कांग्रेस-माओवादी गठबन्धनमा जसपा सामेल हुँदैन, उपेन्द्र यादवमाथि कारवाही हुन्छ: राजेन्द्र महतो (अन्तर्वार्ता)

जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता हुन्– राजेन्द्र महतो। उनी सो पार्टीका महन्थ ठाकुर र उपेन्द्र यादवपछिका तेस्रो वरियताका नेता हुन्। अहिलेको विवादमा उनी महन्थ ठाकुरको पक्षमा देखिएका छन्। 

उनी स्वर्गीय गजेन्द्रनारायण सिंह नेतृत्वको सद्भावना पार्टीको ‘स्कुलिङ’बाट राजनीतिमा आएका हुन्। छ वटा पार्टी मिलेर ‘राष्ट्रिय जनता पार्टी’ बनाउनुअघि उनी सद्भावना पार्टीका अध्यक्ष थिए। उनी पटक–पटक मन्त्री भइसकेका नेता हुन्। 

कांग्रेस–माओवादी गठबन्धनमा लाग्ने कि नलाग्ने भन्ने विवादमा जसपा फूटको संघारमा पुगेको छ। डा. बाबुराम भट्टराई र उपेन्द्र यादव कांग्रेस–माओवादीकेन्द्रको गठबन्धनको पक्षमा खुलेर लागिसकेका छन् तर पहिलो वरियताका अध्यक्ष ठाकुरसहित महतो त्यसको विपक्षमा छन्। उनीसँग बिएल नेपाली सेवाले गरेको संवाद:

नयाँ सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिजीलाई आग्रह गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र राजपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरी विज्ञप्ति जारी गर्नुभो। ‘तटस्थ’ बसेको जनता समाजवादी पार्टी अब कांग्रेस, माओवादीकेन्द्रसँग गठबन्धन गर्ने अवस्थामा पुगेको हो ? 

राष्ट्रपतिजीले संविधानको धारा ७६(२) अनसार, तीन दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ। उहाँले दुई वा दुईभन्दा बढी पार्टीको बहुमत सदस्यको समर्थनप्राप्त व्यक्ति आउनुस् भनेर आह्वान गर्नुभएको छ। त्यो दुई वा दुईभन्दा बढी पार्टीभित्र जनता समाजवादी पार्टी (जसपा) छैन। कुनै व्यक्ति जाँदैमा त्यो जसपा गएको मानिँदैन। त्यसैले जसपा यो सत्ता–समीकरण र गठबन्धनको अङ्ग बन्दैन। 

जसपा सामेल भएन भने त्यो गठबन्धन बन्दैन। कांग्रेस र माओवादीकेन्द्रले मात्र सरकार बन्दैन। जसपा जान तयार छैन। कुनै व्यक्ति जान तयार भएर पनि भएन। पूरै पार्टी जानु पर्‍यो। पूरै पार्टी जान सकिरहेको छैन। 

तपाईंहरु कांग्रेस–माओवादी गठबन्धनमा जान किन नचाहनुभएको त ?

हामी पहिलैदेखि भनिरहेका छौँ– हाम्रा माग–मुद्दा पूरा गर्नका लागि सरकारसँग कुरा गरिरहेका छौँ। केही माग पूरा भएका छन्। केही पूरा हुने प्रक्रियामा छन्। 

हामी सत्तालाई केन्द्रमा राखेर कुरा गरिरहेका छैनौँ। हामी त माग–मुद्दामा केन्द्रित छौँ। सत्ता गठबन्धनका लागि यो गरेका होइनौँ। 

त्यसो भए उपेन्द्र यादवजी पार्टीमा सल्लाह नगरी किन जानुभो छ, हस्ताक्षर गर्न ?

उपेन्द्र यादवजी सत्तालिप्सामा लाग्नुभएको छ। त्यसका लागि अर्को गठबन्धन बनाएर जाने कसरत गरिराख्नुभएको छ। हिजो (सोमबार) चाहिँ जुन संयुक्त विज्ञप्तिमा अध्यक्ष भनेर जुन हस्ताक्षर गर्नुभो, त्यो त्यसैको परिणाम हो। त्यसबारेमा पार्टीमा छलफल भएको छैन। 

पार्टी विभाजन गरेर त्यसरी काम कुरा गर्नु पार्टी हितविपरीत छ। त्यसैले अनुशासनको कारवाही उहाँमाथि हुन्छ। त्यो गठबन्धन पनि जसपाबिनाको गठबन्धन सरकार ७६(२) अनुसार बन्न सक्दैन। 

हिजो संसद्मा पनि एउटा दृष्य देखियो। सबै पार्टीका एकजना नेता बोल्नुभो तर जसपाका दुई जनाले बोल्न पाउनुभो। सभामुख अग्निप्रसाद सापकोटाले पहिले महन्थ ठाकुरलाई बोल्न दिनुभो, त्यसपछि फेरि उपेन्द्रजीलाई पनि बोल्न समय दिनुभो ! उहाँले तपाईंहरुको पार्टी जसपालाई विभाजित भइसकेको अवस्थामा जस्तै दुई जना अध्यक्षलाई मान्यता त दिनुभयो ! सभामुखजीले सग्लै पार्टीलाई फुटाउनुभो  भन्ने आरोप हो ?

विल्कुल, विल्कुल ! सभामुखले राजपालाई विल्कुल विभाजन गर्न खोज्नुभएको देखिएको छ। 

सभामुखसँगको बैठकमा निर्णय भएको थियो– प्रत्येक पार्टीबाट एक एक जना बोल्ने। पार्टीको मुख्य मान्छे बोल्ने। 

हाम्रो पार्टीको प्रथम अध्यक्ष र अहिले संसदीय दलको नेताको चुनाव नभएसम्मका लागि वरिष्ठताका आधारमा महन्थ ठाकुरजीलाई हामीले नेता बनाएका छौँ। वरिष्ठताको हिसाबले उहाँ एक नम्बर हो। उहाँले बोल्नुभो। अर्कोलाई बोल्न दिनु जरुरी नै थिएन। 

ठ्याक्कै अर्को पार्टी देखाउने प्रयास भयो। यो चाहिँ हिजोको हस्ताक्षर र संसद्को सभामुखको गतिविधिले के देखायो भने जसपालाई फुटाउने षड्यन्त्रमा सभामुखदेखि लिएर कांग्रेस र माओवादी सबै लागेको देखियो। 
 

प्रकाशित मिति: : 2021-05-11 20:39:00

प्रतिकृया दिनुहोस्