ओली पुनरागमनका पहेली

हिमाल खबर

काठमाडौँ

शेखर खरेल

गत २७ वैशाखमा प्रतिनिधि सभाको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्न नसकेपछि केपी शर्मा ओली प्रधानमन्त्रीबाट स्वत: पदमुक्त भए। तर, राष्ट्रपतिले दिएको समयसीमाभित्र संसद्‌मा रहेका दलहरूले बहुमतको सरकार दाबी गर्न नसकेपछि ३१ वैशाखमा उनै ओली संविधानको धारा ७६ (३) अनुरूप तेस्रो पटक प्रधानमन्त्री बने।

सत्ताबाट बाहिरिने र भित्रिने मात्र चार दिनको चक्रले अंग्रेजी भाषामा प्रचलित उक्ति 'द किङ इज डेड, लङ लिभ द किङ' को सम्झना पंक्तिकारलाई दिलायो। राजतन्त्र भएको देशमा एउटा राजा मरे अर्को राजा आइछाड्छन् भन्ने यो प्रचलित भनाइ ओलीको हकमा लाक्षणिक अर्थमा लागू हुन्छ।

३ फागुन २०७४ बाट ३१ वैशाख २०७८ अर्थात् ३८ महीना पार गरिसक्दा एकै व्यक्ति ओली संविधानको धारा ७६ को उपधारा १,२ र ३ अनुसार प्रधानमन्त्री बनिसकेका छन्। कुनै बेला दुईतिहाइ समर्थनबाट कार्यकारी प्रमुख बनेका उनी अहिले अल्पमत सरकारका प्रधानमन्त्री हुन्। गठबन्धन दलको समर्थन पहिले नै गुमाइसकेका ओलीले आफ्नै दलभित्र पनि व्यापक समर्थन गुमाइसकेका छन्। त्यसैले आगामी ३० दिनभित्र संसद्‌मा विश्वासको मत प्राप्त गर्न उनलाई आफ्नो दलका सबै सांसदका अतिरिक्त अन्य दलको पनि समर्थन आवश्यक पर्नेछ।
 

प्रकाशित मिति: : 2021-05-16 18:06:00

प्रतिकृया दिनुहोस्