प्रदेश २: खेतीयोग्य जमिनको सिंचाईमा वृद्धि

विजय साह

जनकपुर

प्रदेश २ मा खेतीयोग्य जमिनमा सिंचाईको क्षेत्रफलमा वृद्धि भएको छ।

प्रदेश २ मा ५ हजार ४ सय ३० हेक्टर खेतीयोग्य जमिनमा सिंचाई वृद्धि भएको हो। 

प्रदेशको कृषि उत्पादन र उत्पादकत्व बढाएर किसानको जीवनस्तर उकास्न प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘हर खेत मे पानी, हर घर मे रोजगारी’ (हरेक खेतमा पानी, हरेक घरमा रोजगारी) कार्यक्रम अन्तर्गत यहाँको खेतीयोग्य जमिनमा सिंचाई वृद्धि गरेका हुन्।

प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले खेतीयोग्य जमिनमा सिंचाई सुविधा वृद्धि गर्न २ सय ४० वटा डीप ट्युबवेल र ३३ वटा पावरड्रिल निर्माण गरेको बताए। यस्तै १ सय ६५ वटा नहर मर्मत सम्भार गरी संचालनमा ल्याइएको छ।

प्रत्येक जिल्लामा २ वटा क्लस्टर सिंचाई अन्तर्गत पावर ड्रिल ट्यूबवेल निर्माण गरी प्रदेशका करिब १ हजार ६ सय हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा प्रदान गर्ने कार्यको थालनी समेत गरिएको उनले जनाए। यसैगरी करिब १ हजार ५ सय हेक्टर खेतीयोग्य जमिन नदी कटान र डुबानबाट संरक्षण गरिएको र २० वटा जोखिमयुक्त बस्ती संरक्षण गरिएको छ।

प्रदेश सरकार सिंचाई व्यवस्थापनको अल्पकालिन र दीर्घकालिन योजना बनाएको छ। दिर्घकालिन योजना अन्तर्गत कोशी कमला डाइभर्सन निर्माण गर्नु रहेको छ, डाइभर्सन निर्माणको काम प्राथमिकतामा राख्दै काम अगाडि बढाएको छ भने अल्पकालिन योजना अन्तर्गत डिप ट्युबवेल, स्यालो ट्युबवेल र पावरड्रिल निर्माण गर्नु रहेको छ।

कोशी–कमला डाइभर्सन निर्माण हुन सयम लाग्ने हुँदा अल्पकालिन योजना अन्तरर्गत डिप ट्युबवेल, स्यालो ट्युबवेल र पावरड्रिल निर्माण गरेर सिंचाई सुविधा उपलब्ध गराइएको मन्त्री साहले जनाए।

प्रदेश २ का ८९ प्रतिशत जनता कृषिमा निर्भर रहेको भएपनि  प्रदेश २ मा २७ प्रतिशत कृषि क्षेत्रमा मात्र सिचाई सुविधा पुगेको छ। 'प्रदेशको सम्पूर्ण खेतीयोग्य जमिनमा सिंचाई सुविधा पु-याउने लक्ष्य  रहेकाे मन्त्री साहले बताए। सवै खेतमा पानी नपुगेसम्म उत्पादन नबढने र उत्पादन नबढेसम्म रोजगारी सिर्जना नहुने भएकोले नै प्रदेश सरकारले ‘हर खेत मे पानी हर घरमे रोजगारी’ कार्यक्रम अन्तर्गत सिचाईको योजना ल्याइरहेको मन्त्री भनाइृ छ।

न्यून सिँचाइ सुबिधाका बाबजुद प्रदेश नं. २ ले ४०१.९०६ हेक्टरमा धान उत्पादन गरेको छ। यो सबै प्रदेशले उत्पादन गरेको धानको भन्दा धेरै हो।

मुलुकमा नै रहेका उर्भर भूमिलाई पूर्णसिञ्चित बनाउन सकियो भने कुनै पनि युवालाई खाडी मुलुकमा पसिना बगाउनुपर्ने बाध्यता रहँदैन। प्रदेश समृद्धिको बाटोमा लम्किरहेको छ। राज्यले वाषिर्क ५ लाख युवालाई रोजगारी दिने घोषणा गरेको छ। तर उचित रोजगारी सिर्जना हुन नसकिरहेको अवस्था छ। 'यस्तो अवस्थामा सरकारले कृषि रोजगारीलाई बढावा दिन सक्छ। अन्य सिपको अभाव भए पनि कृषि जनशक्तिले भरेको मुलुकले कृषि रोजगारी सिर्जना गर्नुको विकल्प छैन'- मन्त्री साहले भने।

सिंचाईमा वृद्धि भएपछि प्रदेशमा अन्नबाली र तरकारी बाली उत्पादनमा वृद्धि हुनेछ। प्रदेश नं. २ ले यस वर्ष एक लाख पाँच हजार ४४ टन धान उत्पादन गरेको थियो।

प्रकाशित मिति: : 2021-02-17 16:32:00

प्रतिकृया दिनुहोस्