एपीएफको बढुवामा ‘भ्याकुम’ : माथि मापदण्ड नपुग्दा कामुलाई जिम्मा, तलका १५ वर्ष उही पदमा

लोकान्तर

काठमाडाै‌ं

हमन्त्रालयले गएको पुस २४ गते ९ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई कायममुकायम प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीमा बढुवा गर्ने निर्णय गर्‍यो । सशस्त्र प्रहरी नियमवाली–२०७२ अनुसार योग्यता नपुगेको भन्दै ती एसपीलाई कामु एसएसपीमा बढुवा गरिएको थियो । 

बढुवा हुनेमा रेशमकुमार थक्सु, प्रेमध्वज शाह, गाहारधन राई, सोमबहादुर गुरुङ, सुरेशकुमार श्रेष्ठ, दीपेन्द्र शाह, दीपक अधिकारी, पुरुषोत्तम थापा र अञ्जनीकुमार पोखरेल छन् । यो सूचीमा पहिलो बेसिकमा भर्ना भएका इन्स्पेक्टरहरू पनि छन् । 

नियमावलीअनुसार माथिल्लो तहमा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तहभन्दा एक श्रेणी वा तहमुनिको पदमा ४ वर्ष सेवा अवधि पूरा गरेको हुनुपर्छ । अर्थात् एसएसपी बन्न एसपीका रूपमा ४ वर्ष सेवा गरेको हुनुपर्छ । 

गत महिना कामु एसएसपीमा बढुवा भएकाहरूले यो मापदण्ड पूरा गर्न अझै १५ महिना पर्खिनुपर्ने हुन्छ । अझै रोचक कुरा त के भने उक्त लटमा बढुवा भएका ३ एसएसपीले बढुवा भएको ३ दिनमै ३० वर्षे सेवाअवधिका कारण अवकाश पाएका छन् ।

यसरी अवकाश पाउनेमा कामु एसएसपी सोमबहादुर गुरुङ, गाहारधन राई र प्रेमध्वज शाह छन् ।

सशस्त्र प्रहरीमा माथिल्लो पदहरूमा बढुवा गर्न मापदण्ड नै नपुग्ने गरी किन यसरी भ्याकुम क्रिएट भयो त ? त्यसको कारण हो, २०६२ फागुनमा भर्ना भएका एक सयभन्दा धेरै सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरू १५ वर्ष पुग्दा पनि बढुवा भएका छैनन् ।

एफपीमा माथिल्लो तहमा योग्य उम्मेदवार नहुनु र तलका कर्मचारीहरू लामो समयदेखि एउटै तह थन्किनुले कार्यसम्पादन र व्यवसायिक वृत्तिमा असर परेको छ । 

एपीएफका प्रवक्ता डीआईजी राजु अर्यालले माथिल्लो तहमा पद रिक्त नभएका कारण बढुवा हुन नसकेको बताउँछन् ।

‘माथिल्लो तहमा खाली नभएका कारण बढुवा नभएको हो । माथि खाली हुनासाथ उहाँहरूको बढुवा हुन्छ,’ डीआईजी अर्यालले लोकान्तरसँग भने ।

प्रकाशित मिति: : 2021-01-29 17:00:00

प्रतिकृया दिनुहोस्