देशभरि बाढीपहिरोको वितण्डा : ३४ जनाको मृत्यु २४ बेपत्ता, ३ सय ९७ घर डुबानमा (भिडियाेसहित)

कमल प्रभात

काठमाडौँ

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी ३४ जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार जेठ ३० गतेदेखि हालसम्म देशैभर गरी ३४ जनाको मृत्यु भएको हो। त्यसैगरी बाढीपहिरोमा परी २४ जना बेपत्ता भएका छन् भने ४४ जना घाइते भएका छन्। 

प्रहरीका अनुसार मृत्यु हुनेहरूमा १९ जना पुरुष, ९ जना महिला, ३ जना बालक र ३ जना बालिका रहेका छन्।  

प्रहरी तथ्याङ्क अनुसार सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पामा ३ जना, चितवन, तनहुँ, प्युठान र रौतहटमा २–२ जना, ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, गोरखा, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १–१ जना रहेका छन्।

बाढीपहिरो र डुबानमा परी ४४ जना घाइते भएका छन्। तीमध्ये २४ जना पुरुष, ११ जना महिला, ६ जना बालक र ३ जना बालिका रहेका छन्।

उनीहरुमध्ये तनहुँमा १० जना, सिन्धुपाल्चोक र रोल्पामा ५–५ जना, म्याग्दी, सर्लाही, कास्की र डोटीमा ३–३ जना, जुम्ला र गोरखामा २–२ जना, पाँचथर, रौतहट, स्याङ्जा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा १–१ जना रहेका छन्। 

२४ बेपत्ता अवस्था अझै अज्ञात

प्रहरी तथ्याक अनुसार बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन्। तीमध्ये १५ जना पुरुष, ६ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन्। उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना र बाजुरामा १ जना रहेका छन्।

वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। 

त्यसैगरी बाढी तथा पहिरोमा परेका १ हजार २ सय ५० जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ। उद्धार गरिएकामध्ये मनाङमा ६ सय ५६ जना, चितवनमा ४ सय २ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, दोलखामा ३५ जना, लमजुङ र सल्यानबाट ८–८ जना, जाजरकोटमा ७ जना, गोरखा र दाङमा ४–४ जना र कञ्चनपुरमा ३ जना रहेका छन्।

उद्धारपश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो।


माछापोखरीमा बाढी पस्ला भनेर कुलो तर्काउन गएका श्रीमान बेपत्ता (भिडियो)

३ सय ९७ घर डुबानमा 

प्रहरीको तथ्याक अनुसार जेठ ३० यता बाढीको कारण ३ सय ९७ वटा घर डुबानमा परेका छन्। 

४ सय ९१ वटा घर, ८४ वटा गोठ, ३८ वटा पुल, ३ वटा विद्यालय र १० वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।

१ हजार ४३ वटा घरका ४ हजार ९ सय ५५ जना मानिस विस्थापित भएका छन् भने ८ सय २ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा ३ सय ३० वटा विपद्‍का घटना भएका छन्।


भागेर ज्यान जोगाएका मेलम्चीका बाढीपीडित भन्छन्– अब बाँच्ने कसरी ?


मर्स्याङ्दी नदीमा आएको बाढी-पहिराले आवतजावत र काममा कठिनाइ

जुम्लाकाे हिमा गाउँपालिकामा पहिराेले १० वटा घर भत्किए, ८० घर जाेखिममा 

 

प्रकाशित मिति: : 2021-07-02 15:49:00

प्रतिकृया दिनुहोस्