दोबाटोमा एमाले : नयाँ कम्युनिस्ट पार्टी स्थापना कि अझै एकताको प्रयास?

काठमाडौंप्रेस

काठमाडाै‌ं

उपेन्द्र पोखरेल

वरिष्‍ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली त्रिदेशीय कप फुटबलको फाइनल हेर्न दशरथ रंगशाला पुगे, जहाँ नारा लाग्यो- ‘केपी बा वी लभ यू’। प्रधानमन्त्री ओलीमा निश्‍चिन्तता झल्किन्थ्यो, रंगशालामा पनि। किनकि, उनी नेपाल समूहलाई पार्टीबाट बाहिर पठाउनै चाहन्छन्, जसमा उनी सफलताउन्मुख छन्। पछिल्लो कारवाहीले पार्टीबाट बाहिरिनैपर्ने बाध्यतामा नेपाल समूह पर्दै गएको छ।

एमालेमै रहने झिनो आशा समाप्त भएपछि नेपाल र रावलमा छटपटी देखिनु स्वाभाविकै थियो। र, साँझपख दुवै नेताले आ-आफ्ना फेसबुक पेज र ट्विटरमा लेखे- ‘यो निर्णय अस्वीकार गर्छु।’ अब के गर्ने भन्‍नेमा नेपाल समूह अनिर्णित देखिन्छ, लामो योजनाको मार्गचित्र पनि तयार पार्न सकेको देखिँदैन, यो समूहले। बीबीसी नेपाली सेवासँग सोमबार राति कुरा गर्दै नेपालले त्यस्तै अनिश्‍चिय प्रकट गरे। ‘अब तपाईंहरू एक ठाउँमा बस्‍ने अवस्था देखिएन, पार्टी दुईवटा नै हुने भयो होइन?’ भन्‍ने प्रश्‍नमा नेपालको जवाफ थियो- ‘लक्षण त्यस्तै छ।’

२३ फागुनमा सर्वोच्च अदालतले तत्कालीन नेकपाको दर्ता खारेज गर्दै एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किने फैसला दिएपछि एमालेको नेपाल-खनाल समूहले एमालेमै फर्किने निर्णय गरेको थियो। तर, अध्यक्ष ओलीले यो समूहलाई पार्टीमा ढिम्किन दिएको छैन। २३ फागुनको फैसलालगत्तै माओवादी केन्द्रसँगको एकता छाडेर एमालेमै फर्किने यो समूहको निर्णय गलत त थिएन भन्‍ने प्रश्‍न उठ्न थालेको छ।

प्रकाशित मिति: : 2021-03-30 15:31:00

प्रतिकृया दिनुहोस्