अन्तर वडा टेबलटेनिसलाई गंगादेवी वस्त्रालयको साथ

स्पिन इभेन्ट्स प्रालिको आयोजनामा हुने भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगितालाई गंगादेवी वस्त्रालयले सह–प्रायोजन गर्ने भएको छ।

त्यस सम्बन्धी सम्झौता पत्रमा स्पिनका अध्यक्ष सुमन शाक्य र वस्त्रालयका प्रोप्राइटर निम जोशीले आइतबार आयोजित पत्रकार सम्मेलनमा हस्ताक्षर गरे।

सम्झौताअनुसार वस्त्रालयले आयोजकलाई ५ लाख ८५ हजार रुपैयाँ उपलब्ध गराउने छ। कूल लागत १९ लाख ५० हजारमा वस्त्रालयले ३० प्रतिशत रकम उपलब्ध गराउन लागेको हो।

यसअघि आयोजकले मुख्य प्रायोजकका रुपमा भ्याली कन्स्ट्रकसनसँग सम्झौता गरिसकेको छ। भ्यालीले आयोजकलाई ९ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराउने छ।

सोही अवसरमा डिएचएस स्पोर्ट्स नेपालले प्रतियोगिताका लागि अफिसियल बल प्रदान गर्ने जानकारी दिइयो।

डिएचएसका प्रमुख कार्यकारी अधिकृत राजेन महर्जनले टेबल टेनिसका पूर्व मुख्य प्रशिक्षक एवम प्राविधिक निर्देशक विनोद शाक्यलाई बल हस्तान्तरण गरे।

प्रतियोगिता सोमबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु हुँदैछ। प्रतियोगितामा पुरुषमा २६ टिमका ४ सय ३३ खेलाडीको सहभागिता रहने छ।

महिलामा ८ टिमका ९० खेलाडी सहभागी हुने छन्। पुरुष र महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि र ४५ वर्षमाथि गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।

पुरुष/महिला सिंगल्सका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन्।

शीर्ष १६ वरीयतामा रहेका खेलाडीले सहभागिताको अवसर पाउने छैनन् ।

भेट्रानमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पाउने छन् । टिम च्याम्पियन वडालाई ५० हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता चैत ७ गतेसम्म चल्ने छ ।
 

प्रकाशित मिति: : 2021-03-14 16:47:00

प्रतिकृया दिनुहोस्