प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ। समिति सभापति अम्मरबहादुर थापाले शिक्षामन्त्री रघुजी पन्तलाई पाँच दिनभित्र सहमति गरेर आउन समय दिएका हुन्।
उनले भने, ‘पाँच दिनभित्र सहमति जुटाएर पहिले मलाई दिनुपर्यो। आएर सिधैं पेपर पठाउनु भएन। सचिवालयले त्यसलाई एग्रि गर्नुपर्यो। अनि म प्रस्तावको रुपमा यहाँ पेस गर्छु। त्यसकारण मैले पाँच दिनको समय छुट्याएको हुँ। सरकारलाई पाँच दिनसम्मको समय भयो। समयभित्र सहमति जुटाएर अर्को एजेण्डा ल्याउनुभन्दा पनि यसैमा सहमति जुटाएर अनुरोध गर्दै सरकारलाई बैठक अबको ६ दिनपछि बस्ने गरि पाँच दिनको समय दिएका छौं। विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउने अवसर दिएका हौं।’
आइतबारको बैठकको सुरुमै शिक्षामन्त्री पन्तले विधेयकमा सहमति जुटाउन थप समय दिन आग्रह गरेका थिए। तर, समितिका सदस्यहरूले आक्रोश पोखे। उनीहरूले सरकारलाई पटकपटक समय दिन नहुने बताएका थिए।
सबै सदस्यले धारणा राखिसकेपछि समितिका सभापति थापाले मन्त्रीलाई अब पाँच दिनभित्र सहमति जुटाउन भनेका हुन्। मन्त्री पन्तले सीमा नतोक्न आग्रह गरे पनि सभापति थापाले मानेनन्।