झिलिमिली बत्तीकाे आयात बढ्याे, मूल्य घट्याे (भिडियाेसहित)

कोरोना कहरले थलिएको चिनियाँ सामानको थोक व्यापार केन्द्र, महाबौद्ध क्षेत्र बिस्तारै तङ्ग्रिँदै गएको छ। तिहारको पूर्वसन्ध्यामा व्यावसायीहरुले यो बजारलाई दुलहीझैँ सिँगारेका छन्। 

मध्य दिनको उज्यालोमा पनि पसलका बत्ती निभ्न छाडेका छन्। दिउँसैदेखि झिलिमिली बत्ती बलिरहेका पसल साँझ पर्दै दृश्य रमणीय देखिँदै जान्छ। तिहारमा सबैभन्दा बढी बिक्ने भए पनि झिलिमिली बत्ती नेपालमा बन्दैन।

छिमेकी देशहरु भारत, चीन मात्र होइन, भियतनाम, मंगोलियासहितका देशबाट पनि आयात हुने गरेको छ।

‘झिलिमलि बत्तीमध्ये ९० प्रतिशत बजार चीनबाट आयात हुनेले धान्ने गरेको छ’, नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका उपाध्यक्ष रेशमप्रसाद देवकोटाले बिएल नेपाली सेवालाई बताए। 

देवकोटाका अनुसार, तिहारमा करिब ७० देखि ८० करोड रुपैयाँबराबरको झिलिमिली बत्ती नेपाल आयात हुने गर्छ। लोडसेडिङको समस्या हटेपछि यसको माग अझै उच्च भएको उनले बताए।

‘यतिकै व्यापार हुन्छ भन्ने निश्चित त छैन तर नेपाली बजारमा यो वर्ष करिब एक अर्ब रुपैयाँभन्दा बढीको कारोवार हुने गरेको छ। यसमा पोहोर र परार नबिकेका स्टक झिलिमिलीहरु पनि यो वर्ष बिक्री हुन्छ,’ उनले भने। 

झिलिमिली बत्तीको व्यापारलाई ‘रिस्की बिजनेस’ पनि भन्ने गरिन्छ। यस्ता बत्तीहरु टुटफूट हुन सक्ने र तिहारमा मात्र प्रयोग हुने भएकोले त्यसअगावै बेचिसक्नुपर्ने हुन्छ। बाँकी रहेको बत्ती गोदाममा थनकाएर अर्को वर्ष बजारमा निकाल्ने गरिन्छ। 

गत वर्ष तिहारमा ६० करोड बराबरको झिलिमिली बत्ती आयात गरिएको थियो। त्यस समयमा भने व्यापारीले २० प्रतिशतले मूल्य बढाएका थिए। ‘पोहोर माग उच्च भएका कारण केही मूल्य बढ्न गएको थियो,’ उनले भने, ‘तर यसपाली भने केही मात्रामा बढाएर सामान भित्र्याउने कोशिश गरेका छौं।’ 

तिहारलाई लक्ष्यित गरी व्यवसायीले झण्डै २–३ महिना अघिदेखि नै झिलिमिली बत्ती ल्याउने प्रक्रिया थालेका थिए। तर लकडाउनले गर्दा अझै केही झिलीमिली आउनेक्रममा रहेको उपाध्यक्ष देवकोटा बताउछन्।

‘यसपालि लकडाउनले गर्दा सामान भित्रिन सकेको छैन। केही कन्टेनर भन्सारमै छन्। जाँचपास भएपछि नेपाल प्रवेश गर्छन्,’ उनले भने। 

कस्तो छ बजार? 

बजारमा फरक–फरक खालका झिलिमिली बत्तीहरु पाइने गरेको छ। न्युनतम प्रतिगोटा ५० रुपैयाँदेखि १५–२० हजार रुपैयाँसम्म पर्ने बत्ती बिक्री हुने गरेको बताउँछन्, महाबौद्धका व्यापारी राधेश्याम यादव। 

प्रायः बल्ने–निभ्ने गुण हुने भएकाले यस्ता बत्तीमा उपभोक्ताले घर, बगैँचा, कार्यालय, बिजनेस मललगायतको सजावट गर्न यसको अत्यधिक प्रयोग गर्छन्। 

पछिल्लो समयमा विभिन्न मूल्यका डिस्को तथा रोटर लाइटहरु पनि तिहारका लागि प्रयोग हुन थालेका छन्। 

यस्तै देवी–देवताका फोटोमा जोडिएको बत्तीको बिक्री पनि यो समयमा धेरै हुन्छ। इलेक्ट्रिक दियोवाला बत्ती पनि आउन थालेका छन्। एकपटक यस्ता बत्ती किनिसकेपछि अर्को वर्ष पनि प्रयोग गर्न सकिन्छ। 

सुरक्षित तवरले यसलाई राख्ने हो भने धेरै वर्षसम्म प्रयोगमा ल्याउन सकिन्छ। ‘पहिले बल्बवाला बत्ती आउँथे, अहिले एलइडी बल्बवाला बत्ती आउने गरेको छ। यो किफायती हुँदा एक वर्षमै बिग्रने समस्या हुन्न, त्यसैले झिकेर सुरक्षित राखेपछि अर्काे वर्ष पनि त्यही प्रयोग गर्न सकिन्छ,’ उनले भने। 

गत वर्षको तुलनामा यसपालि बत्तीको मूल्य भने घटेको यादव बताउँछन्। ‘लकडाउनले गर्दा बजारमा केही असर परेको छ। तुलनात्मक रुपमा कम बिक्री भएका कारण लक्ष्य अनरुप आम्दानी गर्न सकिएको छैन,’ उनले भने। 

बजारमा बत्तीको प्रकार, तारको लम्बाइ, गुणस्तर, विशेषता, उपलब्धता आदीको आधारमा मूल्य फरक फरक पाइन्छ। 

‘यसपटक धेरै नाफा नराख्ने सोचमा छु। पोहोरको सामान पनि स्टक छ। त्यसैले मूल्य कम गरेर बिक्री गर्नेछु,’ उनले भने।

तस्वीर/भिडियाे: शनि शाक्य/ बिएल नेपाली सेवा

प्रकाशित मिति: : 2020-11-12 08:37:00

प्रतिकृया दिनुहोस्