सुन्दर बग्दै छ बागमती

हिमाल खबर

काठमाडौँ

चक्रबहादुर चन्द    

बागमती सफाइ महाअभियान ५ जेठ २०७० मा शुरू भएको हो। ‘राष्ट्रका नाममा सातामा दुई घण्टा स्वयंसेवा’ नाराका साथ शुरू भएको अभियानलाई नेपालको सबैभन्दा ठूलो र लामो स्वयंसेवी अभियान भन्दा फरक पर्दैन। आज यो अभियान शुरू भएको आठ वर्ष पूरा भएको छ। 

अभियान भूकम्प, नाकाबन्दी, लकडाउन, दशैं, तिहार, जाडो, गर्मी कुनै पनि समयमा रोकिएको छैन। कोरोना संक्रमणसँगै अभियान पक्कै प्रभावित भएको छ। सामूहिक रूपमा सञ्चालन हुन नसकेपछि अभियन्ताहरूले आ–आफ्नो घरआँगन, नजिकको सडक छेउछाउ सफाइ गर्ने अभियान शुरू गरेका छौं। बागमती नदी नजिक बस्ने अभियन्ताहरूले भने सानो समूहमा अभियान सञ्चालन गर्दै आएका छौं।

यो अभियानमा कुनै प्रकारको आर्थिक कारोबारका साथै चन्दा सहयोग लिइँदैन। यसको कुनै समिति छैन, ब्यांक खाता छैन। नेपाल सरकारको ‘अधिकार सम्पन्न बागमती एकीकृत विकास आयोजना’ले गर्ने खर्चसँग सफाइ अभियानको कुनै सरोकार रहँदैन।

विशुद्ध नागरिक अभियानमा हालसम्म करीब १० लाख जनाले सहभागिता जनाइसकेका छन्। आमनागरिक मात्रै होइन, राष्ट्रपतिदेखि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री लगायत राज्यका उच्चपदस्थ पदाधिकारी सामेल भइसकेका छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षा निकायको यो अभियानमा बलियो साथ, सहयोग छ। 

संस्थागत रूपमा पनि सयौंले सहभागिता जनाएका छन्। नेपाल टेलिकमले शुरूआतदेखि सफाइ सामग्री सहयोग गर्दै आएको छ। विभिन्न निजी तथा सार्वजनिक संस्थाबाट सामाजिक उत्तरदायित्व अन्तर्गत नदी किनारमा पुरातात्त्विक स्थलको संरक्षण तथा ३० भन्दा बढी स्थानमा बगैँचा निर्माण भएका छन्।

हामीले हरेक हप्ता दुई घण्टा बागमती र उपत्यकाका सहायक नदीहरू, सार्वजनिक स्थल, मठमन्दिर, घरआँगन सफा गर्दै आएका छौं। जनचेतना जगाउँदै छौं। अभियानले फोहोरको स्रोतमै वर्गीकरण गर्न, कौसीखेती शुरू गर्न, कुहिने फोहोरबाट बायो कम्पोस्ट र बायोग्यास उत्पादन गर्न सहजीकरण गर्ने गरेको छ। 

सफाइ अभियान र अभियन्ताको क्रियाशीलताका कारण सरकारलाई पनि दबाब पर्न गई वर्षाैंदेखि रोकिएको ढल निर्माण कार्यले पनि तीव्रता पाएको छ। सफाइ अभियानले गर्दा नदी किनारको सार्वजनिक स्थललाई सरकारका नाममा फिर्ता ल्याउन सहज भएको पनि हाम्रो बुझाइ छ। अधिकार सम्पन्न बागमती आयोजनाबाट भत्केको पुलदेखि थापाथलीसम्म सोलार बत्ती जडान भएको छ।
 

प्रकाशित मिति: : 2021-05-19 09:29:00

प्रतिकृया दिनुहोस्