रुपन्देहीमा कोरोना संक्रमितको बेहाल: न बेड छ, न अक्सिजन

सी. पी. खनाल 

रुपन्देहीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा बेड र अक्सिजन नपाउने अवस्था आएको छ। अस्पतालहरु कोरोना संक्रमितले भरिएका छन्, ती कोरोना संक्रमितलाई दिने अक्सिजन अभाव हुन थालेको छ।

अक्सिजनको अभाव हुँदा कोरोना संक्रमितको उपचार प्रभावित हुन थालेको अस्पतालहरुले जनाएका छन्। प्रदेशकै धेरै बिरामी उपचाररत रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ भने अरु अस्पतालहरुले पनि अक्सिजन सकिएको बताएका छन्।

कोरोना संक्रमितको चाप बढेसँगै अस्पतालमा बिरामीहरूलाई अक्सिजन पुर्‍याउनै मुस्किल हुन थालेको स्वास्थ्यकर्मीले जनाएका छन्। मौज्दात रहेको अक्सिजन सकिन लागेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए।

उनका अनुसार अस्पतालमा यसअघि १ सय ५० सिलिण्डर अक्सिजन आवश्यक पर्ने गरेकोमा अहिले ५ सय सिलिण्डर आवश्यक पर्न थालेको छ। बिरामीको संख्या बढेसँगै सप्लायर्सले आपूर्ति गर्न नसकेको उनले बताए। उनले बुधबार बेलुका ६० वटा सिलिण्डर आएको र बिहीबार बिहानसम्म १० वटा सिलिण्डर मात्रै बाँकी रहेको बताए।

लुम्बिनी प्रादेशिक अस्पतालले भेन्टिलेटर, आइसीयू, अक्सिजन बेड गरी ५४ र आकस्मिक बेड र भूइँमा समेत गरी थप ५२ जना बिरामीलाई अक्सिजन दिएर उपचार गरिरहेको छ।

प्रकाशित मिति: : 2021-05-06 12:17:00

प्रतिकृया दिनुहोस्