बलिउडमा ३७० करोड कर छलीको मुद्धा 

आयकर विभागले हिन्दी फिल्ममा ३ सय ७० करोड रुपैयाँको कर छलीको मुद्धा बाहिर ल्याएको छ। बलिउड कलाकार तपसी पन्नु, निर्देशक अनुराग कश्यप, दुई वटा फिल्म प्रोडक्सन हाउस तथा ट्यालेन्ट मेनेजमेन्ट कम्पनीविरूद्ध लगातार दुई दिन मुम्बई र पूणेमा भएको छापामारीका क्रममा नयाँ तथ्य उजागर भएको हो। 

केन्द्रिय जाँच एजेन्सी (सीबीडीटी) ले बिहीबार दिएको जानकारी अनुसार शेयर ट्रान्जेक्सन र अन्डर भ्याल्यूएसन गरेर फर्जी खर्च देखाउँदै कर छली गरिएको छ। 

भारतीय समाचार अनुसार अभिनेत्री पन्नुको घरमा छापामारी हुँदा उनको घरबाट ५ करोड रुपैयाँको लेनदेनको रसिद प्राप्त भएको थियो। जसको छानवीन भइरहेको छ। यस्तै, अर्को प्रमुख प्रोडक्सन हाउसले आफ्नो कमाईभन्दा कम पैसा देखाएर ३ सय करोड रुपैयाँ छली गरेको बताइएको छ। यो हिसाबको विषयमा जानकारी माग गर्दा उसले कुनै हिसाब देखाउन सकेको छैन। 

आयकर विभागका पदाधिकारीले बिहीबार अनुराग र तपसीसँग पूणेको वेस्टिन होटलमा सोधपुछ पनि गरेको थियो। उनीहरूको घर र अफिसबाट ३ ल्यापटप र ४ कम्प्युटर जफत गरिएको बताइएको छ। दुबैको वाट्सऐप च्याट पनि अनुसन्धानमा समावेश गरिएको छ। 

यस्तै, ट्यालेन्ट मेनेजमेन्ट कम्पनी क्वानको ४ वटा अकाउन्ट फ्रिज गरिएको छ। विभिन्न व्यक्तिको ७ वटा बैक लकर्स प्रयोगमा पनि रोक लगाइएको छ। 

बुधबार मात्र आयकर विभागले पूर्ण र मुम्बईको लोखण्डवाला, अंधेरी, बान्द्रामा छापा हानेको थियो ३० ठाउँमा आयकर विभागले एकै पल्ट छापा हानेपछि हिन्दी फिल्म उद्योग नै अहिले चुपचाप छ।

प्रकाशित मिति: : 2021-03-05 10:10:00

प्रतिकृया दिनुहोस्