युगान्डाको राष्ट्रपतिमा योवेरी मुसेभेनी पुनः निर्वाचित

युगान्डाको राष्ट्रपतिमा योवेरी मुसेभेनी पुनः निर्वाचित भएका छन्।

शनिबार निर्वाचन परिणाम सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा मुसभेनी पुनः निर्वाचित भएको घोषणा गरिएको थियो।

निर्वाचन आयोगका अध्यक्ष तथा न्यायाधीश साइमन ब्याबाकामाले जनवरी १४ मा सम्पन्न निर्वाचन परिणाम अनुसार मुसेभेनीले खसेको कूल मतसङ्ख्याको ५८.६४ प्रतिशत मत प्राप्त गरेर विजयी भएका हुन्। 

नयाँ कार्यकालका लागि निर्वाचित मुसेभेनीको निकटतम प्रतिद्वन्द्वी बोबी वाइन भनिने रोबर्ट क्यागुल्यानीले ३४.८३ प्रतिशत मत पाएका छन्।

राष्ट्रपतिको तेस्रो स्थानमा प्रजातान्त्रिक परिवर्तन पार्टीका नेता तथा विपक्षी नेता प्याट्रिक अमुरियटले जम्मा ३.२४ प्रतिशत मत प्राप्त गरेका आयोगले जनाएको छ।

सन् १९८६ देखि युगाण्डाको सत्तामा रहँदैआएका म्यूसेभेनीको जीतले उनको शासनलाई अर्को पाँच बर्षका लागि वैधानिकता दिएको छ।

उनलाई भ्रष्ट्रचारी विराेधी पनि भनिन्छ। भ्रष्टाचारविरुद्धको अभियानको सुरुआत सन् २०१८ को डिसेम्बर १० तारिखका दिन राष्ट्रपति मुसेभेनीले नै गरेका थिए। अभियानअन्तर्गत सर्वसाधारण र सरकारी अधिकारीहरूलाई भ्रष्टाचार गर्न निरुत्साहित गर्ने विभिन्न कार्यक्रमहरू गरिएको अधिकारीहरूले जनाएका छन्।   

उनीहरूका अनुसार यस अवधिमा ५८ हजार ४१५ वटा उजुरी परेका थिए भने ८ हजार २२ वटा उजुरीको सम्बोधन गरिएको छ।  कम्तीमा १११ जनालाई अदालतले दोषी ठहर गर्दै कारबाहीका लागि आदेश दिएको अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति: : 2021-01-16 21:38:00

प्रतिकृया दिनुहोस्