बिहारमा निर्विकल्प नितिश!

तस्वीर: नितिश कुमार
तस्वीर: नितिश कुमार

नेपालसँग सीमा जोडिएको बिहार राज्यको मुख्यमन्त्री पदलाई लिएर थुप्रै अड्कलबाजी भएको थियो। धेरै राजनीतिक पण्डितहरूले नितिश कुमारको यो अन्तिम चुनाव हुने बताएका थिए। चुनावी अभियानमा राष्ट्रिय जनता दल (आरजेडी) का नेता तथा पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वीको सभामा देखिएको भिडका कारण नितिशको यसपालि ‘डब्बा गोल’ हुनेसम्मको अनुमान लगाइएको थियो। 

तर, यी सबै अनुमानका बीच नितिशले आफ्नो साख जोगाएका छन्। पछिल्लो चुनावको तुलनामा उनको पार्टी जनता दल युनाइटेड (जदयु) लाई २८ सिटको घाटा लागेको छ। तर, उनले राज्यमा आफ्नो भूमिकालाई कम हुन दिएका छैनन्। 

उनको तुलनामा भारतीय जनता पार्टी (भाजपा) ले २१ सिट बढी जितेको छ। अर्थात यसपालि भाजपाले ७४ सिट प्राप्त गर्‍यो भने नितिशको पोल्टामा ४३ सिट पर्‍यो। यी दुबै अंक गणितका बीच नेशनल डेमोक्रेटिक एलाइन्स अर्थात एनडीएले १ सय २५ को स्पष्ट बहुमत प्राप्त गरेको छ। बिहार विधान सभामा सरकार बनाउन कुनै पनि पार्टीलाई १ सय २२ को स्पष्ट तथ्यांक आवश्यक पर्ने गर्छ। यो हेर्दा एनडीएले बहुमतभन्दा पनि बढी मत प्राप्त गरेको छ। 

नितिशको खस्किएको मत र भाजपाको बढेको सिटका बीच राज्यमा पुरानै अवस्था कायम रहला भन्ने आशंका पनि विभिन्न कोणबाट नभएका होइनन्। 

तर, प्रधानमन्त्री तथा भाजपा नेता नरेन्द्र मोदीले बुधबार मात्र यो कुरा स्पष्ट पारेका छन्–बिहारमा पुनः एकपल्ट नितिशकै नेतृत्वमा सरकार बन्ने छ। अर्थात नितिश कुमार बिहारमा सातौं पल्ट मुख्यमन्त्री बन्दै छन्। यसको अर्थ उनी भारतीय राजनीतिमा सात पल्ट मुख्यमन्त्री बन्ने इतिहास रच्दैछन्। 

बिहार चुनावको नतिजा सार्वजनिक भएपछि बुधबार प्रधानमन्त्री मोदी राजधानी दिल्लीस्थित भाजपा मुख्यालयमा पुगेका थिए। उनले त्यहीबाट घोषणा गरे, ‘हामी भाजपाका कार्यकर्ता एकपल्ट फेरि नितिश कुमारको नेतृत्वमा सरकार बनाउन संकल्प गर्छो।’

भारतीय प्रधानमन्त्रीको यो भनाई सार्वजनिक भएपछि नितिशले ट्वीट गर्दै प्रधानमन्त्री मोदीलाई धन्यबाद भन्न भ्याएका छन्। 
नितिश तिनै राजनीतिज्ञ हुन्, जसले २०१४ मा मोदी प्रधानमन्त्रीको उम्मेदवार हुँदा एनडीएमा समावेश हुन अस्विकार गरेका थिए। सन् २०१५ को बिहार चुनावमा पनि लालु यादवको पार्टीसँग सहकार्य गर्दै चुनाव लडेका थिए। तर, पछि उनी मोदीको विकासको एजेन्डामा पुनः एनडीएमा समावेश भए। 

बिहारी राजनीतिका चतुर खेलाडी मानिने नितिशको पछिल्लो समय बिग्रदो स्वास्थ्य समस्यालाई लिएर धेरै अड्कलबाजी चलेको थियो। उनले आफ्नो उत्तराधिकारीको रूपमा भतिजालाई स्थापित गर्न लागेको भन्दै आलोचना पनि भएको थियो। 

तर, यी सबै अड्कलबाजीका बीच प्रधानमन्त्री मोदीले नितिश नै बिहारको मुख्यमन्त्री बन्ने भनेर बिजेपीको लाइन स्पस्ट पारिसकेका छन्। 

चुनावभन्दा अगाडि एलजेपीका पूर्व मुखिया तथा दिंवगत रामविलास पासवानका छोरा चिरागले नितिशको नेतृत्वलाई आफूले नस्विकार्ने बताएका थिए। उनले आमसभामा पनि नितिशको आलोचना गरेका थिए। चिराग एनडीएकै एक घटक हुन भने उनको यूटर्नलाई लिएर धेरैले बिजेपीले नै उनीमार्फत नितिशको आलोचना गर्न लगाएको आरोप लगाएका थिए। 

उनको अभियानले नितिशको दलको मत काट्न र बिजेपीलाई फाइदा पुर्‍याएको विश्लेषण गर्नेहरूको पनि कमि छैन। तर, राज्यमा नितिश नै मुख्यमन्त्री बन्ने मोदीको भनाईले यी सबै अनुमानलाई यतिबेला गलत सावित गरेको छ। 

राजनीतिको अंकगणित सधैं एकै ठाउँमा अडिदैन्। समीकरण फेरबदल भइरहन्छ। भविस्यमा बिजेपी र राजदको गन्तब्य अलग हुनसक्ला। तर, तत्कालका लागि यो सम्भव नभएको चुनावको परिणामले बताएको छ। त्यसैले अग्रीम शुभकामना नितिशलाई!

प्रकाशित मिति: : 2020-11-12 10:16:00

प्रतिकृया दिनुहोस्