नेपाल टेलिकमको १७ औं वार्षिकोत्सव सम्पन्न 

नेपाल टेलिकमको १७ औं वार्षिकोत्सव आज सम्पन्न भएको छ।

नेपाल टेलिकमले हाल फाइबर टु दी होम (एफटिटिएच), जीएसएम मोबाइल सेवा, सीडिएमए मोबाइल सेवा, ल्याण्डलाइन, वाईम्याक्स लगायतका सेवाहरु प्रदान गर्दैं आएको छ। 

१७ वर्ष अघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिव ४ लाख २२ हजार रहेको थियो तर अहिले कम्पनीको ग्राहक आधार २ करोड ९ लाख नाघिसकेको बताइएको छ। हालसम्म मुलुकमा नेपाल टेलिकमको सेवा करिव ७० प्रतिशत पुगिसकेको छ। 

७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित फोर्जी मोबाइल र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइवरमा सेवा पुर्याउन सफल भएको छ। 

उक्त वार्षिकोत्सवमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्ध डिल्ली राम अधिकारीले एक शताव्दि भन्दा लामो गौरवशाली इतिहासमा सेवा सञ्चालनमा सहयोग गरेका नेपाल सरकारका निकायहरु, नियामक निकाय, कम्पनीका ग्राहकवर्ग,शेयरधनीलगायत कम्पनीका कर्मचारीलाई धन्यवाद दिएका छन्।

'आगामी दिनहरुमा पनि यस्तै सहयोग गर्नुहुन्छ भन्ने आशा राखेको छु' उनले भने। मुलुकभर कोरोनाको महामारी रहँदासमेत ग्राहकलाई सेवा दिनमा पछि नपरेको उनको भनाइ छ।

वार्षिकोत्सवका अवसरमा मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्ने गरी आकर्षक सुविधा सहित फोरजी वायरलेस होम ब्रोडव्याण्ड सर्भिस र मेसिन टु मेसिन डाटा र एसएमएस प्याक सेवाको शुरुवात गरेको छ। 

एफटीटीएच वा तारवाला टेलिफोन नपुगेका वा वाईफाई सेवा उपलब्ध नभएका तर वायरलेस माध्यमबाट धेरै डाटा चलाउने मुलुकभरका फोरजी ग्राहकहरुले  प्रयोग गरी सुलार्भ दरमा फोरजी वायरलेस होम ब्रोडव्याण्ड सेवाबाट इन्टरनेट प्रयोग गर्न पनि सकिनेछ।

 उक्त सेवा प्रति महिना रु. ९ सयमा ६० जिबी, रु. १५ सयमा १२० जिबी र वार्षिक रु. ९,६०० सयमा ७२० जिबी र रु. १६,००० मा १,४४० जिबी उपलब्ध हुनेछ। सो वार्षिकोत्सवमा सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री पार्वत गुरुङकोसमेत उपस्थिति रहेको थियो। 

 


 

प्रकाशित मिति: : 2021-02-04 18:38:00

प्रतिकृया दिनुहोस्