२१४ जना पर्यटक प्रहरीले कसरी गर्लान् पर्यटकको सुरक्षा?

थाहा खबर

काठमाडाै‌ं

राजु पौडेल

आर्थिक वर्ष ०७४ देखि ७७ सम्मको अवधिमा बाह्‍य पर्यटकका १ हजार ३ सय २१ वटा सामान हराएका छन्। चोरी १०, पकेटमार ८, उत्पीडनमा १८, अपहरण ५, बलात्कार २ लगायत यो तीन वर्षमा १ हजार ७ सय ९२ वटा आपराधिक तथा सामान्य घटनाहरू भएको  पर्यटक प्रहरीको अभिलेखमा रहेको छ। तर, सबैभन्दा बढी उजुरी भने चोरी र सामान हराएका बारेमा छन्।

ती घटनाहरूको बारेमा पर्यटक प्रहरीले नेपाल प्रहरीका विभिन्न निकायसँग समन्वयमा अनुसन्धान तथा नियमा‍न गरेको हो। यो तीन वर्षको अवधिमा महिलाको तुलनामा पुरुष बढी समस्यामा देखिएका छन्। उजुरी दिएको तथ्यांकको आधारमा आव ७५, ७६, र ७७ मा क्रमश: २६८, २२१, १६६ गरी ६ सय ५५ उजुरी महिलाका परेका छन्।

यस्तै, क्रमश : ३५१, ४१२, ३७४ गरी ११३७ जना पुरुष विभिन्न स्थानमा समस्यामा परेको उजुरी अभिलेखमा छ। पर्यटक प्रहरीले पर्यटकका गुनासो र समस्या समाधान गर्ने काम गरिरहेको पर्यटन प्रहरीका निमित्त प्रहरी निरीक्षक चन्द्र किशोर साहले जानकारी दिए।

पर्यटकको सुरक्षामा कुनै कसुर नराखे पनि बेला-बेलामा विभिन्न घटनाहरू घट्ने गरेको उनले सुनाए। ती घटना उजुरी पर्नेबित्तिकै आफूहरुले छानविन र अनुसन्धान गरिरहेको उनको दाबी छ। यो तीन वर्षमा चोरी तथा सामान हराएका घटनाका उजुरी सबैभन्दा बढी रहेको उनले  जानकारी दिए।

'हामीले पर्यटकीयस्थलमा विदेशी पर्यटकलाई सहजीकरण गर्ने, उनीहरूमाथि हुने आपराधिक क्रियाकलाप रोक्ने, पर्यटकीय क्षेत्रको सुरक्षा गर्ने, भाषाको समन्वय गर्ने, पर्यटकको उजुरीलाई छानविन तथा आवश्यक कारबाही गर्ने गरेका छौं', इन्सपेक्टर साहले भने, 'पर्यटन सुरक्षामार्फत पर्यटन क्षेत्रको दिगो विकासमा टेवा पुर्‍याउने र आर्थिक अभिवृद्धिमा सहयोग पुर्‍याउने नै हाम्रो मूल हेतु हो।'

प्रकाशित मिति: : 2021-04-01 12:57:00

प्रतिकृया दिनुहोस्