पशुपति राममन्दिरमा पुरातात्विक महत्वको आधुनिक भवन निर्माण

बिएल संवाददाता

काठमाडाै‌ं
नेपालपत्र

विसं २०४४ देखि नित्य अखण्ड महायज्ञ र रुद्राभिषेक भइरहेको पशुपति राममन्दिरमा पुरातात्विक महत्वको आधुनिक भवन निर्माण भइरहेको छ।

पुरातात्विक महत्वको आधुनिक भवनमा १७ कोठा, एउटा ठूलो र एउटा मिनी हल निर्माण अन्तिमचरणमा पुगेको भागवतानन्द आश्रमका आचार्य दुर्गाप्रसाद पौडेलले राससलाई जानकारी दिए। भागवतानन्द सन्यास आश्रम एवं गुरुकुलका पीठाधीश भागवतानन्द गिरीका चेलाको रु सात करोड सहयोगमा प्राचीनशैलीको भवन निर्माण अन्तिम चरणमा पुगेको हो। 

आश्रममा गाई, ब्राह्मण, अतिथि र दरिद्र नारायणको समेत सेवा हुने गरेको छ। भवन निर्माण सम्पन्न भएपछि १०० ब्राह्मण वटुकलाई राखी नित्य अखण्ड महायज्ञ, हवन र रुद्राभिषेक गरिने छ। हाल भवन निर्माण भइरहेकाले ३० ब्राह्मणले यज्ञ गरिरहेका छन्।

निर्माण शुरु हुनुअघि ७५ ब्राह्मणले यज्ञ गर्ने गरेका थिए। विसं २०४२ मा पशुपति क्षेत्रमा यज्ञ गर्ने ब्राह्मणको अभाव नहोस् भनी गुरुकुलीय पद्दतिमा अध्यापन हुने गरी यो आश्रम स्थापना गरिएको हो। आश्रम स्थापनाका लागि पशुपतिनाथका तत्कालीन मूलभट्टले स्थान दिएको आचार्य पौडेलले बताए। कोष स्थापना हुनुअघि पशुपतिनाथका मूल अर्चकले राममन्दिर क्षेत्रको करीब १० रोपनी जग्गा विसं २०४० मा आश्रमलाई भोग गर्न दिएको जनाइएको छ।

त्यहाँ बनेको पुराना संरचनामै एक तला उठाएर आधुनिक भवन बनाइएको स्वामी भागवतानन्दका उत्तराधिकारी स्वामी ध्रुवश्रीले जानकारी दिए। पशुपति क्षेत्र विकास कोषको स्वीकृति र पुरातत्व विभागको अनुमति लिएर भवन बनाइएको हो। भारतवर्षका विभिन्न स्थानबाट आउने सन्तलाई राख्नसमेत उपयोग होस् भन्ने उद्देश्यले भवन बनाइएको हो।

पशुपति क्षेत्रमा नित्य वेदध्वनि गुञ्जायमान होस् भन्ने उद्देश्यले स्वामी भागवतानन्द गिरीले २०४२ देखि नै आश्रमसँगै गुरुकुल पनि सञ्चालनमा ल्याउनुभएको हो । भवन निर्माण सम्पन्न भएपछि आश्रम एवं गुरुकुल सञ्चालनका लागि स्थान अभाव नहुने आश्रमले जनाएको छ। नयाँ भवनको बाहिरी काम सकी भित्री साजसजावटको काम भइरहेको छ। 

स्वामी भागवतानन्द गिरीकै सक्रियतामा उमाकुण्डमा पनि विसं २०१६ देखि अखण्ड यज्ञ सञ्चालन भइरहेको छ। उमाकुण्डमा भने ११ जना ब्राह्मणले नित्य यज्ञ चलाउने गरेको आश्रमले जनाएको छ। रासस
 

प्रकाशित मिति: : 2021-02-03 15:38:00

प्रतिकृया दिनुहोस्