नगर क्षेत्र दुर्गन्धित भएपछि युवाले उठाए फोहोर

त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत पर्ने त्रिपुराकोट बजार क्षेत्र फोहोरले दुर्गन्धित भएपछि युवाहरुले सरसफाइ अभियान चलाएका छन्।

जिल्लाकै मुटुको रुपमा रहेको त्रिपुराकोट बजार क्षेत्र प्लास्टिकजन्य वस्तु र हिलाम्य सडकका कारण दुर्गन्धित भएपछि युवाहरुले सरसफाइ अभियाननै चलाएर फोहोर उठाएका हुन्।

नगरपालिकाको कार्यालय रहेको बजार क्षेत्रको सडकनै पानीका खाल्डाखुल्डी तथा फोहोरले दुगर्धित भएपछि सरसफाइ गर्न अभियान नै चलाउनु परेको स्थानीय युवा तुलबहादुर बोहोराले जानकारी दिए।

बजारमा व्यापारीहरुले नै फोहोर डस्विनमा नराखी जथाभावी फोहोर फाल्ने गरेकाले बजारनै दुर्गन्धित भएको बोहोराको भनाई छ।

उद्योगी व्यापारीहरुले पसल होटेलबाट निस्किएको फोहोर सिधा बाटो र खोलामा विसर्जन गर्ने गरेर पनि बजार क्षेत्र दुगर्धित भएको बताइएको छ।

नगरपालिका क्षेत्र डुङ्डुङती गन्हाउने हुँदा पनि फोहोर व्यवस्थापमा नगरपालिकाले चासो नदिएको भन्दै युवाहरुले आक्रोस पोखे।

नगरक्षेत्रको फोहोर ब्यवस्थापनमा नगरले दिर्घकालीन योजना बनाउनुपर्ने युवाहरुको भनाई छ। साताको प्रत्येक शनिबार यसरी नै सरसफाइ अभियान चलाएर फोहोर उठाउने युवाहरुको भनाइ छ।

अभियान नै चलाएर फोहोर उठाएपछि बजार क्षेत्र थोरै भएपनि सफा देखिएको छ। सडकमा रहेका पानीका खाल्डाखुल्डी भने उस्तै अवस्थामा छन्।

शनिवार बिहानै प्रशिद्ध शक्तिपिठ त्रिपुरासुन्दरी मन्दिरबाट सुरु गरिएको सरसफाइ अभियानमा त्रिपुराकोटका युवाहरु, व्यापारी, सुरक्षाकर्मीलगायतका सरोकारवाला निकायको सहभागिता थियो।

प्रकाशित मिति: : 2021-07-10 14:17:00

प्रतिकृया दिनुहोस्