोल्दै नबोली दौडिरहन्थे। जुम्ला भन्ने बित्तिकै मान्छेले कुन अन्टकार हो भन्ने ठान्थे। तर, पछिल्लो समय वर्षेनी आइरहेका छन् विदेशीहरु समेत त्यही जुम्लामा तिनै हरिबहादुकोमा तालिम लिन। 

सुरुसुरुमा उनले वाइरिङ, मिस्त्री, पलम्बर, रंग लगाउने सबै प्रकारका काम गरेर कमाएको पैसाले खेलडीलाई डाइट खुवाए। हाल आएर दस हजार वर्गमिटर क्षेत्रफल भएको गुठिको जमिन भाडामा लिएर सिमी, फापर, मुला गाँजर रोपिरहेका छन् र खेलाडीलाई डाइड खुवाइरहेका छन्। कहिले ४०/५० त कहिल्यै १०/२० जना खेलाडी आएकै हुन्छन् तालिम लिन। उनका शिष्यहरुले राम्रै गरिरहेका छन् पछिल्लो समय।

दुर्ग बुढा भारतमा छन् पोहर मात्रै मेडल जिते उनले। बिसुवा बुढा आर्मीमा राम्रै खेलाडीका रुपमा चिनिन्छन्। त्यस्तै पूर्णलक्ष्मी, सुनमाया,राममाया, मञ्जु, कालीबहादुर, राजन रोकायालगायत थुप्रै छन् राम्रो सम्भावना बोकेका खेलाडीहरु। अचेल आर्मीले हरिबहादुरका चेलाहरुलाई खोजीखोजी भर्ना लिन्छ। उनी सुनाउछन् – ‘नेपालले (काठमाडौंले) त कर्णालीलाई सधै हेपेकै हो। स्थानीय सरकार र प्रदेश सरकारले समेत वास्ता नगर्दा उनलाई दुःख लाग्छ। तथापि हरिबहादुरका शिष्य भन्ने सुन्दा आर्मीमा जागिर खान सजिलै पाइरहेका छन्। खेलाडीले त्यता गएर नि खेललाई निरन्तरता दिन सक्छन्।’  

 कैयौ अविष्मरणीय घटनाहरु सजाएर राखेका छन् सम्झनामा। जो प्रिय बनेर बसेका छन् स्मृतिपटलमा।  कर्णालीमा पहिलो पटक मेडल भित्र्याउने उनै हुन्। २७ वर्ष सक्रिय भएर खेल क्षेत्रमा बिताएका ५९ वर्षीया रोकायाका लागि ज्यान जत्तिकै प्यारो छ खेल। अनि खेल जत्तिकै प्यारो छ जुम्ला। त्यसैलै त उनी सुनउछन– ‘अन्तिम सास रहुन्जेल जुम्लामै बस्ने मन छ।’

प्रकाशित मिति: : 2020-10-29 14:31:00

प्रतिकृया दिनुहोस्