कोरोनाविरुद्धको खोप ल्याउनु सरकारको पहिलो प्राथमिकता तर खोप पाउन जटिलता छ: स्वास्थ्यमन्त्री तामाङ

स्वास्थ्य तथा जनसंख्या  मन्त्री शेरबहादुर तामाङले नेपालमा तत्काल खोप ल्याउन प्रशस्तै जटिलता भए पनि सरकारको पहिलो प्राथमिकता खोप ल्याउनु नै भएको बताएका छन्।

मन्त्री तामाङले त्यसका लागि विभिन्न मुलुकहरुसँग समन्वय भइरहेको भए पनि खोप खोप ल्याउन केही समय लाग्ने बताए।

गैरआवासीय नेपाली संघले आयोजना गरेको एक भर्चुअल अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री तामाङले भने, 'बेलायत, अमेरिका लगायतका मुलुकले कोभ्याक्स अन्तर्गत उपलब्ध गराउने भनेर व्यक्त प्रतिबद्धताले केही राहत मिल्ने आशा छ। खोप खरीदमा सरकार प्रतिबद्ध रहेको र खरिदका लागि कुनै व्यावहारिक समस्या नभए पनि खोप निर्माण भइरहेका मुलुकहरु आफैँ महामारी नियन्त्रणमा केन्द्रित भएकोले समस्या परेको हो।'

अक्सिजन कन्सन्ट्रेटर, सिलिन्डर लगायतका अन्य अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाल पठाउन विदेशस्थित नेपाली समुदायले देखाएको तदारुकताको प्रशंसा गर्दै मन्त्री तामाङले आगामी दिनमा खोप खरीद लगायतका अन्य विषयमा गैरआवासीय नेपाली संघसँग सहकार्य जारी राख्ने बताए। त्यसका लागि आफू रहेको देशबाट खोप ल्याउनका लागि पहल गर्न उहाँले गैरआवासीय नेपालीहरुलाई आग्रह समेत गरे।

एक फरक प्रसंगमा मन्त्री तामाङले गैरआवासीय नेपालीहरुको नागरिकता लगायतका मागलाई सम्बोधन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले पछिल्लो  कठिन समयमा नेपालमा अक्सिजन कन्सन्ट्रेटर लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री पठाउन गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सोही किसिमको सहयोगका लागि आह्वान गरे। महामारीका समयमा देशमा उपलब्ध स्रोतसाधन मात्रै पर्याप्त नहुने भएकोले पनि सबै नेपालीले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए।

महामारीका समय नेपालीलाई बचाउने अभियानमा संलग्न सबैको  योगदान स्वर्ण अक्षरमा लेखिने र यसको उच्च मुल्यांकन हुने उनको भनाइ थियो।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले मुलुक अप्ठ्यारोमा परेको बेला गैरआवासीय नेपालीहरुले देशलाई सघाउने संस्कार बसिसकेको बताए। सरकारसँग सहकार्य गरेर खोप नेपालमा पठाउन तयार रहेको भन्दै  उनले खोप खरिदका लागि सरकारलाई प्रस्तावसमेत गरेको बताए।

अध्यक्ष पन्तले विदेशमा बिचल्लीमा परेका नेपालीहरुको उद्दारको लागि नेपाल सरकारले नयाँ नीति बनाउनुपर्नेमा जोड दिए। उनले विश्व श्रमबजारमा रहेका नेपालीमा भोकमरीको समस्या आउनसक्ने बताउँदै नेपाल सरकारले तत्काल नेपाल फर्किनको लागि वातावरण बनाउनुपर्नेमा जोड दिए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गैरआवासीय नेपालीहरुले नेपालको खुशी र दुःख दुवैमा साथमा दिएको बताए। डा. महतोले नेपालको महामारीविरुद्ध लडाइँ लड्नका लागि अरुको अनुदान र सहयोगको मात्रै भर पर्नुपरेको भन्दै त्यस्तो अवस्थाको अन्त्य गरेर नेपाललाई ‘माग्ने होइन दिने देश’ का रुपमा परिणत गर्नुपर्नेमा जोड दिए।

