बिहारमा समाप्त भयो ‘बिहारी बाबु’ को करिश्मा

बिहार चुनाव–३

कुनै बेला थियो, उनी बिहार राजनीतिका धुरन्धर खेलाडी मानिन्थे। हिन्दी सिनेमा बलिउडमा सबैलाई ‘खामोस’ गराएपछि राजनीतिमा होम्मिएका ‘बिहारी बाबु’ अर्थात सत्रुघन सिन्हा बिहार चुनावको मतगणना सार्वजनिक भइरहँदा आफै ‘खामोस’ भएका छन्। अर्थात ९० र २००० को दशकमा बिहार राजनीतिमा उनको जुन चमक थियो, त्यो समाप्त भएको छ। 

सन् २००३ मा भारतीय जनता पार्टी (भाजपा) का पहिलो प्रधानमन्त्री अटलबिहारी बाजपेयीको कार्यकालमा पहिले स्वास्थ्य मन्त्री र त्यसपछि संस्कृति मन्त्रालयको कार्यभार सम्हालेका सत्रुघन सिन्हा कुनै बेला बिहारमा भाजपाको अनुहार मानिन्थे।

तर, भारतीय राजनीतिमा नरेन्द्र मोदीको उदयसँगै बिहारमा सत्रुघन सिन्हालाई ग्रहण लागेको छ। मोदीको पहिलो कार्यकालमा आफूलाई मन्त्री नबनाएको निहुँमा भाजपाको आलोचना गर्दै हिँडेका सत्रुघनलाई पार्टीले जिम्मेवारीबाट निकालेको थियो। 

यही निहुँमा उनले बिहारमा ‘जंगलराज’ लाई बढावा दिने लालुप्रसाद यादवको तारिफ गरेका थिए। पछि उनी आफ्नो पुरानै पार्टी कांग्रेसमा फर्किए। 

कुनै बेला पटना साहेबबाट चुनावी मैदानमा उत्रिँदा सत्रुघनको भाषण सुन्नेको भिड लाग्थ्यो। उनी बिहार चुनावको स्टार प्रचारक पनि थिए। तर, उनको करिश्मा मोदीसँगको टकरावपछि  छिन्नभिन्न भएको छ। 

सन् २०१९ को लोकसभा निर्वाचनमा बिजेपीले टिकट नदिएपछि उनी बागी उम्मेदवारको रूपमा कांग्रेस पार्टीबाट मैदानमा उत्रिएका थिए। बिजेपीका अर्का दिग्गज नेता रविशंकर प्रसादविरूद्ध आफ्नो परम्परागत पटना साहेब सिटबाट उठेका सत्रुघन पराजित हुन पुगेका थिए। 

उनी गत वर्ष आफूमात्र मैदानमा उत्रिएका थिएनन, श्रीमती पुनम सिन्हालाई पनि वर्तमान रक्षा मन्त्री राजनाथ सिंहविरूद्ध मैदानमा उतारेका थिए। तर, उनी ३ लाखभन्दा बढी मतले पराजित भइन्। पुनम समाजवादी पार्टीको उम्मेदवारको रूपमा लखनउ सिटबाट उठेकी थिइन। 

यो दुईवटा नराम्रो धक्कापछि हाल बिहारमा सम्पन्न विधानसभा चुनावमा पनि छोरा लव सिन्हालाई मैदानमा उतारेका थिए। उनलाई बिजेपीका नितिन नवीनले नराम्रोसँग पराजित गरेका छन्। 

बांकीपुर सिटबाट मैदानमा उत्रिएका लवलाई ४० प्रतिशत भोटले नितिन नवीनले पराजित गरेका हुन्। ४० वर्षको उमेरमा चौथो पल्ट विधायक बनेका नितिनले ६५ दशमलव १० प्रतिशत भोट ल्याएका छन्। जबकी लवको खातामा २५ दशमलव ४४ प्रतिशत मत मात्र छ। यसले बिहारमा सत्रुघनको प्रभाव कम हुँदै गरेको देखाएको छ।

प्रकाशित मिति: : 2020-11-11 09:16:00

प्रतिकृया दिनुहोस्