नेपालका केही संक्रमितमा भेटियो आँखा बिगार्ने ‘कालो ढुसी’

अनलाइनखबर

काठमाडौँ

प्रेम लामा

वैशाखको तेस्रो साता वीरगञ्जका ६७ वर्षीय पुरुष स्वासप्रश्वासको समस्या लिएर एक निजी अस्पतालमा भर्ना भए । एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखियो । मधुमेहका बिरामीसमेत भएकाले चिकित्सकहरुले तत्काल आईसीयूमा राखेर उपचार थाले । तर संक्रमितको अवस्थामा सुधार आएन ।

अस्पताल भर्ना भएको सातौं दिन उनको देब्रे आँखा एक्कासी सुनिएको जस्तो देखियो । सुगरको मात्रा पनि ह्वात्तै बढ्यो । आँखा दुःख्ने, सुनिने हुँदाहुँदै रगत जस्तो तरल पदार्थ आउन थाल्यो । उपचारकै क्रममा १० औं दिनमा उनको मृत्यु भयो ।

‘कोभिडका बिरामीलाई प्रयोग गरिने सबै औषधि उनलाई दिएका थियौं, तर स्वास्थ्यमा सुधार आइरहेको थिएन,’ उपचारमा संलग्न चिकित्सक डा. उदयनारायण सिंहले भने, ‘सातौं दिनमा आँखा सुनिने, आँखाबाट रगतजस्तो तरल पदार्थ आउने भयो र अस्पताल भर्ना भएको १० औं दिनमा उनलाई गुमाउनुपर्‍यो ।’

प्रकाशित मिति: : 2021-05-19 21:12:00

प्रतिकृया दिनुहोस्