गिरिराजमणि पोखरेलको दबाबमा मनिसलाई हिरासतमा यातना

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रमा देखिएको झगडा सतहमा पुगेको छ। यस्तै एउटा घटना हालै पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलको क्षेत्रमा भएको छ। 

कुनैबेला आफ्नै कार्यकर्ता रहेका मनिस अर्याललाई प्रहरी चौकीभित्र कुटपिट र यातनाको घटनामा गिरिराजमणि समर्थक नेता तथा कार्यकर्ताको हात रहेको रहस्य खुल्न आएको छ। 

कुनै बेला गिरिराजमणिको समर्थक रहेका अर्याल प्रधानमन्त्री तथा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले लिपुलेख, लिम्पियाधुरा र कालापानी समेटेर नेपालको चुच्चो नक्सा जारी गरेपछि ओलीको समर्थक बनेका थिए। 

महोत्तरीको बर्दिबासस्थित जनता मावीको व्यवस्थापनको विषयलाई लिएर उब्जिएको विवादमा गिरिराजमणि निकट पूर्वप्रधानाध्यापक नेत्र रम्तेलले हातपात गरेका थिए। प्रहरी चौकी हातामा गिरिराजमणि समर्थक मानिसले हेलमेट र ढुँगाले मनिसको देब्रे आँखामा हान्दा प्रहरी मुखदर्शक बनेर बसेको थियो।



थुनामै प्रहरीको चरम यातना, सात दिन सुत्न नदिई कुटे (भिडियो) 



यो विवादमा मनिसले पूर्वप्रधानाध्यापक रम्तेलमाथि मधेसी र पहाडेबीच झगडा लगाउन खोजेको आरोप लगाएका थिए। तर, प्रहरीले छानवीन नगरि गिरिराजमणिको प्रभावमा आफूलाई उल्टै हिरासतमा राखेको दावी गरे। 

‘प्रहरीले दुबै पक्षको कुरा सुनेर कार्यवाही गर्नुपर्ने ठाउँमा रम्तेलसँग कुनै बयान लिएन। उल्टै मलाई हिरासतमा राख्यो,’ मनिसले बिएल नेपाली सेवासँग भने। उनले गौरीडाँडा निवासी बर्दिबास नगरपालिका-३ का वडाध्यक्ष राजन ढुँगाना पनि आफूलाई प्रहरीमा थुनाउने अभियानमा लागेको आरोप लगाए। ढुँगाना गिरिराजमणि पोखरेलका भक्त मानिन्छन्। 

‘रम्तेलसँगको विवादलाई राजन ढुँगानाले दलितको इस्यु बनाए र प्रहरीमा मविरूद्ध किटानी जाहेरी दिन लगाए। ढुँगानाले नै गिरिराजमणि पोखरेलमार्फत प्रहरी प्रशासनलाई फोन गर्न लगाएर हिरासतमै ममाथि कुटपिट गर्न लगाए’, मनिसले भने। 

मनिस विगतमा पनि वडामा भएका बेथिति र अनियमितताविरूद्ध फेसबुक तथा विभिन्न सामाजिक सञ्जालमा फोटो र भिडिया अपलोड गर्दै आइरहेका छन्। उनले सामाजिक सञ्जालमार्फत वडाध्यक्ष ढुँगानाको गतिविधि पनि पर्दाफास गर्दै आइरहेका थिए। 

‘मलाई गिरिराजमणि पोखरेलकै दबाबमा हिरासतमा ७ दिनसम्म सुत्नसमेत नदिई यातना दिइयो’, धरौटीमा छुटेका मनिसले भने।कुटपिटको कारण मनिसको देब्रे आँखाको झिल्ली बिग्रिएको छ। 

प्रकाशित मिति: : 2021-03-16 13:42:00

प्रतिकृया दिनुहोस्