टिग्रे सैन्य अप्रेसन किन आवश्यक थियो ?

अवी एहमद

इथियोपियाको संघीय सरकारले सैन्य अप्रेसनमार्फत टिग्रे क्षेत्रलाई टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टिपिएलएफ)को शासनबाट मुक्त गरेको छ । यसले इथियोपियाको भविष्य र हर्न अफ अफ्रिकामा उसको भूमिकालाई लिएर नयाँ आशा र आशंकाहरू उत्पन्न गराएको छ । भ्रष्ट र तानाशाही प्रवृत्तिको टिपिएलएफको स्थायी निष्कासनपछि आशा बढेको छ । यो दल हर्न अफ अफ्रिका क्षेत्रका राज्यबीचको द्वन्द्वको जड थियो । यसमाथि विजय हासिल हुनु आफैँमा सकारात्मक कुरा हो ।

तर, टिपिएलएफको निष्कासनले अन्तर्राष्ट्रिय समुदायमा असहजता बढाएको तथ्य पनि म नकार्न सक्दिनँ । टिग्रे क्षेत्रमा सञ्चालन भएको अप्रेसनमा जातीय विभेद भएको र अझै मानवीय सहायतामा अवरोध पुर्‍याइएको जस्ता चासो कायम छ । त्यसैले म इथियोपियाको प्रधानमन्त्रीको रूपमा मेरो सरकारले टिग्रे क्षेत्रमा किन सैन्य कारबाही गर्नुपर्‍यो भन्ने स्पष्ट पार्ने प्रयास गर्दै छु । त्यसअतिरिक्त म पीडितको सहायताका लागि भएका प्रयासबारे पनि बताउनेछु । मेरो सरकारले उठाएको कदमले टिग्रे क्षेत्रलगायत सम्पूर्ण इथियोपिया मात्र होइन, ग्रेटर हर्न क्षेत्रलाई सहयोग पुर्‍याउने हाम्रो बुझाइ छ । 

अघिल्लो शिशिरमा टिपिएलएफले कैयन् सेना र निर्दोष नागरिकलाई एम्बुसमा पारेपछि पछिल्लो विवाद सुरु भएको थियो । एम्बुसमा दर्जनौँको ज्यान गयो । कुनै सरकारका लागि यस्तो हिंसा सह्य हुँदैन । प्रधानमन्त्री र राष्ट्रिय फौजको कमान्डर इनचिफको रूपमा मेरो प्राथमिक कर्तव्य इथियोपिया र यसका जनतालाई आन्तरिक तथा बाह्य शत्रुबाट बचाउनु हुनेछ । र, त्यही कर्तव्यलाई ध्यानमा राखेर टिग्रेमा शीघ्र शान्ति व्यवस्था पुनर्बहाली गर्न मेरो सरकारले सैन्य कारबाहीको योजना बनाएको थियो । यसमा हामी सफल भएका छौँ, तर हाम्रो सक्दो प्रयासका बाबजुद कैयौँ हताहती भएको छ । अझै धेरै टिग्रेवासीले विभिन्न समस्या भोगिरहेका छन् । धेरैको चासो पनि यसैमा छ । मेरो आगामी प्राथमिकता टिग्रे क्षेत्र र सम्पूर्ण देशको समस्या अन्त्य गर्नेमा केन्द्रित हुनेछ । मैले यसका लागि संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय सहायता एजेन्सीलाई मेरो सरकारसँग सहकार्य गर्न आह्वान गरेको छु ।

प्रकाशित मिति: : 2021-02-09 11:56:00

प्रतिकृया दिनुहोस्