एनआरएनए फाउण्डेसनका अध्यक्ष तथा संघका पूर्वअध्यक्ष जीवा लामिछानेले फाउण्डेसनले नेपालमा ७ वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापनाको काम अघि बढाएको जानकारी दिए। उनले पहिलो चरणमा चारवटा अक्सिजन प्लान्ट र बाँकी ३ वटा प्लान्ट दोस्रो चरणमा स्थापना गर्ने गरि कामअघि बढेको बताए। उनले दाताहरुको इच्छा अनुरुप नेपालमा अक्सिजन प्लान्ट स्थापनाको लागि नेपाल सरकारलाई सहयोगको लागि आग्रह गरे।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले चीनमा रहेका नेपालीहरुको सहयोगमा स्वास्थ्य सामाग्री नेपाल पठाइएको र अन्य चरणमा क्रमशःसामाग्री पठाउने तयारी भइरहेको बताए। उनले गैरआवासीय नेपालीहरुले पठाएको अक्सिजन कन्सन्ट्रटेरले मानिसहरुको ज्यान जोगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि अन्तिम विकल्प खोप  मात्रै भएको भन्दै उहाँले खोप नेपाल पठाउन संघले हरसम्भव  पहल जारी राखेको र त्यसमा नेपाल सरकारले पनि आफूहरुसँग सहकार्य गर्नुपर्ने उल्लेख गरे। तत्कालका लागि स्वास्थ्य सामाग्री मात्रै नभई खोप नेपाल पठाउन आफूहरुले गर्न सकिने सबै खाले पहल थाल्न ढिलो गर्नु नहुने डा केसीको भनाइ थियो।

संघका महासचिव डा. हेमराज शर्माले कोभिड–१९ को विश्वव्यापी संक्रमणपछि गैरआवासीय नेपाली संघले दुई सय ५० जना चिकित्सकहरु परिचालन गरेको जानकारी दिए। महासचिव शर्माले ५० देशमा २५ सय स्वयं सेवक परिचालन गरेर करिब दुई लाख नेपालीलाई प्रत्यक्ष सहयोग गरेको जानकारी दिए।

उनले नेपालमा कोरोना भाइरसको दोस्रो लहर आएपछि गैरआवासीय नेपाली संघले नेपाल सरकारको आग्रहमा नेपालमा अक्सिजन पठाउन सुरु गरिएको पनि बताए।

'नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ' अभियान अन्तर्गत विभिन्न मुलुकमा रहेका नेपालीहरुको सहयोगमा अक्सिजन कन्सन्ट्रेटर लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाल पठाउन सफल भएको र आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि संघ प्रयत्नरत रहेको उनको भनाइ थियो।

गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङले बेलायतमा रहेका नेपाली समुदायले एनआरएनएलाई विश्वास गरेर दिनुभएको आर्थिक सहयोगबाट प्राप्त कन्सरट्रेटर दुई हप्ताभित्रमा नेपाल सरकार समक्ष पुर्‍याउन सफल भएको भन्दै सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गरिन्। उनले बेलायतका ९३ वटा संघसंस्था र ४४ जना व्यक्तिबाट अक्सिजन कन्सनट्रेटर किन्नको लागि २ करोड ५० लाख रुपैयाँको प्रतिबद्धता आएको जानकारी दिइन्।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलियका अध्यक्ष केशव कँडेलले ने अब अक्सिजन कन्सरट्रेटर अभाव नहुने बताउँदै थप सहयोगको लागि सरकारले नयाँ क्षेत्र खोज्नुपर्ने बताए। उनले विदेशमा सङ्कलन भएको सहयोग जहाँको लागि भनेर सङ्कलन भएको हो त्यही स्थानसम्म पुर्या।उन नेपाल सरकारलाई आग्रह गरे। 

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् क्यानाडाका अध्यक्ष चिरञ्जीवी घिमिरेले गैरआवासीय नेपाली समुदायको सहयोगमा ७५ वटा  अक्सिजन कन्सनट्रेटर नेपालमा पठाएको जानकारी दिए।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जर्मनीका अध्यक्ष हरि न्यौपानेले स्वास्थ्य सामग्रीको वितरण प्रभावकारी हुनु पर्नेमा जोड दिए। 

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनका अध्यक्ष प्रदीप न्यौपानेले महामारीसँग लड्न जस्तोसुकै सहयोगका लागि तयार भएको बताए।

सो अवसरमा नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियान अन्तर्गत गैरआवासीय नेपाली संघका विभिन्न देशमा रहेका नेपालीहरुको सहयोगमा खरिद गरिएका ४८३ वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा संघका विभिन्न देशका  राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा पदाधिकारीहरु, संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार, बेलायतस्थित स्थानीय निर्वाचनमा निर्वाचित काउन्सिलरहरु लगायतको  उपस्थिति थियो।

प्रकाशित मिति: : 2021-06-08 15:32:00

प्रतिकृया दिनुहोस्