मेरो राजनीतिक प्रस्ताव पार्टीको नाममा छापेर पठाउनु गल्ती भयो: प्रचण्ड

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई आरोपहरु लगाउँदै सचिवालय बैठकमा वितरण गरेको १९ पृष्ठको दस्तावेज केन्द्रीय कार्यालयबाट छापेर वितरण गरेकोमा गल्ती भएको स्वीकार गरेका छन् । नेकपा सचिवालयको शनिवारको बैठकमा उनले गल्ती भएको बताएका हुन् । 

नेकपा सचिवालयको शनिवारको बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओलीले प्रचण्डले राजनीतिक प्रस्तावको नाममा ‘अराजनीतिक आरोपपत्र’ मा पार्टीको लोगो प्रयोग गरी छापेकोमा आपत्ति जनाएका थिए । ओलीले प्रचण्डलाई भनेका थिए, ‘अराजनीतिक प्रस्ताव वितरणमा रोक लगाउनुपर्छ, त्यसमा सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्छ । त्यो पार्टीमा छलफलको विषय होइन, हुन सक्दैन ।’ 

नेकपा सचिवालय स्रोतका अनुसार, त्यसको जवाफ दिँदै प्रचण्डले भने, ‘केन्द्रीय कार्यालयका तर्फबाट पार्टीको लोगो प्रयोग गरी प्रकाशित गर्नु त्रुटी भयो । देशभरिका साथीहरुबाट त्यसको माग भयो, मैले सचिवालयलाई प्रकाशित गर्न भनेँ । त्यसो गर्ने निर्णय भएको थिएन, त्रुटी भयो। ’

प्रचण्डले मंसिर ३ गतेको बैठकमा केन्द्रीय सचिवालय सदस्यहरुलाई वितरण गरेको उक्त ‘राजनीतिक प्रस्ताव’ लाई सोही बैठकमा ओली अस्वीकार गरेका थिए । ओली समूहले ‘अराजनीतिक आरोपपत्र’ भन्दै आएको उक्त दस्तावेजलाई नेकपा ‘नेकपा केन्द्रीय कार्यालय’ को नाममा वितरण गरिएको थियो ।

ओली पक्षले प्रचण्डले पार्टी विभाजनको तयारी गरेको, अराजकता देखाएकाले कारवाहीको विषय समेत रहेको बताएको थियो ।

प्रकाशित मिति: : 2020-12-05 21:19:00

प्रतिकृया दिनुहोस्