ओली निकट नेताहरुको दुःख : मनमा छ, बोल्नै सक्दैनन्

अनलाइनखबर

काठमाडाैं

काँक्रा जसरी चिरिएको नेकपा एमालेलाई जोड्ने पहलकदमी चलिरहँदा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको अभिव्यक्ति र गतिविधिले ठूलै तरंग ल्याएको छ । उनको प्रस्ताव छ– राष्ट्रिय राजनीतिमा देखिएको संकट एमाले एकताबाट हल हुन्छ र एकता जोगाउन अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग ‘पावर सेयरिङ’ गर्न समेत तयार हुनुपर्छ ।

माधव नेपाल निकट नेताहरुले समेत नसोचेको प्रस्ताव राखेकाले मात्रै उनी चर्चामा आएका होइनन् । बरू अध्यक्ष ओली निकट भएर पनि फरक मत राख्ने हिम्मत गरेकाले हो । गुरुङ अझ अगाडि बढेर तर्क गर्छन्, ‘केपी ओली र माधव नेपालले मात्रै एमाले बनाएका होइनन् ।’ अर्थात् एमाले निर्माणमा सम्पूर्ण कार्यकर्ता पंक्तिसँगै आफू पनि हिस्सेदार रहेको उनी बताउँछन् ।

पार्टी एकता जोगाउने प्रयोजनका निम्ति पोखराबाट राजधानी आएका गुरुङ ओली–नेपालले बनाएको कार्यदलमा त छैनन् नै, द्विपक्षीय अनौपचारिक सम्वादका सदस्य समेत होइनन् । तर एकता जोगाउने प्रस्तावमा अडिग छन् । १३ असारको बालुवाटार बैठकमै उनले अध्यक्ष ओलीसँग आफ्नो प्रस्ताव राखे ।

जबकि एमाले एकता जोगाउने उद्देश्यसहित अनौपचारिक सम्वादमा रहेका नेताहरू समेत प्रधानमन्त्री ओलीलाई बिझाउने शब्द प्रयोग गर्न सक्दैनन् । जस्तो, १९ असारमा विष्णुप्रसाद पौडेलले माधव नेपालले एकता नचाहेको अभिव्यक्ति दिए । अनौपचारिक वार्तामा सक्रिय नेता पौडेलको भनाइ थियो, ‘उहाँ (माधव नेपाल)ले प्रधानमन्त्रीसँग भेट्न अरुचि प्रकट गर्नुभयो । ठिकै छ, छलफल गर्दै जाउँ भनेर हामी उठ्यौं ।’ तर त्यसैदिन ओली र नेपालबीच लामै सम्वाद भयो । पछिल्लो समय ओली निकट नेताहरू जबर्जस्त एउटा भाष्य निर्माणको प्रयासमा छन्– माधव नेपाल बाहेकको एकता ।

प्रकाशित मिति: : 2021-07-05 19:52:00

प्रतिकृया दिनुहोस्