आईसीयूमा नर्सको व्यथा : सबैको भगवान बन्न नसकिँदोरहेछ !

बिरामीको मृत्युमा दुःखमनाउ गर्ने समय छैन

रातोपाटी

काठमाडाैं

केही दिन अगाडि वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत २७ वर्षीय युवकको अक्सिजन लेभल घट्दै गइरहेको थियो। आईसीयूमा खटिएका डाक्टर, नर्स उनको उपचारमा व्यस्त थिए। बिरामीकी श्रीमती १९ वर्षकी र छोरी ६ महिनाकी रहिछन्। यो सुन्दा आईसीयूमा कार्यरत नर्स मुना पोखरेलको मन विचलित भयो।

हुन त आईसीयूमा सबै बिरामी निकै सिकिस्त अवस्थाकै हुन्छन्। तर, ती युवाको उमेर र उनको बच्चा पनि छ भन्ने थाहा पाउँदा भने सबैको मन आत्तियो। सबैले झै मुनाले पनि खुब प्रार्थना गरिन् उनका लागि। दुई दिनपछि ती युवकको अक्सिजन लेभल एक्कासी बढेर ९० को लेभलमा आइपुग्यो। सबै खुसी भए।

मुना भन्छिन्, ‘सुनिन्छ नि कहिले काहिँ चमत्कार हुन्छ भनेर, हो त्यही भइरहेको थियो। आईसीयूमा राखिएका बिरामी, त्यसमा पनि कोभिडका बिरामीलाई निको बनाएर पठाउन पाउँदाको खुसी सायदै अनुमान गर्न सकिन्छ। हामी त्यही दिनको प्रतिक्षामा थियौं।’

तर, त्यो खुसी धेरैदिन टिक्न सकेन। मुना सुनाउँछिन्, ‘तीन दिनपछि एकाएक उहाँको अक्सिजन पुनः घट्न थाल्यो। सबै उपाय लगाउँदा पनि उहाँलाई बचाउन सकिएन।’

उनी अगाडि भन्छिन्, ‘आश मरेको बिरामी फेरि आशा लिएर आयो र एकाएक गयो। त्यो चक्र र उनको अहिले पनि खुब याद आउँछ। सायद म ती दाइको मृत्युलाई भुल्न सक्दिनँ होला। त्यस्ता भर्खरका युवाहरुलाई आईसीयूबाट प्लास्टिकमा बेरेर पठाउनुपर्दा साह्रै रुन मन लाग्छ। तर, हामीसँग त्यहाँ रुने र दुःखमनाउ गर्ने समय नै कहाँ हुन्छ र ?’

प्रकाशित मिति: : 2021-05-29 10:48:00

प्रतिकृया दिनुहोस्