संसद् भवनबाट कोराेनाविरुद्ध खोपको व्यापक दुरुपयोग, भीड थेग्न नसक्दा डाक्टरहरु बीचैमा खोपकेन्द्र बन्द गरेर हिँडे

फोटो :सविन धमालाको फेसबुकबाट
फोटो :सविन धमालाको फेसबुकबाट

संघीय संसद्को भवनमा कोभिड–१९ विरूद्ध दोस्रो चरणको खोपको व्यापक दुरुपयोग भएको छ।

सांसद्, संसद् सचिवालयका कर्मचारी, संघीय संसद्का सुरक्षाकर्मी र संसदीय मामिला पत्रकार समाजसँग आवद्ध कर्मचारीका लागि भनी दोस्रो चरणमा दिन लागिएको खोपको व्यापक दुरुपयोग भएपछि तेस्रो दिन आइतबार डाक्टरहरु खाेपकेन्द्र नै बन्द गरेर हिँड्न बाध्य भए । 

संसद् सचिवालयले जारी गरेको सूचनाका अनुसार, बैशाख १ गतेदेखि जेठ ३ गते संघीय संसद्सँग सम्बन्धित सांसद्, संसद्का कर्मचारी, संघीय संसद् भवन रहेको आईसीसीका कर्मचारी, पत्रकार, सुरक्षाकर्मी र सांसद्का सहयोगीहरुलाई संसद् भवनको ल्होत्से हलमा खोप दिने व्यवस्था गरिएको थियो ।

सांसद्हरुले नै खोप दुरुपयोग गरेकै कारण जेठ २ गते आइतबार ‘सबै स्वकीय सचिवहरु, सबै मर्यादापालक, सुरक्षासँग सम्बन्धित कर्मचारी र संसदीय मामिलाका पत्रकारहरु’ का लागि दिने भनिएको खोप अपुग भएर ढिलासम्म सुरु गरिएन । साढे १ बजे मात्र खोलिएको खोपकेन्द्र  केही 'भीभीआईपी' लाई दिएर एक घण्टामै बन्द गरिएको छ । 

ल्होत्से हलभित्र बसिरहेका सांसद्हरु र केही पहुँचवालाहरुलाई भित्रबाटै खोप दिइयो। बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्मका लागि भनी समय तोकिएका पत्रकार र मर्यादापालक भने खोप नपाएर त्यसै फर्कनुपरेको छ । 

सभामुख अग्नि सापकोटाका स्वकीय सचिव श्रीधर न्यौपानेले सार्वजनिक गरेको जानकारीअनुसार, शुक्रबार ७४८ र शनिवार ९४६ जनाले खोप लगाएका छन्। शुक्रबार र शनिबार दुई दिनमै एक हजार छ सय ९४ जनाले खोप लगाइसकेका छन्। आइतबार दिनुपर्ने खोप पहिल्यै सकिइसकेकोले खोपकेन्द्र बन्द गरिएको हो।

संघीय संसद्का पदाधिकारीहरू प्रतिनिधिसभाका सभामुख, राष्ट्रयसभाका अध्यक्षदेखि दुवै सदनका सांसद्हरु, उनीहरुका सहयोगी, संसद् सचिवालयका कर्मचारी र आईसीसीका कर्मचारीले खोप लगाउने दुई दिनमै यत्ति धेरै खोप खपत भएपछि आइतबार पत्रकार, मर्यादापालक र सुरक्षाकर्मीको पालो आउने दिन खोप अपुग भएको संसद सचिवालयका एक कर्मचारीले बताए ।

संघीय संसद् भवन, आईसीसीका एक कर्मचारीले दिएको जानकारी अनुसार, बिहान १० बजे खोल्नुपर्ने खोप केन्द्र भीड धेरै भएका कारण डाक्टरहरुले १ बजेसम्म खोल्न सकेका थिएनन्। तर, सांसद्का आफन्तहरु र सिंहदरबारमा राजनीतिक नियुक्ति खाएका कर्मचारीदेखि संवैधानिक अंगका पदाधिकारीसम्म खोप लगाउन बानेश्वर पुगेको ती कर्मचारीले जानकारी दिए। 

‘हजुरलाई अचम्म लाग्दा, हामी सबैलाई त चिन्दैनौँ, भर्खरै यहाँभित्रबाट महिला आयोगका अध्यक्ष कमला पराजुली यहाँभित्रबाट खोप लगाएर निस्कँदै गरेको देखेको थिएँ’, ती कर्मचारीले भने, ‘यहाँ भीड अलि घट्ला कि भनेर डाक्टर सापहरु खोपकेन्द्र नै बन्द गरेर हिँड्नुभएको थियो। अहिले साढे १ बजे भर्खर भित्र पस्नु भएको हो।’

आईसीसीका ती कर्मचारीले दिएको जानकारीअनुसार, यहाँ सांसदहरुबीच कति जना कार्यकर्ता र आफन्त छिराउने होड चलेको थियो। 
अब हजुरहरुको पालो कहिले आउला खोई ?’, करिब दुई घण्टादेखि लाइनबसेका संसदीय मामिला पत्रकार समाजका सदस्यलाई ती कर्मचारीले प्रश्न गरे। 

संसदीय मामिला पत्रकार समाजका एक जना सदस्य सविन धमलाले दुरुपयोगको विरोध गर्दै आफ्नो फेसबुक वालमा स्ट्याटस नै लेखे, ‘संसद्मा खोप पहिला माननीय अनि ताननीय त्यसपछि हाननीय। दुरुपयोग सीमा नाघ्यो।’

प्रकाशित मिति: : 2021-05-16 14:18:00

प्रतिकृया दिनुहोस्